शताब्दी पुरुष सत्यमोहन जोशीलाई भव्य नागरिक अभिनन्दन

 असार ६, २०७६ शुक्रबार २०:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिएको छ ।

विभिन्न संघसंस्थाको सहभागितामा मध्यपुरथिमिको बाहाखाबजारबाट शंखधर चोकसम्म र्‍याली प्रर्दशन गरिएको थियो । त्यसैगरी भक्तपुरको दत्तात्रयबाट जोशीलाई गाडीमा राखेर बाजा गाजा र र्‍यालीसहित भक्तपुर नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै सूर्यविनायक पुगेर नागरिक अभिनन्दन समारोहमा जोशीको भव्य अभिनन्दन गरिएको थियो ।

नेवारी परम्परा अनुसार सगुन दिनुको साथै साहित्यकार तेजेश्वरबाबु ग्वंगले वेताली, साहित्यका रमापतिराज शर्माले दोसल्ला, श्रीगोपाल प्रजापतिले फूलमाला र पूर्णप्रसाद बैध तथा कैलाश भक्त प्रधानाङ्गले टीका लगाएर उहाँलाई अभिनन्दन गर्नुभएको थियो । 

कार्यक्रममा संघीय सांसद महेश बस्नेत, प्रदेश नं. ३ का सांसद डा् राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, कार्यक्रमका संयोजक नरेन्द्रभक्त हाडाले जोशीलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा सांसद महेश बस्नेतले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो । 

वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ट साहित्यकार तिलक प्रकाश कायस्थ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सत्य मोहन जोशी देशकै गहना भएकाले उहाँको योगदानलाई सधै स्मरण गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रमा शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बिभिन्न भाषा, संस्कृति, कला, साहित्यलाई सधै जिवित राख्नु पर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया