लडेर लोकतन्त्र हामीले ल्याउने, प्रमाणपत्र विदेशीले दिने?: मन्त्री बाँस्कोटा

 जेठ २६, २०७६ आइतबार १६:४४:३३ | गोविन्द शर्मा
unn.prixa.net

फाइल तस्बिर

बाँके - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घले सुरु गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

‘संसदमा दर्ता भएको विधेयकका विषयमा छलफलको थलो सडक होइन’, नेपाल पत्रकार महासंघ बाँके शाखाले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयाे, ‘संसदमा छलफलका क्रममा थप समृद्ध बनाउन सकिन्छ ।’

पत्रकार महासंघका नेताहरुले अरुलाई भुलभुलैयामा राखेको भन्दै विधेयक पढेर प्रतिक्रिया दिन सुझाव दिँदै  मन्त्री बाँस्काेटाले विधेयक समृद्ध बनाउन सबै पक्षसँग छलफल भइरहेको बताउनुभयाे ।

यसै क्रममा उहाँले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चर्चाको पनि विरोध गर्नुभयाे ।

‘लडेर लोकतन्त्र हामीले ल्याउने, प्रमाणपत्र विदेशीले दिने?’ मन्त्री बाँस्कोटाले भन्नुभयो,‘केही थोत्रा मानिसले भने झैँ विदेशी केका निम्ति बोलाउने?’

उहाँले सरकारले मिडियालाई नियन्त्रणभन्दा पनि नियमन गर्न खोजेको टिप्पणी गर्नुभयो । अराजकता र अनुशासन तथा स्वतन्त्रता र स्वच्छन्दताबीच फरक रहेको बुझ्नुपर्ने उहाँको भनाइ थियाे।  दण्ड जरिवाना बढि भएको भए छलफल गर्न सकिने ठाउँ संसदमा रहेको तथा संविधानभन्दा माथि कोही पनि नहुने भन्दै उहाँले स्वनियमको व्यवस्था पहिलो पटक आएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले गरिरहेको कामको नतिजा आउने क्रममा रहेको भन्दै धैर्य गर्न अनुरोध पनि गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया