पीएम कप महिला क्रिकेट : गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश विजयी

 असार ४, २०७६ बुधबार १४:२५:३३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको हो । 

टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशीला गुरुङले १७ रन बनाएकी हुन् । यस्तै, सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई–दुई विकेट तथा कविता जोशीले एक विकेट लिइन् । 

जवाफमा सुदूरपश्चिमले एक विकेट गुमाएर ७ ओभरमै लक्ष्य भेटाएको हो ।  सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाए । 

गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन् । 

प्रतियोगिताको दोस्रो खेलमा बुधबार बेलुका प्रदेश २ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण बुधबारबाट महेन्द्रनगरमा सुरु भएको हो । 

प्रतियोगितामा एउटा विभागीय टिम (सशस्त्र प्रहरी) र सात प्रदेशको गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया