रुकुम पश्चिमका बजारमा मूल्य सूची : न ठगिने डर, न व्यापारीसँग बार्गेनिङ्ग गर्नुपर्ने

 असार २, २०७६ सोमबार २०:२०:१४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – पहिले रुकुमका कुनै पनि बजार र सार्वजनिक स्थानहरुमा कृषि, मासु तथा दूधजन्य उत्पादनका मूल्य सूची राख्ने चलन थिएन । 

पसलैपिच्छे फरक मूल्य गर्छन् कि, व्यापारीहरुले बढी मूल्य भन्छन् कि भन्ने शंका मान्दै ग्राहकहरुले मूल्यमा बार्गेनिङ्ग गर्नुपर्थ्याे । अझ कृषि उपजहरुको मूल्यमा सरोकारवालाहरुको निगरानी हुँदैनथ्याे र किसानहरु ठगिने डर हुन्थ्यो ।

मुसिकोट नगरपालिका-१२ मा रहेको उज्यालो कृषक समूहका अध्यक्ष खिमबहादर ओलीले पनि कृषिजन्य बीउबिजन किन्न बजार जाँदा पहिला पहिला व्यापारीसँग निकै बेर बार्गेनिङ्ग गर्नुहुन्थ्यो । व्यापारीले बढी मूल्य भने कि भन्ने शंकाले उहाँ मूल्य घटाउने मनसाय बोकेर पसल तथा एग्रोभेट जानुहुन्थ्यो । 

अहिले भने उहाँलाई त्यो शंका छैन । बजारमा राखिएको कृषि उपजहरुको मूल्यसूची हेरेर मात्र उहाँ आफूलाई चाहिएको कृषिजन्य वस्तु किन्नुहुन्छ । किसानका लागि उन्नत बीउबिजन कार्यक्रम, कृषि उद्यम केन्द्र, रुकुम उद्योग वाणिव्य संघ जिल्ला लगानीद्वार कार्यालय रुकुमले स्थानीय सोलाबाङ्ग बजारमा राखेको मूल्य सूची बोर्ड हेरेपछि मात्र उहाँ सामान किन्नुहुन्छ । मूल्यसूची बोर्डले गर्दा किसानलाई थप राहत भएको ओली बताउनुहुन्छ । 

‘सूचना पाटी नभएको बेला एग्रोभेटमा बीउ किन्न जाँदा हचुवाकै भरमा किनेजस्तो लाग्थ्यो’, उहाँले भन्नुभयो, ‘सूचना बोर्ड भएदेखि यसैमा लेखिएको मूल्य आधार मानेर बीउ किन्न थाल्यौँ ।’ ओली भन्नुहुन्छ, ‘व्यापारीले बीउको मूल्य पनि बढाउन पाएका छैनन्, हामी पनि ठगिनबाट जोगिएका छौँ ।’ 

उहाँजस्तै खाद्यन्न बीउ उत्पादक किसान चित्रा शर्मा पनि बजार केन्द्रमा राखिएको कृषि मूल्य सूचीले गर्दा पारदर्शिता बढेको बताउनुहुन्छ । खाद्यान्न बीउ उत्पादक महिला कृषक समूह मुसिकोट नगरपालिका-४ की सचिव रहनुभएकी शर्माले आफूले उत्पादन गरेको उन्नत बीउ लिन आउने व्यापारीहरुलाई मूल्यमा बार्गेनिङ्ग नै नगरी सूचना बोर्ड हेर्न लगाउने गरेको बताउनुहुन्छ । 

उहाँका अनुसार, किन्ने र बेच्ने दुवैलाई ठगिनबाट बोर्डले सजक बनाएको छ । ‘हामीले हाम्रो जिल्लामा निर्धारण भएको मूल्य यही हो भनेर बोर्ड देखाउने गरेका छौँ,’ शर्माले भन्नुभयो, ‘त्यही बोर्डमा लेखिएको मूल्यलाई आधार मानेर हामी बीउको कारोबार गर्छौँ ।’

मुसिकोट नगरपालिका-४ मा रहेको मिलन एग्रोभेटका सञ्चालक मोहन केसीले मूल्यसूची भए यता उपभोक्तासँग बार्गेनिङ्ग गर्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । बजारमा दर रेट उल्लेखित बोर्ड भएपछि दुबैलाई सहज भएको उहाँ बताउनुहुन्छ । किसानहरुबाट आफूले खरिद गर्दा र आफूले बिक्री गर्दा मूल्यकै कारणले हुने झन्झट अहिले नरहेको उहाँले बताउनुभयो ।  

होटेल व्यवसायी संघ सिम्ली बजारका अध्यक्ष चक्रबहादुर केसीले सिम्लीबजारमा राखिएको मूल्य सूची बोर्डले किसानलाई सचेत बनाउनुका साथै व्यापारीलाई समेत सहज भएको बताउनुभयो । बजार केन्द्रलाई लक्षित गरी राखिएको मूल्य सूचीले किन्ने बेच्ने दुवैलाई फाइदा पुगेको उहाँ भन्नुहुन्छ । 

कृषि उपजहरुको मूल्य सूची स्थानीय रेडियोबाट समेत नियमित प्रसारण हुने गर्दछ । स्थानीय व्यापारी नरबहादुर पाण्डेले रेडियोबाट प्रसारित मूल्य सूची सुनेर किसानहरु चनाखो भएको उल्लेख गर्नुभयो । 

जिल्लाको आठबिसकोटमा चौमासे सिमीको उन्नत बीउ किन्न गएको प्रसंग सम्झँदै पाण्डेले भन्नुभयो, ‘मैले प्रतिकेजी दुई सय पचासमा दिनुस् भनेर अनुरोध गर्दा किसानहरुले जिल्लाको मूल्य प्रति केजी तीन सय छ, रेडियोले भनेको हामी सुनिरहन्छौँ, त्योभन्दा कममा दिँदैनौँ भनेपछि उहाँहरुकै मूल्यमा खरिद गरेँ ।’ मूल्य सूची प्रसारणले कृषकहरु बीउको मूल्यमा समेत सचेत भएका छन् । किसानहरुमा आएको यो सचेतनाले आफू खुशी भएको उहाँले बताउनुभयो । 

परम्परागत खेती प्रणालीमा लाग्नु भएका कृषक जगत खड्का पनि सूचना बोर्डको मूल्य हेरेर उन्नत बीउको कारोबारमा आकर्षित भएको बताउनुहुन्छ । परम्परागत उत्पादन र मूल्यभन्दा उन्नत बीउ उत्पादनको मूल्यबाट किसानलाई फाइदा हुने निष्कर्ष उहाँले बोर्डमा राखिएको मूल्य सूची हेरेर निकाल्नु भएको छ । 

मुसिकोट नगरपालिका-४ का वडा सदस्य समेत रहनुभएका खड्काले मूल्यसूची बोर्डमा भएका कृषि, मासु तथा दूधजन्य पदार्थको मूल्य सुचीले व्यापारी तथा उपभोक्तालाई सहज भएको जनाउनुभयो । सबैजसो बजार क्षेत्रमा यस्तै सूचना पार्टीहरु भए मूल्यमा कोही पनि नठगिने, पादर्शिता हुने उहाँको भनाइ छ ।

किसानका लागि उन्नत बीउबिजन कार्यक्रम, कृषि उद्यम केन्द्र, रुकुम उद्योग वाणिज्य संघ जिल्ला लगानीद्वार कार्यालयले जिल्लाको सोलाबाङ्ग, सिम्ली र झुल्खेत बजार केन्द्रमा मूल्यसूची बोर्ड स्थापना गरेको छ । विसं २०७२ सालमा स्थापना गरिएका यी मूल्यसूची बोर्डसँगै जिल्ला सदरमुकाममा डिजिटल मूल्य सूची बोर्ड सञ्चालनमा छ भने नियमित रुपमा स्थानीय रेडियोबाट पनि मूल्य सूची प्रसारण भैरहेको छ । 

स्थानीय बजारमा सबैले देख्ने गरी राखिएका सूचना बोर्डहरु १५-१५ दिनको अन्तरमा अध्यावधिक गरिन्छ । जिल्लामा निर्धारण भएको मूल्य, स्थानीय एग्रोभेट, स्थानीय बीउ व्यापारी र उत्पादक किसानहरुको छलफलपछि मूल्यसूची अध्यावधिक गरिने गरिएको छ । 

सूचना बोर्डमा विभिन्न खाद्यन्न तथा तरकारीको उन्नत बीउ, मासुजन्य र दूधजन्य पदार्थको मूल्य राखिएको हुन्छ । मूल्य सूचना बोर्ड स्थापना पश्चात् मूल्यमा एकरुपता आएको छ भने क्रेता र बिक्रेताहरु ठगिने समस्याबाट जोगिएका छन् । कृषि उपजहरुको मूल्य पारदर्शिताको यो अभ्यास सह्रानीय रहेको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया