राष्ट्रपति भण्डारी रोजा ईफ्तारमा सहभागी

 जेठ २१, २०७६ मंगलबार २०:१६:१४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - राष्ट्रपति विद्यादेवी भण्डारी मुस्लिम समुदायको पवित्र महिना रमजानुल मुबारकको अवसरमा मङ्गलबार नेपालगञ्जमा आयोजित रोजा ईइफ्तार कार्यक्रममा सहभागी हुनुभएको छ ।

मुस्लिम समाज बाँकेले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले  इदले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले मुस्लिम समुदायमा अगाढ देशभक्ति रहेको भन्दै सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।

शहरी विकास मन्त्री मो. इस्तिायक राईले ईदुलफित्रले धार्मिक तथा सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउदै लगेको बताउनुभयो । राष्ट्रपति भण्डारी रोजा ईफ्तारमा मुस्लिम समुदायसँगै सहभागी भएकोमा मुस्लिम समुदाय उत्साहित भएको मुस्लिम समाज बाँकेका अध्यक्ष अव्दुलवाहिद मन्सुरी चुन्नाले बताउनुभयो । 

कार्यक्रममा मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन, अतहर हुसेन फारुकी, अव्दुल हुसेन खाँ, शकील अहमद जसगढ, अव्दुल करिम खान लगायतले मुस्लिम समुदायको रोजा ईफ्तारमा सहभागी भएको भन्दै राष्ट्रपति भण्डारीको प्रशंसा गर्नुभयो । सो अवसरमाम मुस्लिम समाज बाँकेले विभिन्न मागसहितको अनुरोधपत्र राष्ट्रपति भण्डारीलाई बुझाएको छ ।

मुस्लिम समुदायले छुट्टै पहिचान, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि समानुपातिक र समावेशी व्यवस्था कायम हुनुपर्ने, महत्वपूर्ण धार्मिक पर्वमा सार्वजनिक बिदा हुनुपर्ने र मदरसालाई शिक्षाको मुलधारमा ल्याइ सम्पूर्ण मुस्लिम बालबालिकाहरुमा शिक्षाको पहुँचमा पुर्‍याउन अधिकार सम्पन्न राष्ट्रिय मदरसा बोर्ड गठन गर्न र मुस्लिम बाहुल्य क्षेत्रमा महिला विद्यालय तथा कलेजको व्यवस्था गर्न राष्ट्रपति समक्ष माग पनि गरे ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया