आईसीयूबाटै डाक्टर केसीको आक्रोश : मेरो सत्याग्रहको जिम्मेवारी केपीजी र प्रचण्डजीले लिनुपर्छ

 असार २२, २०७५ शुक्रबार १३:२२:४८ | नेत्र शाही

जुम्ला – जुम्लामा सत्याग्रहमा रहनुभएका डाक्टर गोविन्द केसीले जनताको पक्षमा आउने विधेयक तोडमोड गरिए आफ्नो जुम्ला सत्याग्रह जस्तोसुकै अवस्थामा जारी रहने बताउनुभएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणको आईसीयूमा अनसनरत रहेका डाक्टर गोविन्द केसीले पत्रकार सम्मेलन गरी आफ्नो स्वास्थ्य स्थिति कमजोर हुँदै जाँदा  सरकारले चिकित्सा विधेयक प्रतिस्थापन गरेर ल्याउने हर्कत गरेको भन्दै यसो गरिए आफ्नो अनसन जारी रहने घोषणा गर्नुभएको छ ।  केसीले आक्रोशित हुँदै भन्नुभयो, ‘जनताको पक्षमा तयार भएको विधेयक तोडने अधिकार गरेपछि आफ्नो सत्याग्रहको जिम्मेवारी केपीजी र प्रचण्डजीले लिनुपर्ने हुन्छ ।’ 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञहरु भए पनि प्रविधिमैत्री नभएको डाक्टर केसीले बताउनुभयो ।  

यसैगरी  नेपाली कांग्रेसले केसीको स्वास्थ्य अवस्थाका लागि खटाएको ३ सदस्यीय सांसदको टोलीले अवस्था अवलोकन गरेको र लिखित प्रतिवेदन तयार हुने बताएको छ । 

प्रतिनिधिसभा सांसद प्रकाश रसाइली स्नेही, रंगमती शाही र कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठको टोलीले स्वास्थ्य अवस्था बुझेर फर्किएको छ ।  फर्किने समयमा पत्रकार सम्मेलन गरी सांसद रसाइलीले केसीको अवस्था कमजोर हुँदै गएकाले सरकार गम्भीर भएर विधेयक जस्ताको त्यस्तै ल्याइनुपर्ने बताउनुभयो । 

उहाँले संसदमा यहाँको स्थलगत आवाज विशेष समय लिएर बोल्ने समेत बताउनुभयो । यसैगरी असार १६ गते जिल्ला खेलकुद विकास समितिको हलमा सुरु भएको अनसन शुक्रबार सातौँ दिन पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया