पूजा र शुष्मालाई मिलाउने रेखाको प्रयास असफल

 असार २२, २०७५ | उज्यालो सहकर्मी

काठमाडाैं - रमाइलो छ डट कमले बिहीबार आयोजना गरेको  पहिलो वार्षिक उत्सवमा कलाकारहरुको बाक्लो उपस्थिति थियो । सायदै नेपालका कुनै पनि अवार्ड समारोहमा कलाकारको यति धेरै उपस्थिति हुन्छ । यस कार्यक्रममा धेरै जसो अभिनेत्रीको उपस्थिति थियो ।

बिहीबारको यस कार्यक्रमपछि अभिनेत्री पूजा शर्मा र अभिनेत्री शुष्मा कार्कीको सम्बन्धले चर्चा पाएको छ । कार्यक्रममा अभिनेत्री पूजा शर्मा, रेखा थापा, स्वेता खड्का, निता ढुगाना लगायत एउटै लाइनमा बसिरहेका थिए । यत्तिकैमा कार्यक्रममा उपस्थित अभिनेत्री शुष्मा कार्की सबैलाई अंकमाल गर्दै आइन् । शुष्मा कार्कीले निता ढुंगाना र रेखा थापालाई क्रमशः अकंमाल गरिन् । तर रेखाको नजिक बसेकी पूजालाई भने उनले बेवास्ता गरिन् । 

पूजालाई बेवास्ता गरेर हिँडेकी शुष्माको हात तान्दै रेखाले पूजालाई पनि अकंमाल गर्न आग्रह गरिरहेकी थिइन् । तर शुष्माले भने रेखाको आग्रहलाई पनि अस्वीकार गरिन् र पूजालाई  छोडेर सिधै स्वेता खड्कालाई अंकमाल गरिन् । 

शुष्मा फर्किने बेलामा पनि रेखाले पूजासँग बोल्न शुष्मालाई आग्रह गरिरहेकी थिइन् तर शुष्माले मानिनन् । 

बिहीबारको कार्यक्रले शुष्मा र पूजाको सम्बन्ध बिग्रिएको प्रष्ट्याएको छ । उता यही कार्यक्रमले नै अभिनेत्री आँचल शर्मा र पूजा शर्माको सम्बन्ध बिग्रिएको हल्लालाई गलत साबित गरिदिएको छ । 

सम्बन्ध बिग्रिएको हल्ला चलिरहेका बेला यी दुई कार्यक्रममा एकअर्कासँग निकै नै सहजताका साथ प्रस्तुत भएका थिए । 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
 

तपाईको प्रतिक्रिया