सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री यादव

 जेठ २६, २०७६ आइतबार १७:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार लागिपरेकाे बताउनु भएको छ । 

मन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतीको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढ्ने योजना पनि अघि सार्नुभयो । 

आइतबार काठमाण्डौमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले क्षयरोग नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपालमा पुर्‍याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले सरकारले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको जानकारी दिनुभयो ।

यसका साथै उहाँले क्षयरोग निवारणका लागि सरकार प्रतिबद्ध भएर लागेको बताउनु भयो । विश्व स्वास्थ्य संगठनमा नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिबद्धता जनाइसकिएकाे र त्यसलाई पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको बताउनुभयाे ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया