विश्वकपको गोल र टीभीमा गोल हेर्ने मेरो सपना

 असार २२, २०७५ शुक्रवार १२:२०:६ | सन्जिता देवकोटा

विश्वकप सुरु हुन झण्डै एक साता बाँकी थियो । पल्लो कोठाको दिदीको एक्वारियम बिग्रिएछ । अघिल्लो दिन नै बिग्रिएको एक्वारियममा भएका माछा मरिसकेका थिए । भोलिपल्ट उहाँले किन्ने मान्छे खोजेर एक्वारियम बेच्नुभयो । यो कुरा मलाई थाहा थियो ।

बेलुका खाना खाने बेलामा मेरो दिदीले अचम्मको कुरा सुनाउनुभयो । कुरा थियो, त्यही एक्वारियम किन्न आउने मान्छेले विश्वकप हेर्न नयाँ टिभी किनेको  । चिन्नु न जान्नुको मान्छेले टिभी किनेको कुरा मलाई किन सुनाएको भनेर भन्नै लागेको थिएँ, दिदीले मलाई रोक्दै भन्नुभयो ‘त्यो मान्छेले पुरानो टिभी  एकहजार रुपैयाँमा बेच्छ रे, किन्ने त ?’

हजार रुपैयाँको टिभी कस्तो होला त ? त्यस्तो हावा कुरा नगर भन्दै दिदीको एक प्रश्नमा पाँचवटा प्रश्न तेस्र्याएँ। दिदी बहिनी मज्जाले हास्यौं । भोलिपल्ट अफिसबाट कोठा पुग्नेबित्तिकै दिदीले भन्नुभयो ‘त्यो टिभी त एलसीडी हो रे, किनौं न त विश्वकप हेर्नुपर्छ ।’  

दिदीले एकहजार रुपैयाँमा टिभी पाइने भएपछि विश्वकप पनि हेर्ने रहर गरिन, अब एलसीडी नै भए त किनौं न त भनेझैं लाग्यो । विश्वकप हेरुन्जेल चले त भैगो नि भनेझैं पनि लाग्यो । 

तर त्यो मान्छेले बेच्ने एकहजार रुपैयाँको टिभीमा विश्वकप हेर्ने हाम्रो योजना त्योभन्दा अघि बढेन । हामीले टिभी किन्ने भनेर निर्णय गर्‍यौ‌ं, तर बेच्ने मान्छेसँग फेरि भेट भएन । 

अघिपछि त कोठमा टिभी चाहिन्छ जस्तो नै लाग्दैनथियो । मोवाइल र ल्यापटपले कोठामा टिभीको सम्झनासम्म छिर्न दिएको थिएन । विश्वकप सुरु भयो । पहिलो, दोस्रो दिनको खेलको त खासै वास्ता भएन । हेरौं भन्ने पनि लागेन । समूह चरणमा अर्जेन्टिना र आइसल्याण्डको खेल थियो । 

त्यो दिन मेरो कोठामा अघिल्लो दिन जन्मदिन मनाएकी मेरो मिल्ने साथी आउने भइन्, जन्मदिनको खुसी बाँड्न । 

तर उनले जसरी पनि अर्जेन्टिनाको खेल हेर्नुपर्छ भनिन् । घरमा टिभी छैन । मोवाइलमा ‘वाउ टाइम्स’ डाउनलोड गरेँ । तर कान्तिपुर टिभी लोड भएन । ल्यापटप खोलें । तिनै साथीको ‘आइडिया’ अनुसार निकै कोशिस गरियो, तर खेल हेर्न मेसो मिलेन । र अन्त्यमा एक्वारियम बेच्ने दिदीको कोठामा खेल हेर्न गयौं । साथीले जन्मदिनमा गिफ्ट पाएको ब्राजिलको टिर्सट लगाएर अर्जेनटिनाको खेल हेरिन् । 

म बस्ने घरकै पहिलो तलामा बस्ने बहिनीलाई पनि विश्वकपको मोह रहेछ । एकदिन साँझपख मेरो कोठामा आइन् । भनिन्, ‘दिदी विश्वकप हेर्न तपाईं र म मिलेर टिभी किनौं ।’ 

उसको कुरामा मैले चासो दिइनँ, हाँसेरै उडाइदिएँ । 

तर अहिले हाँसोमा उडाएको बहिनीको कुराले मलाई छोएको छ । योपालिको विश्वकपले टिभी नहुँदाको छटपटी यसरी बढाइदियोे कि छिमेकीले गोल भनेर चिच्याउँदा कसले गोल गर्‍यो भनेर फेसबुक खोल भन्छ मनले । 

अघिपछि सबै कुरा हेर्न मिल्ने ल्यापटप र मोवाइलले कसले गोल हान्यो भनेर जानकारी त दिंदोरैछ, तर गोल...भनेर चिच्याउने जोश चाहिँ नदिंदो रहेछ ।

आफूले समर्थन गरेको टिमले गोल हान्दा खुसी हुँदै सामाजिक सञ्जालमा गरेको अपडेट हेरेर चित्त बझाउनुपर्ने । 

मेरा छिमेकी अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी लगायत देशका समर्थक धेरै रहेछन् । राती ११.४५ देखि यी देशका खेल भएको दिन त छिमेकीले फिटिक्कै सुत्न दिएनन् । आफ्नो निद्रा मारेर के पाए त थाहा छैन, तर मेरो निद्रा चाहिँ खोसे ।

छिमेकी धेरै कराएको रात त दिदी बिहानै उठेर भन्नुुहुन्थ्यो ‘आज पनि निदाउन दिएनन्, कसको खेल रहेछ कुन्नि ।’कसले गोल हानेछ भनेर हेर्न मन नलागेको कहाँ हो र । तर मध्यरातमा उठेर फेसबुक हेर्ने जाँगर नलाग्ने ।

त्यसैले बिहान आँखा खुल्ने बित्तिकै अपडेट हेरेर चित्त बुझाउँदै आएको छु । तर प्रत्यक्ष गोल हानेको हेर्दा जस्तो समाचारमा यो टिमले जितेछ भनेर पढ्दा के मज्जा आउँन्थ्यो र !

घरबाट बाहिर निस्केदेखि अफिस आइपुग्दासम्म बाटोमा अघिल्लो दिनको खेलको कुरा मात्र सुनिन्छ । अफिसमा पनि अघिल्लो रातको खेलको कुरासँगै काम सुरु हुन्छ । दिनभरी नै उसले यस्तो खेल्यो, त्यसले त्यस्तो खेल्यो भनेर आफूले समर्थन गरेको टिम र खेलाडीको तारिफ सुन्न पाइन्छ ।

आफूले समर्थन गरेको टिमले जितेको दिन समर्थकका अनुहारमा खुसी देखिन्छ । हारेको टिमको समर्थकका अनुहारमा चाहिँ निराशा । आफू त नतिजा मात्र हेर्ने र ए त्यसले पो जितेछ भनेर दंग पर्ने सर्मथक परियो । समाचार र फेसबुक अपडेटमा कसले कसरी गोल गर्‍यो भनेर देखेको भए पो यस्तो, उस्तो भन्दै उफ्रनु । 

सधैझैं एकदिन अफिसमा विश्वकपकै कुरा भइरहेको थियो । कार्यकक्षमा सँगै बसेर काम गर्ने उमंग पराजुलीसँग सुटुक्क भनें, ‘कोठामा टिभी नभएर यसपालि विश्वकप हेर्न पाइएन ।’ अनि एक हजारको टिभी फुत्केको कुरा पनि सुनाएँ ।

उहाँसँग कुराकानी गरेपछि थाहा भयो, एक्वारियम किन्न आउने मान्छेसँग जस्तै उहाँसँग पनि एउटा पुरानो टिभी रहेछ । ‘विश्वकप हेर्ने रहर छ भने लैजाउ न त, मेरो पुरानो टिभी, एक हजारमा हैन सित्तैमा दिन्छु’ भन्नुभयो । उहाँको कुरा सुनेर म हाँसें मात्र । प्रतिक्रिया दिइनँ ।

अहिलेसम्म खेल चलिरहँदा फेसबुक अपडेट र समाचार, अनि भोलिपल्ट यूट्युवमा आएको हाइलाइटट्स हेरेर विश्वकपको मज्जा लिइरहेको छु । कोठामा टिभी ल्याउन पनि समस्या नै छ फेरि । एक त राख्ने ठाउँ छैन । दोस्रो मलाई मनपर्ने खेलाडीहरु विश्वकपबाट बिदा भइसके । तर मज्जाले हेर्नुपर्ने खेल बाँकी नै छ ।

दिदीले फाइनल त फेसबुकमा हैन, टिभीमै हेर्नुपर्छ भन्दै हुनुहुन्छ  । अब फाइनल हेर्न कि आफैं टिभी किन्नु पर्‍यो कि त छिमेकीकोमा जानु पर्‍यो । अर्को विकल्प पनि छ, उमंग पराजुलीको प्रस्ताव स्वीकार गर्ने । सोच्दासोच्दै विश्वकप सकिएला जस्तो छ, सँगै मेरो टिभी किन्ने योजना पनि !


 

अन्तिम अपडेट: भदौ १६, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया