गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा देखियो

 जेठ २२, २०७६ बुधबार १७:२०:३४ | उषा तामाङ
unn.prixa.net

दोलखा – गौरीशंकर संरक्षण क्षेत्रमा हिउँ चितुवा रहेको आधिकारिक रुपमा प्रमाणित भएको छ । संरक्षण क्षेत्रभित्र पर्ने विगु गाउँपालिका-१ साविकको लामाबगर गाविस-१ को लप्ची उपत्यकामा हिउँ चितुवाको उपस्थिति रहेको पाइएको हो । 

संरक्षण क्षेत्र आयोजनाले ‘क्यामेरा ट्रयापिङ’ बाट लप्ची उपत्यकामा विश्वमै दुर्लभ मानिने हिउँ चितुवा (प्यान्थेरा अन्सिया) को उपस्थिति आधिकारिक रुपमा प्रमाणित भएको जनाएको छ । 

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले बुधबार सिंगटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत जैविक विविधता अध्ययन अनुसन्धान कार्यक्रम अन्र्तगत गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले लप्ची उपत्यकाका विभिन्न ११ स्थानमा इन्फ्रारेड क्यामरा (फोटो, भिडियो) विसं २०७५ असोज महिनामा जडान गरेको थियो । 

त्यस अवधिदेखि विसं २०७६ वैशाखसम्म गरेको अनुसन्धानले समुद्री सतहदेखि ४ हजार ८७ मिटरमाथि हिउँ चितुवाको ३ वटा तस्बीर रेकर्ड गरेको अनुसन्धानमा संलग्न पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरीङ कजेल, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्राध्यापक डाक्टर नारायण प्रसाद कोजुले जानकारी दिनुभयो । गौरीशंकर संरक्षण क्षेत्रमा ३ देखि ५ वटासम्म हिउँ चितुवा रहेको अनुमान गरिएको छ ।

हिउँ चितुवा मध्य–एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको हिउँ चितुवालाई अन्तर्राष्ट्रिय संरक्षण संघले समेत दुर्लभ प्रजातिको रुपमा सूचीकृत गरेको छ । हिउँ चितुवा विश्वमा १० हजार भन्दा कम संख्यामा जीवित रहेको अनुमान गरिएको छ भने नेपालमा ३ सय देखि ५ सय रहेको अनुमान गरिएको छ । 

नेपालको कञ्जनजंघा, मकालु वरुण, सगरमाथा लाङटाङ, मनास्लु, अन्नपूर्ण, शे-फोक्सुण्डो, ढोरपाटन, अपिनाम्पा क्षेत्रलगायतका हिमाली क्षेत्रहरुमा हिउँ चितुवाको उपस्थिति रहेको रेकर्ड गरिएको छ । 

यसैगरी अनुसन्धानका क्रममा विगतमा रेकर्ड नभएको सुनौलो बिरालो (गोल्डेन क्याट) समेत रेकर्ड भएको छ । चरिबाघ, कस्तुरी मृग, पहरे बाँदरजस्ता संरक्षित जनावर तथा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो गरी १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु पनि भेटिएको थियो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Hemkar Bhujel

    June 5, 2019, 8:29 p.m.

    यसलाई चाेरि तस्करी हुन नदिन विशेषतः निगरानी बढाउनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया