परीक्षा नियन्त्रण कार्यालयकाे लापर्वाहीः धादिङका आठ जना विद्यार्थीकाे भविष्य अन्याेलमा

 असार १४, २०७६ शनिबार १७:५४:३७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – एसईई परीक्षाफल प्रकाशित भएपछि नतिजा हेर्दै गरेकी अम्बिका थापा झसङ्ग भइन् । उनले परीक्षा नै नदिएको तीन वटा विषयमा परीक्षाफल प्रकाशित नभएको उल्लेख गरिएको थियो । 

परीक्षा नियन्त्रण कार्यालयमा पठाइएका फारमहरुमा कुनै गल्ती नगरेकाे र विद्यालयमा नै नभएको र आफूले पनि नपढेको विषयमा अनुपस्थित भनेर आएपछि उनी आक्रोशित बनेकी छिन् । 

परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीका कारण धादिङको गल्छी गाउँपालिका-८ मा रहेको गोगनपानी माध्यमिक विद्यालयकाका आठ जना विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । दुई जना विद्यार्थीको जन्ममितिमा गडबडी भएको भनिएको छ भने छ जना विद्यार्थीको शंका पनि नगरेको विषयको परीक्षामा अनुपस्थित भएको देखाइएको छ ।

एसईईको परीक्षाफल हेरेपछि सिम्बोल नम्बर २६४७८७ की अम्बिका थापाले आफू अचम्ममा परेको बताइन् । अनिवार्य विज्ञानको परीक्षा दिएकी थापाको त्यो स्थानमा ग्रामर र ट्रान्सलेशन, जनसंख्या स्वास्थ्यको स्थानमा संस्कृति भाषा, ऐच्छिक प्रथम अर्थशास्त्रको स्थानमा अङ्ग्रेजी लेखिएर आयो ।

उल्लेखित विषयमा उनले परीक्षा नै नदिएको देखाइएको छ । परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीले गर्दा नै परीक्षामा थापाले दिएको विषय नभएको गोगनपानी माविका प्रधानाध्यापक रामहरी थापाले बताउनुभयो ।

अम्बिका थापा मात्र होइन दिया पन्तले प्रवेश पत्रमा समेत नभएको कर्मकाण्ड, पार्वती श्रेष्ठको ग्रामर एण्ड ट्रान्सलेशन, सन्ध्या रोक्काको ग्रामर एण्ड ट्रान्सलेशन र संस्कृत भाषा, शोभा श्रेष्ठको संस्कृत भाषा र लाइट, ग्रामर एण्ड ट्रान्सलेशन फलित ज्योतिष र उषा लामा संस्कृत भााषामा परिक्षामा अनुपस्थित भएको उल्लेख गरी परीक्षाफल प्रकाशित भएको छ । 

परीक्षामा राम्रो अंक ल्याउने भनिएका विद्यार्थीको परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीले परीक्षाफल नआएपछि उनीहरुको भविष्यको बारेमा चिन्ता बढेको प्रधानाध्यापक थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया