पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती, जिल्लाबासीलाई सास्ती

 असार २१, २०७५ बिहिबार १२:२६:५२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – मध्यपहाडी लोकमार्गको निर्माणाधीन सक्रान्ति–म्याङलुङ्ग सडक खण्डमा पर्ने दुई खोलामा पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको छ ।

निर्माणाधीन लोकमार्गको सक्रान्ति–म्याङलुङ्ग खण्डमा पर्ने खोरुंगा र कोयाखोलामा मोटर गुड्ने पुल नबन्दा वर्षा सुरु भएपछि सवारी गुड्न सकेका छैनन् ।

पुल नहुँदा हिउँदका महिनामा खोलाबीच बाटै सवारी आवत–जावत् गरे पनि पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ । राष्ट्रिय गौरवको पुष्पलाल लोकमार्ग आयोजनासँग पुल निर्माणका लागि सम्झौता गरेका निर्माण कम्पनीहरुले समयमा काम नथाल्ने र सम्पन्न नगर्ने गरेका कारण जिल्लाबासी सास्ती बेहोर्न बाध्य रहेका छन् । दुई खोलामा पुल नहुँदा सदमुकाम म्याङलुङ्ग नगरपालिकासँग पूर्वी क्षेत्रका आठराई र फेदाप गाउँपालिकाको सडक सम्पर्क विच्छेद भएको छ । पुल नहुँदा सर्वसाधारण नागरिकहरुले पैदल हिडेर सदरमुकाम पुग्न बाध्य छन् ।

खहरेको रुपमा रहेको कोया खोलामा हिउँदमा पानी कम हुन्छ । तर वर्षामा छिनभरमै ठूलो पानी आउने र छिनभरमै कम हुने कारणले खोलाबीचबाटै गाडी गुडाउन त्रास हुने गर्छ । खोरुंगा खोलामा पनि वर्षाका बेला बर्सेनि बाढी आउने गरेको छ ।

दुई खोलामा पुल नहुँदा जेठको दोश्रो साताबाटै नियमित गुडिरहेका गाडीहरुको सेवा ठप्प भएको म्याङलुङ्ग काउण्टरका प्रमुख डिल्ली रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोलामा पुल छैन, पानी पर्ना साथ खोला बढ्छ, पारी पुगेका गाडी वारी आउन सक्दैनन्, वारीका पारी जाँदैनन्, त्यसैले समस्या हुन्छ ।’ उहाँले सडकको अवस्थासमेत नाजुक भएको, तर सडक भन्दा पनि बढी पुल नहुँदा समस्या भएको बताउनुभयो ।

दुई खोलामा पुल नहुँदा आठराई र फेदाप गाउँपालिकाका बासिन्दाले सास्ती व्यहोर्नु परेको स्थानीयबासी दुर्गा निंलेकुले बताउनुभयो । ‘सडक छ, तर गाडी चल्दैनन्,’ उहाँ भन्नुहुन्छ ‘गाडी भए पनि पुल नहूँदा खोला वारी गाडी राखेर हिँडेर जानुपर्छ ।’ पारी तरेपछि गाडी पाए पनि व्यवसायीले चर्को भाडा असुल्ने गरेका छन् ।

निर्माण सम्पन्न गर्नुपर्ने समयमा कामै सुरु भएन

लोकमार्ग अन्तर्गत तेह्रथुम खण्डमा पर्ने तमोर पछिको ठूलो खोरुंगा खोलामा पुल नबन्दै कल्भर्ट राखेर गाडी कुद्न थालेको चार वर्ष बितेको छ । बर्सेनि हिउँदका महिनामा गाडी कुद्ने र वर्षाका चार महिनासम्म सडक ठप्प रहने गरेकाले जिल्लाबासीले पुष्पलाल लोकमार्ग आयोजनालाई शीघ्र पुल निर्माण गर्न दबाब दिदै आएका थिए ।

 

लोकमार्गले पुल निर्माणका लागि टेण्डर गरी ०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो । ०७४ पुष भित्रै काम सम्पन्न गर्न भने पनि कोशी एण्ड न्यौपाने निर्माण सेवाले अहिलेसम्म पुल निर्माणको काम नै नथालेको लोकमार्ग आयोजनाले जनाएको छ । पुल निर्माणका लागि लोकमार्गले अनुमानित लागत ५ करोड ९० लाख १ हजार रुपैयाँ तय गरेको थियो ।

तर ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी कोशी एण्ड न्यौपानेले जिम्मा लिएको थियो । निर्माण कम्पनीले पुल निर्माणको जिम्मा लिएको दुई वर्षसम्म काम नै थालेको छैन । निर्माण कम्पनीले पुल निर्माणका लागि पूर्वाधार तयार गर्ने काम समेत सुरुवात मात्रै गरेको छ । पुल निर्माणमा अहिलेसम्म कमजोर भौतिक प्रगति मात्रै रहेको लोकमार्गका इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताउनुभयो ।

जिल्लाका सरोकारवालाले पुल निर्माणमा ढिलाई गर्ने कम्पनीलाई कारवाही गर्न माग गरेका छन् । दुई साताअघि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको टोलीले पुल निर्माणको भौतिक प्रगति नदेखिएको भन्दै निर्माण कम्पनीलाई कारवाहीका लागि गृह मन्त्रालयमा सिफारिस नै गरेको थियो । पुल निर्माणमा ढिला गर्ने कम्पनीलाई कारवाही गरेर शीघ्र पुल निर्माण गर्नेतर्फ  ध्यान दिन आफुहरुले ध्यानाकर्षण गराएको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।

कोयाखोला पुल : बल्ल ४० प्रतिशत काम

लोकमार्गको सक्रान्ति–देउराली खण्डमा पर्ने कोया खोलामा पनि पुल निर्माणले गति लिएको छैन । ०७२ मै एक वर्षभित्र सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको एसबीए निर्माण सेवा प्रालिले काम सुरु गरे पनि सम्पन्न गर्नुपर्ने समयमा बल्ल ४० प्रतिशत मात्रै काम गरेको छ ।

पुल निर्माणमा अहिलेसम्म ४० प्रतिशत मात्रै प्रगति रहेको इन्जिनियर तुम्बाहाम्फेले बताउनुभयो । ५ करोड ३ लाख रुपैयाँमा कामको जिम्मा लिएकोे सो कम्पनीले काम सम्पन्न नगरेपछि ०७४ जेठ ३० सम्मका लागि पुनः म्याद गरिएको थियो । तर सो अवधिमा समेत पुल निर्माण सम्पन्न नभएको हो ।

लोकमार्गको कारवाही गर्ने तयारी

समयमा काम सम्पन्न नथाल्ने र सम्पन्न नगर्ने निर्माण कम्पनीलार्ई पुष्पलाल लोकमार्ग आयोजनाले कारवाहीको प्रक्रिया अघि बढाएको छ । लोकमार्गको पूर्वी खण्डमा सडक र पुल निर्माणमा कामको जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने र काम नथाल्ने निर्माण कम्पनीहरुको सूची सार्वजनिक गर्दै आयोजनाले काममा ढिलाई हुनुको स्पष्ट कारण सहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न सूचित गरेको छ । चित्त बुझ्दो जवाफ नआए ठेक्का सम्झौता तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने समेत आयोजनाले चेतावनी दिएको छ ।

समयमा काम सम्पन्न नगर्ने र काम सुरु नगर्नेमा पूर्वी खण्डका तेह्रथुम सहित पाँचथर, धनकुटा, भोजपुर र रामेछापमा कार्यरत नौ वटा कम्पनी परेका छन् । जसमा तेह्रथुमका दुई वटा, पाँचथरका चार वटा, धनकुटाको एउटा, भोजपुरको एउटा र रामेछापको एउटा निर्माण कम्पनी छन् । ती कम्पनीहरुलाई पत्राचार गरी काममा ढिलाई हुनुका कारण उल्लेख गरी लिखित जवाफ उपलब्ध गराउन भनिएको लोकमार्ग आयोजनाले जनाएको छ ।

सडक निर्माणको काम पनि सुस्त

दुई वर्ष अघि नै ट्रयाक ओपन भइसकेको लोकमार्गको पुर्वी खण्डमा अहिले स्तरोन्नति देखि कालोपत्रे सम्मको काम भइरहेको छ । तर कामको जिम्मा लिएका कम्पनीहरुले विभिन्न कारण देखाउदै समयमै काम नगर्ने गरेका कारण सडक निर्माण सुस्त गतिमा भइरहेको छ । कतिपय ठाउँमा मुआव्जा, रुख कटानमा समस्या लगायतले पनि अवरोध पु¥याएको निर्माण कम्पनीले जनाएका छन् ।

लोकमार्गको तेह्रथुम खण्डमा अहिले सडक निर्माण, स्तरोन्नति र कालोपत्रे गरी १३ वटा खण्डमा टेण्डर लागिसकेको छ । तर ०७० सालदेखि कामको जिम्मा लिएका निर्माण कम्पनीहरुले नै काम सम्पन्न गरेका छैनन् । लोकमार्गको पाँचथर जोरसाल–माझीटार खण्ड कालोपत्रे भइसकेको छ । सोही समयमा ठेक्का लागेका तेह्रथुम खण्डका निर्माण कम्पनीले स्तरोन्नतिको काम नै सकेका छैनन् ।

जोरसाल–तमोर–सक्रान्ति खण्डमा स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ एण्ड थोकर निर्माण सेवाले ०७० सालमा जिम्मा लिएको कामको अहिलेसम्म ८० प्रतिशत मात्रै काम गरेको छ ।

जोरसाल–सक्रान्ति–म्याङलुङ्ग खण्ड अन्तर्गत नै विभिन्न खण्डमा स्तरोन्नति, ग्याभिङ निर्माण, नाली निर्माण र कालोपत्रे सम्मका लागि रसुवा, डाँफे र इलाइट जेभी, रसुवा–एस.वि.ए.जेभी, एस.वि.ए.जेभी, महालक्ष्मी सिंह एण्ड ब्रदर्स, गौरी पार्वती र कोशी एण्ड न्यौपाने, भारत निर्माण, मैनाचुली, सिद्धिसाई जेभी, गाल्वा–रफिया जेभी लगायत निर्माण कम्पनीहरुले कामको जिम्मा लिएका छन् ।

तीमध्ये अधिकांश कम्पनीहरुको कामको प्रगति ४० प्रतिशत नाघेको छैन । अधिकांश कम्पनीलाई म्याद थप गरी काम गर्ने समय दिइएपनि समयमा काम गर्न नसकेका लोकमार्ग आयोजनाले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया