‘सत्ता पक्षकै  जिम्मेवार नेताले यो देशको भूगोल बदलिन सक्छ भन्दा पनि सदनमा चर्चा हुँदैन’

 असार ५, २०७६ बिहिबार १३:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राजपाका सांसद राजकिशोर यादवले संसद आफनो कर्तव्यबाट च्यूत भएको आरोप लगाउनुभयो ।  

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उहाँले संविधानअनुसार सपथ खाएका सरकारका मन्त्रीले नै संविधानलाई उल्लंघन गरेर वक्तव्यवाजी गर्दा पनि सदनले कारवाही गर्न नसकेको भन्दै संसदीय गरिमा र मर्यादाप्रति जिम्मेवार हुन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले जनप्रतिनिधिले दैनिक विभिन्न सरोकारका विषय उठाउने गरेको र जनप्रतिनिधिको आवाजको सम्बोधन नभइरहँदा पनि सदनले त्यसतर्फ सरकारलाई जिम्मेवार बनाउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले गत दुई हप्तादेखि देशको राष्ट्रिय राजनीतिमा ठूलो दुर्घटना हुने आँकलनहरु बाहिर र्आरहँदा पनि त्यसबारे सदनमा बहस हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सदनमा सत्तापक्षकै जिम्मेवार नेताले अन्तर्राष्ट्रिय कारणले गर्दा यो मुलुकको भुगोल बदलिन सक्छ भन्ने प्रश्न उठ्छ र त्यसमा यो सदन गम्भीर भएर चर्चा गर्दैन । प्रधानमन्त्रीसँग प्रश्न सोध्दा प्रधानमन्त्रीले मुर्ति चोरहरुको काम भनेर पन्छिन खोज्दा यो सदनमा बहस हुँदैन ।’

बुधबार माइतीघर मण्डलाको जनसभाले मतादेशमाथि जनादेशको विजयी भएको देखाएकाले नागरिकले दिएको संकेतलाई समयमै बुझ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

केही दिनअघि नेकपाका प्रमुख सचेतक देव गुरुङमा नेपाली विदेशी चलखेल बढेको र त्यसले नेपालको स्वाधिनतामाथि नै चुनौती थपिएको बताउनु भएको थियो । उहाँले यस्तै अवस्था रहेमा देशकै भूगोल रहन्छ कि रहँदैन भन्ने चिन्ता उब्जिएको बताउनु भएको थियो ।

त्यस्तै  सत्तारुढ दल नेकपाका सांसद गगाां चौधरी सद्गौवाले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाउनु भएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उहाँले विधेयकका बारेमा भ्रामक प्रचार गरी चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोरा छोरीको गासबास खोस्ने काम गरेको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन । र गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भूमिहीन किसानहरुको छोरा छोरीको गासबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो ।’

उहाँले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरुको भावनामा ठुलो ठेस पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरुको भावनामा ठूलो ठेस पुगेको छ । गहभरि आँसु लिएर ठेला परेका हा , चिरा परेका खुट्टा, खाना नखाइ भोकभोकै ठूलो खुल्ला मैदानबाट लाखौँ गुठी पीडीत भूमिहीन किसान भन्दै थिए ‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ ।’

उहाँले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले सामन्तहरुको आँखा आफ्ना पूर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानौ यो देश मालिकहरुको हो । यहाँ मालिकहरुको आदेशको पालना हुन्छ । यहाँ मालिकहरुकै कुरा सुनुवाइ हुन्छ । किनकि यो देश मालिकहरुले नै चलाउने गर्छन । मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन् ।’

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिँदै गएको आरोप लगाउनुभयो । सरकारले प्रतिनिधिसभामा आउनुपर्ने विधेयकलाई राष्ट्रियसभामा लगेको तथा सदनबाट नै फिर्ता लिनुपर्नेमा पत्रकार सम्मेलन गरिएकाले विश्वसनियतामा शंका उत्पन्न भएको बताउनुभयो ।  

स्वःस्फुर्त रुपमा धर्म संस्कृति र परम्पराको रक्षाका लागि एकजुट भएको जनसभालाई सरकारले प्रतिगामीहरुको खेल देख्नु खेदपूर्ण भएको भन्दै जनताको भावनामा ठेस पुर्‍याउने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

गुठी विधेयक, सूचना विधेयक, मिडिया काउन्सिल, मानवअधिकार आयोगसम्बन्धी र राष्ट्रिय सुरक्षासम्बन्धी विधेयक चरम विवादमा रहेको भन्दै उहाँले समयमै विवादित विधेयकबारे निकास खोज्न गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले भ्रष्टाचारलाई मलजल गरेको दाबी उहाँले गर्नुुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया