विदेश जाँदा लागेको ऋण नेपालमा जुत्ता सिलाएर चुक्ता

 असार १५, २०७६ आइतबार १७:१९:५२ | बेदानन्द जाेशी

ललितपुर – धोबीघाटको व्यस्त चोक । कोटेश्वरबाट कलंकी गुड्ने गाडी त्यही चोकमा रोकिन्छन् । गाडीबाट झरेर सडकपेटी पार गर्नेबित्तिकै सडक छेउमै छ, जुत्ता सिलाउने  ठाउँ ।

भुईँमाथि ईंट्टा र ईट्टामाथि पातलो बोरा ओछ्याइएको छ । जेठ असारको घामपानीलाई छेक्न छाता ठड्याइएको छ । जुत्तामा पालिस लगाउने थरीथरीका ब्रस र पालिस लगाउने बट्टाहरु मिलाएर राखिएका छन् । केही सामान झोला भित्रै छन् ।

 टन्टलापुर घामको बेवास्ता गर्दै सडकमा घोत्लिएर जुत्ता सिलाइरहनुभएको छ, २३ वर्षीय समिर राम । 

रौतहट गौरका समिर रामले मलेसियाबाट फर्केर जुत्ता सिलाउनुपर्ला भन्ने सोच्नुभएको थिएन । धेरै कमाउने, बुवाआमालाई सुख दिने र छोराछोरीलाई राम्रो स्कुल पढाउने आशा बोकेर तीन वर्ष अगाडि सन् २०१६ मा मलेसिया जानुभएको थियो । 

म्यानपावरको विश्वास गर्दा मलेसियामा दुःख पाउनुभयो । कमाइको सट्टा उल्टो ऋण बढ्यो । विदेशबाट कमाएर पूरा गर्न साँचेका सपना पनि उतै बिसाएर रित्तो हात फर्किनुभयो । त्यसैले त हिजोआज फेरि अरुका फाटेका जुत्ता सिलाएर आफ्नो फाटेको जीवन पनि बुन्दै हुनुहुन्छ समिर । 

मलेसियामा सास्ती 

घरमा आम्दानीको स्रोत केही थिएन । बिहे भएपछि जिम्मेवारी थपियो । उहाँले भविष्य सोचेरै विदेश जाने निधो गर्नुभएको थियो ।

१ लाख ३५ हजार रुपैयाँ ऋण काढ्नुभयो मलेसिया उड्न । काठमाण्डौको सिनामंगलमा रहेको गुरुङ म्यानपावरले उहाँलाई मलेसियामा हुने काम र कमाइको बारेमा ठूलो सपना देखाएको थियो । 

कम्पनीले सजिलो काममा लगाउँछ भारी काम गर्नुपर्दैन भनेपछि समिरलाई पनि गैहालौं भन्ने भयो । उहाँले म्यानपावरमाथि विश्वास गर्नुभयो । जसो भन्छ उसै मान्नुभयो । स्टील ह्याङ्क कम्पनीमा प्याकिङको कामको लागि जानुभयो । 

मलेसियाबाट फर्किंदा धेरै पैसा लिएर आउने र गाउँमा चिटिक्कको घर लगाउने सपना थियो समिरको । तर सोचेजस्तो कहाँ हुन्छ र सधैं । भनेको काम नपाउँदा पाउनसम्मको दुःख पाउनुभयो समिरले ।

‘उता गएर धेरै दुःख पाइयो, गर्नै नसक्ने काम गर्न लगाउँथ्यो’, आफूले मलेसियामा भोगेको दुःख सुनाउँदै उहाँले भन्नुभयो, ‘एक कम्पनीबाट भागेर अर्को कम्पनीमा गएँ त्यहाँ पनि त्यस्तै पेल्थ्यो ।’ 

समिर म्यानपावरले पठाएअनुसार सुरुमा पिनहाङको स्टील ह्याङ्क कम्पनीमा जानुभएको थियो । नटबोल्ट प्याकिङको काम भनेर गएका समिरलाई उता पुगेपछि कम्पनीले भारी बोक्ने काममा लगाइदियो ।

फलामका ठूलाठूला सामानहरु बोक्नुपथ्र्यो । दुब्ला पातला समिरलाई त्यति गह्रौँ भारी बोक्न गाह्रो थियो, तर पनि साहूको डरले सकिनसकी ज्यान हत्केलामा राखेर काम गर्नुपथ्र्याे । 

‘म त्यतिबेला त झनै दुब्लो थिएँ, त्यसैमाथि ६० र ७० किलोको भारी बोक्न लगाउँथ्यो’ उहाँले  ती दिन सम्झनुभयो ‘बोक्न सक्दैन भन्यो भने उल्टै खाना त यति धेरै खान्छस् नि भनेर गाली गथ्र्यो, बिहान उठ्दा ढाड दुखेर राम्रोसँग उठ्नै सकिंदैनथ्यो ।’

समिरले कतिपटक त आफ्नो अवस्थाबारे म्यानपावरलाई फोनमा जानकारी पनि गराउनुभयो । तर म्यानपावरले समिरलाई ‘अब एक महिना मात्र हो, पछि सजिलो काममा लगाउँछ’ भनिरह्यो ।

उता समिरको अवस्था दिनहुँ, बिग्रिंदै थियो । ज्यानले राम्रोसँग काम गर्न सक्ने अवस्थामा थिएन । म्यानपावरमा गएर कुरा राखिदिुनु भनेर समिरले दिनदिनै बुवाआमालाई फोन गर्नुहुन्थ्यो ।

रौतहटबाट समिरका बुवा आफ्नो छोरालाई राम्रो काममा लगाइदिनुस् भन्नकै लागि दुईपटक काठमाण्डौ आउनुभयो । ‘गरिब मान्छेलाई त त्यति टाढाबाट काठमाण्डौ आउन पनि कति पैसा लाग्छ, कम्पनीले त त्यो पीडा कहाँ बुझ्छ र’, समिरले भन्नुभयो ।

सजिलो काममा लगाउने जस्तो कम्पनीको छाँटकाँट नदेखिपछि समिरलाई त्यहाँ बसिरहन मन लागेन । ‘त्यहाँ बढी बसेपछि आफू बाँचिन्न होला भन्ने लाग्थ्यो’, समिरले भन्नुभयो, ‘त्यसपछि मैले कम्पनीबाट भाग्ने निर्णय गरें ।’ 

कम्पनी छाडेर काम गर्दाको डर

कम्पनीबाट त भाग्ने, तर कसरी ? भाग्न त्यति सजिलो थिएन । समिरका गाउँका एकजना भिनाजु रहेछन् । उनैको सहयोगमा समिर त्यहाँ काम गर्न थालेको दुई महिनापछि भाग्न सफल हुनुभयो । पासपोर्ट त्यही कम्पनीमा थियो, अहिले पनि पासपोर्ट त्यही कम्पनीमै छ ।

समिर त्यहाँबाट भागेर भिनाजुको सहयोगमै एक कुखुरा फार्म ‘लेवण्ड कम्पनी’मा काम गर्न थाल्नुभयो । त्यता कुखुराको आन्द्रा सोहर्नेदेखि सबै काम गर्नुपथ्र्यो ।

दुःखमा हुर्केका समिरलाई ज्यानले धान्ने काम गर्न गाह्रो भने भएन, तर सजिलो पनि थिएन । काम सजिलो भए पनि अवैधानिक रुपमा काम गर्दा डर बढी हुन्थ्यो । कतिबेला पुलिस आएर समात्ने हो भन्ने डरले समिरलाई पिरोल्थ्यो ।

‘मेरो जस्तै भागेर आएका पाँच जनालाई त्यहाँबाट प्रहरीले समातेर लगिसकेको थियो, त्यही भएर मलाई नि डर लाग्थ्यो’, उहाँले भन्नुभयो, ‘झन यसैको फाइदा कम्पनीको मालिकले उठाउँथ्यो ।’

भागेर आएको भनेर कम्पनीको मालिकले पनि मनपरी काम गराउने गरेको दुखेसो पोख्नुभयो समिरले, ‘तँ भागेर त आएको होस्, खुरुक्क भनेको काम गर नत्र पुलिसको हातमा लगाइदिन्छु भनेर काममा पेल्थ्यो ।’

आठ घण्टा काम गरेको ९ सय  रिंगिट दिने भनेर काममा लगाएको भए पनि समिरले सर्धैँ १२ र १४ घण्टा काम गर्नुपथ्र्यो, त्यो पनि तलब चाहिँ ७ सय देखि ८ सय रिंगिट मात्र आउँथ्यो महिना मर्दा । त्यही रकम पनि बचाएर समिरले बेलाबेला घरमा पैसा पठाउनुहुन्थ्यो ।

धेरै कमाएर घरमा पैसा पठाउने समिरको रहर बिस्तारै मर्दै थियो । साथमा पासपोर्ट थिएन । यसरी अवैधानिक रुपमा काम गर्नुपर्दा समिरलाई छटपटी भइरहन्थ्यो ।

त्यसैमाथि आफूजस्तै साथीहरुलाई प्रहरीले समातेर जेल हालेको सुन्दा आफ्नो हालत पनि त्यस्तै हुने चिन्ताले सताउँथ्यो समिरलाई । त्यसपछि त्यो काम पनि छाडेर नेपाल फर्किने सोच्नुभयो ।

‘एकजना नेपाली दाइले मलाई घर जाउ भाइ यहाँ बस्यो भने प्रहरीले थाहा पाएर तिमीलाई पनि जेल हाल्छन् भनेर सम्झाउनुभयो, मलाई पनि त्यसरी काम गर्न डर लागिरहेको थियो अनि मैले त्यो काम पनि छाडेँ’, समिरले भन्नुभयो ।

कुखुरा फार्ममा काम गरेको १२ महिना पुगेपछि समिरले त्यो कम्पनी छाड्नुभयो । यतिसम्म त कुखुरा फर्ममै बस्नुहुन्थ्यो । काम छाडेपछि अब कता बस्ने भन्ने चिन्ता भयो ।

त्यसपछि समिर केही दिन त्यहीँका एक जना तमिलको घरमा बस्नुभयो । तर सित्तैमा होइन, चार दिनको २०० रिंगिट तिरेर । ‘कसैले मेरो कोठामा बस पनि भनेनन्’, उहाँले आफूले भोगेको पीडा पोख्नुभयो, ‘दुःखमा आफ्ना पनि पराइ हुँदा रहेछन् ।’

घर परिवार र चिनजानका एकजना दाइको सल्लाहमा समिरले मलेसियामा रहेको नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाउनुभयो । ९० हजार रुपैयाँमा घर फर्किने टिकट काट्नुभयो । १४ महिनाको सकसपूर्ण बसाईलाई बीट मार्दै त्यही तीस हजार खल्तीमा बोकेर समिर मलेसियाबाट फर्किनुभयो ।

नेपाल फर्केर पनि सुख भएन 

नेपालीहरु धेरै ठूला आकांक्षा बोकेर होइन ससाना  समस्या समाधान गर्ने सपना बोकेर खाडी पस्छन् । तर त्यताबाट फर्किंदा विदेश जानेबेला काढेको ऋण पनि तिर्न नसक्दा विदेश जानुको अर्थ नै के रहन्छ र ?

नेपाल फर्किंदा आफूलाई सुरक्षित महशुस भए पनि  साहुको ऋणले राति निद्रा पर्दैनथ्यो । केही गरुँ भन्दा लगानी गर्नको लागि हातमा पैसा पनि छैन । त्यसपछि समिरले आफ्ना बाउबाजेको पुख्र्यौली पेसा गर्ने सोच्नुभयो । गाउँमै बसेर जुत्ता सिलाउन थाल्नुभयो ।

गाउँमा खासै राम्रो कमाइ नभएपछि उहाँ काठमाण्डौ आउनुभयो । तर यहाँ आएर पनि उहाँलाई काम गरेर खान धौधौ भयो । 

‘मलाई चार ठाउँबाट त प्रहरीले बस्नै नदिएर उठायो, त्यसपछि म यो ठाउँमा आएर बस्न थालेको हो’ उहाँले भन्नुभयो, ‘यो चोकमा आएर बस्न थालेपछि भने प्रहरीले हटाएको छैन, एक वर्ष भइसक्यो ।’

१४ महिना मलेसियामा काम गर्दा उहाँले बीचमा एक पटक एक लाख ४० हजार रुपैयाँ घर पठाउनुभएको थियो । तर त्यो पैसा घरखर्च चलाउन र थोरै ब्याज र केही ऋण तिर्नमै ठिक्क भयो । बाँकी ऋणको ब्याज बढ्दै गयो । त्यो ऋण उहाँले नेपालमै फर्केर जुत्ता सिलाएर तिर्नुभयो ।

एकदिन यहाँबाट पनि प्रहरीले हटाउँछ भन्ने डर समिरलाई लागिरहन्छ । 

‘यताको पनि केही भर छैन, कुन दिन नबस भनेर भन्ने हो’, विदेशमा हण्डर खाएर आएका समिर नेपालमा पनि काम गर्न साह्रै दुःख भएको गुनासो गर्नुहुन्छ, ‘आफ्नै देशमा त गरीखान सजिलो छैन झन विदेशमा कहाँ सजिलो हुन्छ ?’

अहिले समिर बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म यही ठाउँमा जुत्ता सिलाउने काम गर्नुहुन्छ । सँगसँगै झोलाको चेन र बिग्रेका छाता पनि बनाउनुहुन्छ । यसरी काम गर्दा दिनमा कम्तीमा दुई सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । 

‘महिनामा १८ र २० हजार जति कमाइ हुन्छ, श्रीमती र बुवाले पनि केही कमाउनुहुन्छ यसैमा परिवार चलेको छ’, उहाँले सन्तुष्ट हुँदै भन्नुभयो, ‘बुवाले पनि बखुण्डोलमै जुत्ता सिलाउनुहुन्छ भने श्रीमतीले चटपट बेच्नुहुन्छ ।’

समिर बुवाआमा, श्रीमती र छोराछोरीसँगै ललितपुरको बखुण्डोलमा कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । मलेसिया जानेबेला जन्मेको छोरा अहिले एक कक्षामा पढ्ने भइसकेको छ । अर्की छोरी भर्खर तीन महिनाकी भइन् । भन्नुहुन्छ, ‘आफू त पाँच कक्षा मात्रै पढ्न सकें, त्यसैले छोराछोरीलाई धेरै पढाउन मन छ ।’
 

अन्तिम अपडेट: भदौ ३१, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया