माइतीघर मण्डला घटनाको सरकारले नैतिक जिम्मेवारी लिन्छ, घटनाको छानबिन हुन्छ : गृहमन्त्री थापा

 जेठ २८, २०७६ मंगलबार १२:३५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताउनुभएको हो ।

उहाँले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा केही संस्था, समिति, सम्पदा बचाउ अभियानलगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताउनुभयो ।

प्रहरीले सार्वजनिक सवारी साधन आवागमनमा अवरोध नगर्न गरेको आग्रह अस्वीकार गरी प्रर्दशनकारीले यातायात अवरोध गर्ने काम जारी राखेकाले पानीको फोहराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको दाबी मन्त्री थापाले गर्नुभयो । प्रर्दशनकारीको तर्फबाट पनि बल प्रयोग भएको र  प्रहरीलाई ढुंगा प्रहार गर्ने काम गरेपछि त्यसलाई नियन्त्रण गर्ने काम भएको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो ‘शान्ति पूर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, इँटा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौँ ।’

सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्‍यो, कुण्ठित गर्‍यो भन्ने भनाइ गलत भएको भन्दै उहाँले शान्ति सुरक्षा कायम गरि सार्वजनिक यातायात सुचारु गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको सदनलाई जानकारी गराउनुभएको हो । उहाँले घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानबिन गर्ने बताउनुभयो ।

मन्त्रीको जवाफ चित्त नबुझेर केही सांसदहरुले प्रतिप्रश्न गरेका थिए । सांसद बालकृष्ण खाँडले जिम्मेवारी लिनु पर्छ कि पर्दैन भनेर प्रश्न गर्नुभएको थियो । सांसद प्रेम सुवालले टिप्पर आतंक यथावत रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । पुष्पा भुसालले गृहमन्त्री थापाले नेवा आन्दोलनलाई अरु संघ संस्थासंग जोडेर यो आन्दोलन भैरहेको भनेर आन्दोलनलाई कमजोर बनाउने काम गर्नुभएको भन्दै घटनाप्रति सरकारले खेद प्रकट गर्नुपर्ने र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

मण्डलामा भएको प्रहरी दमनको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दे सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि मंगलबारको बैठकमा गृहमन्त्री थापाले त्यसबार सदनलाई स्पष्ट पार्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया