उपमेयरद्वारा नगरसभा बहिष्कार, कपिलवस्तु नगरपालिकाको बजेट पेस हुन सकेन

 असार १०, २०७६ मंगलबार १५:५१:२८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु नगरपालिकाको ५औँ नगरसभालाई उपमेयर लक्ष्मीदेवी गुप्ताले बहिष्कार गर्नु भएको छ ।

मेयर किरण सिंहले स्वेच्छाचारी ढंगबाट अघि बढेका कारण आफू बाध्य भई नगर सभालाई बहिष्कार गरेको उहाँले बताउनुभयो । 

उपमेयर गुप्ताले यसअघिको नगर कार्यपालिका बैठक पनि बहिष्कार गर्नु भएको थियो । नगरपालिकाका हरेक कार्यक्रमहरु एकलौटी ढंगबाट नगर प्रमुखले नै सञ्चालन गर्ने गरेको उहाँले आरोप लगाउनुभयो । ‘चालु आर्थिक वर्षमा महिला तथा बालबालिकाका क्षेत्रका सबै कार्यक्रमहरुमा मलाई उपेक्षा गरी मेयर सिंह अघि बढ्नु भएको छ’, उपप्रमुख गुप्ताले भन्नु भयो, ‘यसरी आफ्नो कुनै कुराको सुनुवाइ नभएपछि केका लागि नगर सभामा सहभागी हुने ।’

नगरसभाका बारेमा उपमेयर गुप्तालाई जानकारी भएको र उहाँ नआउनुको कारण आफूलाई थाहा नभएको मेयर सिंहले बताउनुभयो ।

उपमेयर गुप्ताको विरोधका कारण आजको नगरसभाले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न नसकी २० गते सम्मका लागि स्थगित गरिएको छ । नगरकै उपमेयरलाई समेट्न नसक्नु कार्यपालिका नेतृत्वको कमजोरी रहेको नगरसभा सदस्य दुर्गेश पाण्डेयले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया