दुई सातामै भत्किएको कालोपत्रे छोप्न माथिबाट ग्राभेल

 जेठ ३०, २०७६ बिहिबार १३:८:२५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कृष्णपुर नगरपालिकामा सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्किएको छ ।

वडा नम्बर-१, बण्डमा नगरपालिकाले निर्माण गरेको कालोपत्रे सडक दुई साता नपुग्दै भत्किएको हो । कालोपत्रे भत्किएपछि माथिबाट ग्राभेल गरेर त्यसलाई ढाकछोक गरिएको स्थानीय अम्मर बुढाले बताउनुभयो । उहाँले सडक कालोपत्रेको दुई साता नहुँदै भत्किएको बताउनुभयो ।

ठेकेदारले मापदण्ड अनुसार काम नगरेकाले दुई साता नपुग्दै कालोपत्रे भत्किएको अर्का स्थानीयले चन्द्रसिंंह कार्कीले बताउनुभयो । सडक निर्माणका लागि अपि निर्माण सेवासँग १३ लाख ८० हजारमा गत बैशााखमा ठेक्का सम्झौता भएको थियो । 

स्थानीयका अनुसार नगरपालिकाले आर्थिक वर्ष सकिनै लाग्दा ठेक्दा सम्झौता गरेकाले पनि ठेकेदार कम्पनीले हतारमा काम गर्दा मापदण्डअनुसार काम नभएको देखिन्छ ।

नगरपालिकाकै लापरवाहिका कारण सडक गुणस्तरीय नभएको बुढाको भनाई छ । ‘भत्किएको सडकका बारेमा हमीले सम्बन्धित वडाध्यक्ष र नगर प्रमुखसँग पनि कुरा गर्याैँ’’, बुढाले भन्नुभयो ‘तर हामीलाई चित्त बुझ्दा जवाफ आएन ।’

उहाँका अनुसार वडाध्यक्ष तथा नगरप्रमुखले आफूले सडकको अनुगमन गर्दा गुणस्तरीय नै रहेको बताउने गरेका छन् । यस्तै, नगरपालिकाका एक जना कर्मचारीले त सडक फराकिलो बनाउन छेउमा ग्राभेल हालिएको बताएको पनि उहाँले जानकारी दिनुभयो । 

कृष्णपुर नगरपालिका कार्यालयका सूचना अधिकारी प्रेम बोगटीले भने भत्किएको सडकखण्डबारे आफूलाई जानकारी नभएको बताउँदै प्राविधिकसँग बुझ्नुपर्ने बताउनुभयो ।

‘यो विषयमा मलाईभन्दा इन्जिनियरलाई बढी थाहा होला’, प्रवक्ता बोगटीले भन्नुभयो, ‘तपाई उहाँसँगै बुझ्नुहोस्, म अहिले केही भन्न सक्दिन ।’

त्यस बारेमा बुझ्न खोज्दा नगरप्रमुख कर्ण हमाल तथा इन्जिनियर चुडामणि कलौनीसँग फोन सम्पर्क हुन सकेन । ५ मिटर चौडाइसहित २२३ मिटर लम्बाइ रहेको त्यस सडकखण्डको दुवैतर्फ ग्राभेल सडक छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया