८५ जना बिरामीको हत्या गर्ने सन्काहा नर्स

 जेठ २३, २०७६ बिहिबार २०:२७:३६ | एजेन्सी
unn.prixa.net

उत्तरी जर्मनीका निल्स होगेल नाम गरेका एक जना पूर्व नर्सले उत्तरी जर्मनीको दुई अस्पतालका ८५ जना बिरामीको हत्या गरेको स्वीकारेका छन् । उनकाे स्वीकाराेक्तिपछि अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

‘४२ वर्षीय निल्स होगेलको हत्या काण्ड हेर्दा मानिसको दिमागले सोच्नसक्ने भन्दा बाहिरको कुरा जस्ताे लाग्छ’, न्यायाधीश सेबेस्टियन ब्यूहर्मनले भनेका छन् । यसअघि दुई जना बिरामीको हत्या गरेको आरोपमा जेल जीवन बिताउँदै आएका हाेगेलले सुरुमा बिरामीहरुलाई हृदयघात हुने खालकाे औषधी दिने गर्दथे र आफैँ ती बिरामीहरुलाई बचाउने कोसिस गर्दथे । उनले यो सबै प्रशंसा पाउन र सबैको नजरमा नायक बन्नका लागि गरेको बताइएको छ ।

उनले सन् १९९९ र २००५ को बीचमा बिरामीहरुको हेरचाह गर्दा त्यस्तो औषधि दिने गरेका थिए । होगेललाई आधुनिक जर्मनी इतिहासको सबैभन्दा 'कुख्यात हत्यारा' मानिएको छ । 

उनले आफ्ना सहयोगीहरुलाई प्रभावित गर्नका लागि बिरामीलाई पुनर्जीवित बनाउने कोसिस गर्दथे । ‘होगेललाई ‘पुनर्जीवित गर्ने रेम्बो’ को उपनाम दिइएको थियो । किनकि उनले बिरामीलाई त्यस्तै अवस्थामा पुर्याउने गर्दथे’, होगेलका एक पूर्व सहयोगीले स्थानीय अखबार बिल्डसँग भने । 

आफ्नो परीक्षणको अन्तिम दिन होगेलले आफ्नो ‘भयानक कुकृत्य’ का लागि पीडितका परिवारहरुसँग माफी मागेका थिए। ‘मैले वर्षाैँदेखि तपाइँहरुप्रति गर्दै आएको सबै कुकृत्यका लागि इमान्दारीपूर्वक माफी चाहन्छु’, होेगेलले भने । 

होगेलमाथि जर्मनीको उत्तरी शहर डेलमेनहस्र्ट र ओल्डेनवर्गमा १०० बिरामीहरुको हत्या गरेको आरोप लागेको थियो । प्रहरीका अनुसार, उनले अरु बिरामीहरुको पनि हत्या गरेको हुनसक्ने भए पनि शवको दाहसंस्कारका क्रममा सम्भावित प्रमाण नष्ट गरिएको छ । 

होगेलले ५५ जनाको हत्या गरेको कबुल गरेका छन् भने ओल्डेनवर्गको अदालतले उनीमाथि ८५ जनाको हत्या गरेको दोषी ठहराएको छ । सजाय सुनाउँदै न्यायाधीश ब्यूहर्मनले भनेका छन्, ‘पीडित पक्षको दुःखलाई भुलाउन त हामी सक्षम छैनौँ ।’

सन् २००५ मा डेल्हाफोरस्टमा एक बिरामीलाई औषधि दिएको आरोपमा उनी पक्राउ परेका थिए । सन् २००८ मा हत्याको प्रयासमा उनलाई सात वर्षको सजाय सुनाइएको थियो । त्यसपछि अन्य संदिग्ध पीडितका परिवारहरुले जाँचलाई विस्तृतरुपमा अघि बढाउन दबाब दिएका थिए । 

सन् २०१५ मा दोस्रो परीक्षणका क्रममा उनलाई दुई जनाको हत्या गरेको र दुई जनाको हत्या गर्न खोजेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । 

यद्यपि त्यो परीक्षणका क्रममा उनले एक मनोचिकित्सकको सामु ३० जनाको हत्या गरेको कबुल गरेका थिए । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया