राज्यले लोक सेवा आयोगमा समेत राजनीतिक हस्तक्षेप गरेकाे साझा विवेकशीलका संयाेजक मिश्रकाे आराेप

 जेठ २९, २०७६ बुधबार १५:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले स्थानीय तहका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।

मिश्रले बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग यस्ताे माग गर्नुभएको हाे । 

संयोजक मिश्रले संसदीय समितिले दिएको निर्देशन नमान्न लोक सेवा आयोगको पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो । लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको निर्देशन पालना गर्न बाध्य नहुने उहाँको तर्क छ ।

बुधबार पनि संसदीय समितिले दिएको निर्देशन फिर्ता लिन दबाब दिँदै काठमाण्डौको माइतीघर मण्डलामा प्रर्दशन गरिरहेका युवा तथा विद्यार्थीहरुलाई सम्बोधन गर्दै संयोजक मिश्रले लोक सेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन नमान्न दबाब दिन पनि आह्वान गर्नुभयो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । संसदीय समितिको निर्देशनले युवा, विद्यार्थीहरुलाई प्रतिस्पर्धाको आधारमा लोक सेवा आयोगको परीक्षाबाट उतीर्ण भएर जागिर खाने आफ्नो अधिकार हनन् गरेको संयोजक मिश्रको भनाइ छ ।

संयोजक मिश्रले राज्यले लोक सेवा आयोगमा समेत राजनीतिक हस्तक्षेप गरेर युवा÷विद्यार्थीहरुमाथि मानवताविरुद्धको अपराध गरिरहेको आरोप पनि लगाउनु भयो । प्रर्दशनका क्रममा युवा÷विद्यार्थीहरुले लोक सेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म संघीय संसदको राज्य व्यवस्था  तथा सुशासन समितिविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया