उत्तर कोरियाली भूमिमा पाइला टेक्दा कोरियाली नागरिकका आँखा रसाए : ट्रम्प

 असार १६, २०७६ सोमबार १४:२४:२५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उत्तर कोरियामा पाइला टेक्दा कोरियाली नागरिकका आखाँ आँसुले भरिएको बताएका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटपछि ओसान एअर बेसमा अमेरिकी सैनिकसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘मैले उत्तर कोरियाली भूमिमा पाइला टेकेँ, उनीहरु यसलाई ऐतिहासिक क्षण मान्दछन् । थुप्रै कोरियाली नागरिकको आँखा आँसुले भरिएको मैले देखेँ ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई ह्वाइट हाउसमा आउन निमन्त्रणा गर्ने योजनामा रहेको सञ्चार माध्यमले जनाएका छन् । 

उत्तर कोरिया र दक्षिण कोरियाको गैरसैन्य क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले संक्षिप्त भेट गरेका हुन् । योसँग डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । ट्रम्प किमसँग भेटेसँगै आइतबार अमेरिका फर्किएका छन् ।

जी–२० शिखर सम्मेलनका लागि जापानको ओसाका आएका ट्रम्पले अचानक उत्तर कोरियाली नेता किमलाई भेटेपछि विश्वका सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रसारण गरेका छन् । तर अमेरिकी सञ्चार माध्यममा भने मिश्रित खालका प्रतिक्रिया आइरहेका छन् ।

अमेरिकी अखबार ‘न्यूयोर्क टाइम्स’ले ट्रम्प–किम भेटवार्तालाई ‘ठूलो नाटक’ को संज्ञा दिएको छ । डोनाल्ड ट्रम्प र किम जोङ उनबीच यसअघि पनि दुई पटक भेटवार्ता भैसकेको छ । पहिलो पटक उनीहरु गएको वर्ष जुन १२ मा सिंगापुरमा भेटेका थिए । दोस्रो पटकको भेट भने यसै वर्षको फेब्रुअरी २७ मा भियतनामको हनोईमा भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया