स्थानीय तहले आफू राजा हुँ भन्ने भावना छोड्नुपर्छ : मुख्यमन्त्री पौडेल

 जेठ २९, २०७६ बुधबार १३:२६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहका सरकारले आफू त्यहाँको ‘राजा’ हुँ भन्ने व्यवहार त्याग्न आग्रह गर्नुभएको छ । अहिले स्थानीय सरकारले प्रदेश तहबाट गएका याेजनाका काम समेत हुन नदिने सम्मका कुरा आएकाले यस्ताे प्रवृत्ति छोड्नका लागि उहाँले निर्देशन समेत दिनुभयो ।

प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषदको दोस्रो बैठकको अवसरमा बोल्दे उहाँले स्थानीय तहलाई बलियो बनाउनका लागि आफू लागि परेको स्मरण गर्दै उहाँले भन्नुभयो ‘प्रदेशले स्थानीय तहलाई कुनै पनि हालतमा कमजार बनाउन दिँदैन ।’

अहिले प्रदेश र स्थानीय तहबीचमा भएको समस्या हल गरिनुपर्ने उहाँले बताउनुभयो । अबको समयमा कुन तहका योजना कुन सरकारले गर्ने भनेर तय गरिनुपर्ने बताउँदै उहाँले भन्नुभयो ‘सँधै योजना चाहियो भनेर फाइल बोकेर हिँडिराख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अहिलेको जटिलता भनेको नीति तथा कार्यक्रम एकातिर बजेट अर्कैतिर गैरहेकाे छ । यसबाट सच्चिनुपर्छ ।’

संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने ब्याख्या गलत भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले एक अर्कालाई स्वीकार नगर्ने हो भने सरकार सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले अब पुरानो शासन सत्तालाई परिवर्तन गर्नुपर्छ ।’

संविधानले स्पष्ट ढंगबाट हाम्रा अधिकारको सूचि तयार गरेको भए पनि हामी किन अझै अन्योलग्रस्त छौँ ? उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले प्रदेश र स्थानीय मिलेर जानुपर्ने र  एउटै रथको पाङ्ग्रा मिलेमात्र रथ अघि बढ्ने बताउनुभयो । 

संविधानले स्वायत्तता अधिकार दिएको भन्दैमा एक अर्कालाई मान्नै पर्दैन भन्ने त हैन नि ? उहाँले भन्नुभयो ‘स्थानीय तहले कानुन बनाउछ तर प्रदेश सरकारलाई थाहा हुँदैन यसरी कसरी सरकारबीच सहकार्य हुन्छ ?’

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया