कोपा अमेरिका : अर्जेन्टिना र काेलम्बिया क्वार्टरफाइनलमा प्रवेश

 असार ९, २०७६ सोमबार ७:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’बाट अर्जेन्टिना उप-विजेता बन्दा कोलम्बिया विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले आमन्त्रित राष्ट्र कतारमाथि २–० को जित निकालेको थियो ।

पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेलाई बराबरीमा रोकेको थियो । कतारविरुद्ध अर्जेन्टिनका लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाए ।

कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गर्न सफल भए । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो ।

८२ औं मिनेटमा सर्जियो अग्युरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै टिमका लागि दोस्रो गोल गरेर जित निश्चित गरे ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० ले हरायो ।

कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । जितसँगै काेलम्बिया पनि क्वार्टर फाइनलमा प्रवेश गरेकाे छ । 

लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रह्यो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया