भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीद्वारा अवकाशको घोषणा

 जेठ २३, २०७६ बिहिबार २०:१७:५७ | रासस
unn.prixa.net

भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यावसायिक जीवनबाट अवकाशको घोषणा गरेका छन् ।

घ्यू उत्पादनबाट व्यवासायिक जीवन सुरू गरी विश्वप्रख्यात सूचना प्रविधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आउनुभएका प्रेमजीले बिहीबार अवकाशको घोषणा गरेका हुन् ।

'मैले विप्रोसँग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने पूर्व तथा वर्तमान सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा उनीहरूका परिवारप्रति धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहयोग र प्रेरणाले नै कम्पनीलाई आजको सफलताको अवस्थामा पुर्‍याउन सम्भव मिलेको हो', ७३ वर्षीय सफल व्यवसायी प्रेमजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले भने, 'यो मेरो लागि लामो सन्तुष्टिको यात्रा भएको छ । भविष्यमा मैले बाँकी जीवनलाई परोपकारका गतिविधिमा लगाउनेछु ।'

प्रेमजीले विप्रोलाई सन् १९६० को दशकको अन्त्यदेखि नेतृत्व प्रदान गरेका थिए । उनको नेतृत्वमा विप्रोले एक सफल सूचना प्रविधि क्षेत्रमा विश्वभर ख्याति प्राप्त गर्न सफल भएको छ । हाल विप्रोले विश्वका ५० देशभन्दा बढीमा वार्षिक आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरकोे कारोबार गर्दै आएको छ । 

प्रेमजीले विप्रोको कार्यकारी अध्यक्षबाट आगामी जुलाई ३० देखि अवकाश लिनेछन् भने उनको उत्तराधिकारीका रूपमा छोरा रिषाद प्रेमजीले कम्पनीलाई नेतृत्व प्रदान गर्नेछन् । प्रेमजीले कम्पनीको गैर–कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षका रूपमा भने संलग्नता रहनेछ ।

गएकाे मार्चमा प्रेमजीले विप्रोमा रहेको आफ्नो शेयरको ३४ प्रतिशत शेयरलाई आफ्नो नाममा रहेको एक प्रतिष्ठानमार्फत परोपकारी गतिविधिका लागि योगदान गर्ने बताउनुभएको ब्लुमबर्गको समाचारमार्फत् जानकारी गराइएको थियो ।

विप्रोका अध्यक्षबाट प्रेमजीले राजीनामा गर्ने समाचारसँगै यस कम्पनीको शेयरमा बिहीबार एक प्रतिशतले गिरावट आएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया