आउँदाे आर्थिक वर्षका लागि काठमाण्डाै महानगरकाे बजेट १५ अर्ब ५० करोड

 असार १०, २०७६ मंगलबार १८:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - रासस

काठमाण्डाै -  काठमाण्डाै महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ ।

काठमाण्डाै महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेको हो । बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले  पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा सबैभन्दा बढी ५१ दशमलव ७४ प्रतिशत बजेट अर्थात् ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी पूँजीगत सम्पत्ति खर्चमा १ अर्ब ५५ करोड, तलव, पारिश्रमिक र सुविधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब, ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ । उपप्रमुख खड्गीले प्रस्तुत गरेकाे  बजेट चालू आर्थिक वर्षको भन्दा १९ प्रतिशतले बढी भएको पनि जानकारी दिनुभयो ।

बजेटमा नागरिकको जीवनस्तर, अम्दानी र रोजगारमा बढावा दिने कुरालाई उच्च प्राथमिकता दिइएको छ । उपमेयर खड्गीले गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने विषयलाई पनि बजेटमा जोड दिइएको स्पष्ट पार्नु भयो ।

बजेटमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ६ अर्ब २३ करोड ५७ लाख ९० हजार राजस्व संकलन गरिएको पनि उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया