श्रीमतीको गुप्ताङ्गमा पाइपले घोच्ने श्रीमानलाई आठ वर्ष जेल

 असार २१, २०७५ बिहिबार २०:३:५७ | अमर सुनार

दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चिमेगाउँका ४० वर्षीय सूर्यबहादुर रावतलाई दैलेख जिल्ला अदालतले बैवाहिक बलात्कार र गुप्ताङ्गमा पाइपले घोचेको घटनामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

३६ वर्षीया श्रीमतीलाई बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा अदालतले त्यस्तो सजायको फैसला गरेको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले यस्तो फैसला सुनाएको हो । गएको चैत ७ गते बेहोस हुने गरी कुटपिट गरी  श्रीमतीको गुप्ताङ्गमा प्लाष्टिकको पाइपले घोचेर घाउ बनाएको आरोपमा प्रहरीले सूर्यबहादुरलाई चैत ९ गते पक्राउ गरेको थियो । त्यो मुद्दा जिल्ला सरकारी वकील कार्यालय मार्फत चैत २८ गते दैलेख जिल्ला अदालतमा पेश भएको थियो ।

घटनाको विषयमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकं) लगायतका निकायहरुले चासो राखेका थिए । राष्ट्रिय सञ्चार माध्यमले पनि यो घटनालाई महत्व दिएका थिए । सार्वजनिक चासोको विषय बनेपछि महिला तथा बालकालिका कार्यालय र सामाजिक सेवा केन्द्र (सोसेक)ले पीडित महिलाको उपचार र पुनस्र्थापनामा सहयोग गरेका थिए ।  
 

अन्तिम अपडेट: चैत १३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया