सामानको मूल्य घटाउन सिपालु पर्यटक !

 जेठ २१, २०७६ मंगलबार १७:१७:४० | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – सानो आँखीझ्याल हातमा समाउँदै एक विदेशी पर्यटक भाउ सोधेपछि व्यापारीले दुई हातका १० औँला देखाउँदै भने, ‘टेन डलर ।’ सायद ती पर्यटकलाई यो भाउ महंगो लाग्यो । उनले दायाँ हातका दुई औँला व्यापारीतिर सोझ्याउँदै भने, ‘नो नो वन्ली टू ।’

व्यापारीले घटाउँदै ६ डलरसम्म त झारे । तर ती पर्यटकले भने आफ्नो ढिपी छाडेनन् । दुई डलर अर्थात दुई सय रुपैयाँभन्दा बढी दिन मानेनन् । त्यसपछि ती पर्यटक त्यहाँबाट हिँडे । पल्लो पसलमा गएर फेरि यस्तै बार्गेनिङ गर्न थाले । ‘सामान के हो चिन्नु छैन । दुई डलरमा आउँछ कतै ?’, पर्यटक उता लागेपछि व्यापारी दिपक मानन्धरले भन्नुभयो ।

काठमाण्डौ क्षेत्रपाटीका मानन्धरले २५ वर्षदेखि यही काम गर्दै आउनुभएको छ । ‘मलाई त पहिल नै थाहा भइसकेको थियो यसले हेरेर मात्र जान्छ भनेर’, छेउको मुडामा बस्दै उहाँले भन्नुभयो, ‘हिजोआज व्यापार बिग्रेको छ ।’ 

मानन्धरजस्तै काठमाण्डौको वसन्तपुरमा पर्यटकका लागि सामान बेच्नेहरु धेरै छन् । स्वदेशी तथा विदेशी पर्यटकले हेन्डिक्र्याफ्टदेखि बुद्ध धर्मसँग सम्बन्धित सामान किन्छन् । धेरैजसो ग्राहक विदेशी पर्यटक हुन् । तर पर्यटक पहिलेभन्दा बाठा भए भनेर व्यापारी चिन्तामा छन् । ‘राम्रोसँग बुझिसके उनीहरुले’ अर्का व्यापारी कुमार लामाले भन्नुभयो, ‘उनीहरुले सामानको भाउ जति पनि घटाउन सकिन्छ भन्ने सोच्छन् ।’

किन घटाउँछन् सामानको भाउ ?

पहिलेको भन्दा अहिले सामानको मूल्य जति भन्यो त्यति नै दिन मान्दैनन् पर्यटकहरु । उनीहरुले जसरी पनि घटाएरै छाड्छन् । त्यसो त व्यापारीले मागेको मूल्यमा पनि सय पचास थप्नेहरु पनि नभएका होइनन् । तर पहिलेको तुलनामा अहिले नगन्य मात्रामा मात्र त्यस्ता पर्यटकहरु आउने गरेको व्यापारीहरु बताउँछन् ।

व्यापारी धेरै र प्रतिस्पर्धा पनि बढी भएपछि पर्यटकलाई मूल्य घटाउन सजिलो भएको व्यापारी कुमार लामाको भनाइ छ । व्यापारीहरुमाझ एकरुपता नभएकाले यस्तो भएको उहाँ बताउनुहुन्छ ।

‘वसन्तपुरमा एक हजार भनेको सामान स्वयम्भूमा गएर पाँच सयमा पाउँछ’, उहाँले भन्नुभयो, ‘यही सामान सस्तोमा पनि पाइँदो रहेछ नि भन्ने उनीहरुले चाल पाइसके, त्यही भएर जतिसक्दो घटाउन खोज्छन् ।’ यस्तै विदेशीहरुलाई घुमाउन ल्याउने गाइडहरुले पनि पर्यटकहरुलाई बिगारेको त्यहाँका व्यापारीहरु बताउँछन् ।

‘सस्तोमा सामान किनाइदिएपछि गाइडहरुले इनाम पाउँदा रहेछन्, उनीहरुले घटाएर सामान किनेको देखेर त पर्यटकहरुले बार्गेनिङ गर्न सिकिहाल्यो नि’, दिपक मानन्धरले भन्नुभयो, ‘महंगोमा नकिनेपछि, आफूले किनेको मूल्यमा १०/२० रुपैयाँ मात्र नाफा खाएर भए पनि बेच्नै पर्‍याे ।’ 

किन्ने भन्दा हेर्ने बढी

वसन्तपुरलगायत पर्यटकको घुइँचो धेरै हुने ठाउँमा पुराना पुराना ऐतिहासिक सामान बेच्न राखिएका हुन्छन् । पर्यटकलाई लोभ्याउनको लागि चिटिक्क सजाएर राखिएका सामान हेर्दै लोभलाग्दा देखिन्छन् । गएर छामछुम गर्न मन लागिहाल्छ । किन्ने भन्दा हेर्नेको संख्या बढी हुन थालेपछि त्यहाँका व्यापारीहरुले पनि नयाँ जुक्ति निकालेका छन् ।

जो कसैलाई सामानमा हात लगाउन दिँदैनन् । कतिपयले त फोटो पनि खिच्न दिँदैनन् । फोटो खिच्नेहरु र सामान समातेर यो के हो, कति पर्छ, कहाँबाट ल्याउनुभएको जस्ता कुरा सोध्नेहरुले आजित भएर व्यापारीहरुले यसो गरेका हुन् । 

‘किन्ने होइनन्, कतिपयले त खाली सोधेर हैरान गर्छन्’, व्यापारी दिपक मानन्धरले भन्नुभयो, ‘त्यही भएर किन्ने जस्तो मान्छे हेरेर मात्र हामीहरु कुरा अगाडि बढाउँछौँ ।’

यसरी सामान बेच्नेहरुका ग्राहक नेपाली भन्दा पनि विदेशी नै हुन्छन् । नेपालको मौलिकपनलाई आफ्नो देशमा लग्न रमाउनेहरुले यस्ता सामान किन्ने गरेको व्यापारी कुमार तामाङ बताउनुहुन्छ । ‘उनीहरुले नेपाली हेन्डिक्राफ्टलाई मन पराउँछन्’, उहाँले भन्नुभयो, ‘नेपाल घुम्न आएकाे चिनो सम्झेर लैजान्छन् होला नि ।’

सबैको प्यारो नेपाली खुकुरी 

व्यापारीले श्रृँगारका सामानहरु जस्तै औंठी, माला हार झुम्कादेखि वाद्यवादनका सामानहरु जस्तै सिङ्गिङ बल तथा सारङ्गीसम्म बेच्न राखेका हुन्छन् । चिनियाँ तथा जापनिजहरुले सिङ्गिङ बल बढी किन्ने गर्छन् । तर विशेषगरी विदेशीहरुले नेपाली खुकुरीलाई नै बढी रुचाउने गरेको व्यापारीहरु बताउँछन् । 

‘नेपाली खुकुरी त प्रायःजसो सबैले लगेरै जान्छन्’ दिपक मानन्धरले भन्नुभयो, ‘जे होस्, दिनमा एक दुइटा खुकुरी त बिक्री भएकै हुन्छ ।’


 

अन्तिम अपडेट: असोज २७, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया