कसले फुटायो प्राचीन शिवलिङ्ग ?

 जेठ २२, २०७६ बुधबार २०:९:२ | गोपाल भण्डारी
unn.prixa.net

फुटेकाे शिवलिङ्ग देखाउँदै स्थानीय नागरिक

कपिलवस्तु – ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कुदान क्षेत्रमा रहेको शिवलिङ्ग फुटाइएको छ ।

गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु आउँदा आफ्ना माता पता तथा परिवारलाई भेट गरेको स्थान कुदानमा बौद्धकालीन संरचनामाथि अवस्थित शिवलिङ्गको माथिल्लो भाग गएको १३ गते नै भत्किएको हो । तर घटना भने आज मात्रै सार्वजनिक गरिएको छ ।

शिवलिङ्ग भाँचिएपछि कुदान क्षेत्रमा लुम्बिनी विकास कोषबाट नियुक्त गरिएका दैनिक ज्यालादारीमा रहेका चौकीदार दिनेश दुवेलाई निलम्बन गरिएको छ । गएको जेठ १३ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कुदान क्षेत्रमा ड्यूटीमा रहेका बेला चौकीदार दुवेको ड्यूटी समयमा शिवलिङ्ग फुटाइएको ठहर गर्दै उनलाई सेवाबाट बर्खास्त गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।

फुटेको शिवलिङ्गको तत्काल संरक्षण गरी त्यसै ठाउँमा व्यवस्थित गरिएको पुरातत्व अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।  

घटनाबारे आज मात्रै आफूले सञ्चारकर्मीमार्फत जानकारी पाएको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताउनुभयो । आफू तौलिहवाको स्थानीयवासीसमेत रहेको भए पनि आफ्नो ठाउँको घटनाको बारेमा कोषका कर्मचारीहरुले आफूलाई जानकारी नगराएको भन्दै ज्ञवालीले आक्रोश पोख्नु भएको छ ।

घटनाको बारेमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गरिनु पर्ने सदस्य ज्ञवालीले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया