रियो ग्राण्ड नदीमा डुबेर बाबु-छोरीको ज्यान गएपछि ट्रम्पको विदेश नीतिको आलोचना

 असार १२, २०७६ बिहिबार १४:३:१६ | एजेन्सी
unn.prixa.net

एल साल्भाडोरको सरकारले आफ्ना नागरिकहरुलाई चेतावनी दिँदै अमेरिका घुस्ने कोसिस गरेर ज्यान जोखिममा नपार्न सचेत गराएकाे छ । 

२५ वर्षीय अस्कर अल्बर्टो मार्टिनेज रामीरेज नाम गरेका पिता र उनकी २३ महिनाकी छोरी भ्यालेरियाको रियो ग्राण्ड नदीमा डुबेर ज्यान गएपछि अल सल्वाडोरको सरकारले जबर्जस्ती अमेरिका घुस्ने काम नगर्न भनेको हो । बाबु छोरीको फोटो भाइरल भएपछि अहिले सामाजिक सञ्जालमा कडा आलोचना भैरहेको छ । 

अमेरिका र मेक्सिकोले गैरकानुनी रुपमा आउने विदेशी व्यक्तिहरुमा कडाइ गर्न यो नयाँ कदम उठाएको हो । यीमध्ये धेरै मानिसहरु मध्य अमेरिकाबाट आउने गर्दछन् । 

पछिल्लो समय यस्तै घटनामा परेर छ जनाले ज्यान गुमाइसकेकी छिन् । 

होन्डुरस, ग्वाटेमाला र एल साल्भाडाेरबाट आउने प्रवासीहरु भन्छन्, ‘उता निकै हिंसा र गरिबी पनि छ । अमेरिकामा शरण लिने कोसिसमा यहाँ आएका हौँ ।’
बाबु र छोरीको डुबेर ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको आलोचना पनि भैरहेको छ । ट्रम्पको आप्रवासी नीतिको कारण मानिसहरु अमेरिका आउनका लागि खतरनाक बाटो रोज्नुपरेको आलोचकहरुले भनेका छन् । 

सन् २०१८ मा पनि अमेरिका–मेक्सिको सीमामा कम्तीमा २८३ जनाले ज्यान गुमाएका थिए । यो आँकडा यूएस बोर्डर पेट्रोलको हो, यद्दपि मानवअधिकार कार्यकर्ताहरुले भने ज्यान गुमाउनेको संख्या योभन्दा धेरै रहेको बताएका छन् । 

नदीमा डुबेर ज्यान गुमाएका बाबु र छोरी आइतबार मेक्सिको को माटामोरोसबाट अमेरिकाको टेक्सास आउने कोसिस गरिरहेका थिए । रियो ग्राण्ड नदीको तेज धारका कारण बाबु छोरीको ज्यान गएको बताइएको छ । 

रामिरेजकी पत्नी तानिया भेनेसा आभाेसले अमेरिकी अधिकारीहरुले आधिकारिक रुपमा आफूहरुलाई शरण लिन नमानेपछि चिन्तित भएका रामीरेजले नदी तरेर नै अमेरिका घुस्ने फैसला गरेको बताएकी छिन् । 

रामिरेज आफ्नी छोरीसँग नदी तर्न सफल भएका थिए र जब उनी पत्नीलाई लिन फर्किरहेका थिए तब उनकी छोरी नदीमा खस्न पुगिन् । रामीरेज छोरीसम्म पुगिसकेका थिए तर नदीको तेज धारले गर्दा दुई जनालाई नै बगायो ।  

एल साल्भाडोरका विदेश मन्त्री एलेक्जेन्ड्रा हिलले पनि आफ्ना देशका नागरिकहरुलाई गैर कानुनी रुपबाट ज्यान जोखिममा पारेर अमेरिका नघुस्न भनेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि बाबु र छोरीको डुबेको तस्बिर देखेपछि भनेका छन्, ‘म घृणा गर्दछु । वास्तवमा बुबा निकै महान हुन्छन् । निकै खतरनाक यात्रा । महिलाहरु बलात्कारको शिकार भएका छन् र निकै घटना भएका छन् ।’ उनले विपक्षी दलको विरोधका कारणले गर्दा गैर कानुनी रुपमा अमेरिका पस्न खोज्ने प्रवासीहरुको ज्यान गएको दावी गरेका छन् । 

यसैबीच अमेरिकाका प्रतिनिधि सभामा डेमोक्रेट्सले अमेरिका–मेक्सिको सीमामा मानवीय सहायताका लागि ५.४ अर्ब डलरको घोषणा गरेको छ । तर यो विधेयकले रिपब्लिकनको नियन्त्रण रहेको वरिष्ठ सभामा मुश्किलको सामना गर्नुपर्ने हुनसक्छ ।  
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया