किशाेरीमाथि एसिड छ्याप्नेलाई ४ वर्ष कैद, पीडितलाई १ लाख ४५ हजार क्षतिपूर्ति

 जेठ २८, २०७६ मंगलबार १९:३०:३४ | हेमराज शर्मा
unn.prixa.net

सांकेतिक तस्बिर

दाङ - दाङको घोराहीमा एक किशोरीमाथि एसिड प्रहार गरेको अभियोगमा एक जनालाई ४ वर्षपछि चार वर्ष कैद सजाय फैसला भएको छ ।

घोराही उपमहानगरपालिका-१७ कि २२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका ६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला भएको हो ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले घोराहीकी चौधरीमाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, १ लाख जरिबाना र पीडितलाई १ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो ।

साथै अदालतले जरिबानास्वरूपको १ लाख रुपैयाँ पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाँईले जानकारी दिनुभयो ।  घटनाका अन्य आरोपित घोराही १७ का २० वर्षीय बिष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ ।

२०७२ फागुन २७ गते साँझ पसलमै बसेको बेला रीता चौधरीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।

अन्तिम अपडेट: चैत २२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया