नेपाल वायु सेवा निगमको लापर्वाहीको कारण नेपाल–जापान उडान स्थगित भयो : हिराचन

‘टिकट बुकिङ खुल्ला नै नगरी बुकिङ भएन भन्नु रहस्यमय'

 जेठ २४, २०७६ शुक्रबार १७:३९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नेपाल वायुसेवा निगमले आगामी महिनादेखि जापानमा गर्ने भनेको उडान बिनाकारण स्थगित गरेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् निगमका जापानस्थित एकमात्र प्रतिनिधि देवमान हिराचनले आपत्ति जनाउनुभएको छ ।  

निगमले आगामी जुलाई ४ तारिखबाट जापानमा वाईडबडी उडान गर्ने घोषणा गरेको थियो । 

नेपाल र जापानका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर तय गरिएको उडानको मिति निगमले एक्कासि बिनाकारण स्थगित गर्नु आफैमा अशोभनीय भएको पनि उहाँले टिप्पणी गर्नुभयो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाइमा कुनै सत्यता नै नभएको दाबी पनि गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘नेपाल एयरलाईन्सको जापानी टिकट बुकिङ प्रणाली नै तयार भएको छैन । यस्तो अवस्थामा निगमले बुकिङ खुल्ला गर्नुपर्दथ्यो, बुकिङ नै नखुलाई एकतर्फी टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित गर्नु रहस्यमयी छ ।’  यो विषयमा प्रधानमन्त्रीले नै विशेष चासो दिएर उचित छानबिन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।   

उहाँले नेपाल एअरलाइन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भए पनि यसका लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएको पनि बताउनुभयो ।  

अघिल्लो वर्षदेखि नेपाल वायु सेवा निगमको ओशाका कार्यालय खोली नेपाल वायु सेवा निगमको उडान सुरु गर्ने योजना बनेको सुनाउँदै उहाँले त्यस योजनालाई सफल तुल्याउन नेपालको तर्फबाट खासै चासो र चिन्ता नदेखाईएको पनि गुनासो गर्नुभयो ।   

उहाँका अनुसार इन्टर एभिएशन जापान (आईएजे) को सहयोग र सल्लाहअनुसार ६ महिना समय लगाई ओशाका उडानको सबै तयारी जापानको तर्फबाट सम्पन्न भैसकेको छ । ओशाकामा नेपाल वायुसेवा निगमको कार्यालय पनि तयार भैसकेको उहाँले सुनाउनुभयो । 

उहाँले दीर्घकालीन महत्व बोकेको नेपाल–जापान सिधा हवाई उडान सम्झौतालाई निगमले खेलाँची ठान्दा दुई देशबीचको सम्बन्धमा पनि आगामी दिनमा असर पुग्ने चिन्ता व्यक्त गर्नुभयो ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया