कम्युनिष्टहरु चाडपर्व, परम्परा र संस्कार मान्दैनन् भन्ने कुरा आज चरितार्थ भएको छ : सांसद केसी

 जेठ २८, २०७६ मंगलबार १२:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दे  काठमाण्डौ उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए  उपत्यका घेराबन्दी हुने चेतावनी दिनुभयो । सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उहाँले विधेयक उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिनुभयो । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उहाँले घटनाको घोर भर्त्सना गर्नुभयो ।

उहाँले भन्नुभयो, 'यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलार्ई  चलाइयो भने निश्चित रुपले १०औँ लाख मान्छे काठमाण्डौमा उत्रनेछ । नाङलो ठटाएर हात्ती तर्साउने काम नगरोस् सरकारले राजधानीवासीलाई ।'

उहाँले विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाण्डौ घेराबन्दी हुने र भयाभह स्थित सिर्जना हुने चेतावनी दिनुभयो । प्रधानमन्त्रीले विदेशीको धर्म प्रचारप्रसार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप उहाँले लगानुभयो । उहाँले हिन्दू धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गर्नुभयो । गुठीयारहरु आफूहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै काठमाण्डौवासीको संस्कार र भावनासँग खेलवाड नगर्न आग्रह गर्नुभयो ।  

उहाँले भन्नुभयो, 'सभामुख महोदय, मैले बच्चामा स्कुल जाँदा सुनेको थिएँ । कम्युनिष्टहरु धर्म मान्दैनन् ।  कम्युनिष्टहरु संस्कृति र सम्पदामा विश्वास गर्देनन् । कम्युनिष्टहरु चाडपर्व, परम्परा र संस्कार मान्दैनन । यो कम्युनिष्टको दर्शन हो । यो कम्युनिष्ट को स्कुलिङ हो । आज यो चरितार्थ भएको छ ।'

उहाँले भूमिसुधार मन्त्री पद्मा अर्यालले संविधानको गलत व्याख्या गरेको भन्दै संविधानलाई अक्षरस अध्ययन गर्न आग्रह गर्नुभयो । सोमबारको बैठकमा मन्त्री अर्यालले संविधान अनुसारनै गुठी सम्बन्धी विधेयक आएको दाबी गर्नुभएको थियो । संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अबलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभुति गरिएको, धारा २ सय ९० मा गुठीको मुलुभुत मान्यतामा प्रतिकुल असर नपर्ने गरि व्यवस्थापन गर्न भनिएको भन्दै उहाँले धार्मिक स्थल तथा धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको दाबी गर्नुभयो ।

आइतबार माइतीघर मण्डलामा गुठी व्यवस्थापनसम्बन्धी विधेयकको विरोधमा निस्किएको जुलुशमा प्रहरी दमन भएको भन्दै सांसद केसीले तत्काल छानबिन समिति बनाउन आग्रह गर्नुभयो 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया