हतारले कतार, करले कुवेत पुगेका खिमराजको अठोट - अब बिर्सेर पनि विदेश जान्नँ

 असार २०, २०७६ शुक्रबार ९:३५:२६ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – गाउँमा आफ्नै व्यवसाय थियो । फ्रेण्डसिप रेस्टुरेण्ट एण्ड लज भनेपछि त्यो ठाउँमा नचिन्ने कोही थिएन । कमाइ राम्रै थियो । कमाइ मात्र होइन, पढाइ पनि उस्तै राम्रो । 

अंग्रेजी विषय लिएर आईए पास गरेको मान्छे । मन भएको भए गाउँकै विद्यालयमा पढाउन पाइन्थ्यो । तर नवलपरासी कावासोती १६ का खिमराज गिरीलाई न रेस्टुरेण्ट चलाइरहन मन लाग्यो न त स्कुल गएर पढाउन नै । 

गाउँघरमा विदेश जाने लहर नै चलेको थियो । २२ वर्षीय खिमराजलाई पनि त्यही लहरले तान्यो । पढाइलाई बिट मार्दै, भएको रेस्टुरेण्ट समेत बेचेर उहाँ २०६७ सालमा कतार उड्नुभयो ।

खिमराजका आफ्नै दाइ कतारमा हुनुहुन्थ्यो । त्यसैले जान सजिलो भयो । कतार जाँदा म्यानपावरलाई २० हजार रुपैयाँ बुझाउनुभएको थियो । 

‘छोरामान्छेले एक दिन प्लेन चढ्नैपर्छ भन्ने भूत चढेको थियो’, पुराना दिन सम्झँदै उहाँले हाँस्दै भन्नुभयो, ‘त्यही भूतले मलाई कतार पुर्याएरै छाड्यो ।’ खिमराज ‘फुड डिभिजन’को मार्केटिङमा कतार जानुभएको थियो । म्यानपारसँग भएको सम्झौताअनुसार नै उहाँलाई काम मिल्यो ।

बजारमा ‘फुड डिस्प्ले’ गर्नुपथ्र्यो । कमाइ पनि ठिकै थियो । कतारी रियाल २२ सय । त्यसमा बोनस पनि थपिन्थ्यो । त्यही ठाउँमा उहाँले दुई वर्ष काम गर्नुभयो । दुई वर्षमा १२ लाख रुपैयाँ कमाउनुभयो ।

‘कतारमा कमाइ नराम्रो थिएन’, उहाँले सन्तुष्टिको भावमा भन्नुभयो, ‘त्यहीँको कमाइले घर खर्च चल्यो, मोटरसाइकल किनें । बिहे पनि गरें ।’ मनै त हो । चञ्चल मनसँग कसको के लाग्छ र ? कतार बसाइमा खिमराजको दिमागबाट बिस्तारै वैदेशिक रोजगारीको ‘भूत’ घट्दै गयो । पैसाको लोभभन्दा देश र घरपरिवारको मायाले पिरोल्न थाल्यो । 

घरमा एक्ली बुढी आमा र दिदी हुनुहुन्छ । बुवा हुनुहुन्न । विदेश हुँदा खिमराजलाई बुवाको याद आउँथ्यो, घरको मायाले सताउँथ्यो । घरमा बुढी आमा र दिदीलाई एक्लै छाडेर परदेशमा धेरै बस्न खिमराजको मनले मान्दै मानेन । फेरि नेपाल फर्किन रहर लाग्यो । लगातार दुई वर्ष कतारमा बसेर वि.सं. २०६९ सालमा उहाँ नेपाल फर्किनुभयो ।

नेपाल आएपछि बिहे गर्नुभयो । पहिलेदेखि नै मोटरसाइकल किन्ने सपना थियो । त्यो सपना पनि पूरा भयो । अब फर्केर विदेश नजाने भनेर खिमराजले कान समातिसक्नुभएको थियो । 

गाउँमा ४/५ महिना त्यत्तिकै बिते । नयाँ काम खोज्नुभएको थिएन । आफ्नै व्यवसाय गर्न पैसा पनि बचेको थिएन । ‘बिहे गर्नेदेखि बाइक किन्दासम्म पैसा पनि लगभग सकिसकेको थियो, लगानी गर्नको लागि पूँजी पनि थिएन, त्यही भएर व्यवसाय गर्ने आँटै भएन’, उहाँले एकोहोरो भनिरहनुभयो, ‘त्यसपछि काम खोज्नतिर लागेँ, आर के कन्स्ट्रक्सन कावासोतीमा काम मिल्यो ।’

खिमराजले आरके कन्स्ट्रक्सनमा सुपरभाइजरको काम गर्न थाल्नुभयो । कमाइ महिनाको २५ हजार जति हुन्थ्यो । जसोतसो घरखर्च चलिरहेको थियो । 

आमा बाथको बिरामी । त्यसैबीचमा छोरीको जन्म भयो । घरमा कमाउने अरु कोही थिएनन् । आयआर्जनको अन्य स्रोत पनि थिएन । छोरी हुर्किंदै गरेको देखेर खिमराजको दिमागमा नयाँ सपना पनि हुर्किन थाले । छोरीलाई धेरै पढाउने,  आमाको उपचार गर्ने । 

तर नेपालको कमाइले खान र बस्नै ठिक्क भएकाले उहाँलाई फेरि विदेश जानैपर्छ जस्तो लाग्यो । विदेश नजाने भनेर समातेको कान मुसार्दै निर्णय गर्नुभयो, ‘फेरि एकपटक विदेश जानैपर्छ ।’ 

खिमराजले कुवेत जाने सोच्नुभयो । आफू मोटरसाइकल चालक भएको र त्यसैमाथि कुवेतमा 'डेलिभरी ब्वाइ'को काम पाइने भनेपछि खिमराज उत्साहित हुनुभयो । तीन वर्षदेखि आरके कन्स्ट्रक्सनमा गर्दै आएको काम छाडेर वि.सं. २०७२ सालमा उहाँ कुवेत हानिनुभयो ।

तर यो पटक उहाँमा ‘छोरा मान्छेले एकपटक विदेश जानैपर्छ’ भन्ने 'भूत' थिएन । बाध्यताको 'भूत'ले खाडीतिर धकेलेको थियो ।

कुवेतमा दु:ख

कुवेतको कम्पनीबाटै मानिस आएका थिए । अन्तर्वातामा पास भएपछि खिमराज त्यहाँ जानको लागि तयार हुनुभयो । होम डेलिभरीको लागि बाइक राइडरको रुपमा जानुपर्ने । 

‘अल होमाइजी’ कम्पनीले खिमराजसँगै १९ जना नेपाली कामदारलाई लगेको थियो । त्यहाँ गएर उनीहरु कसैले पनि एक महिनासम्म काम गर्नुपरेन । ‘एक महिना त हामीलाई खान बस्न दिएर त्यत्तिकै सुताएर राख्यो’, उहाँले भन्नुभयो, ‘हामीले कामै नगरेर एक महिनाको तलब पायौँ ।’ 

जुन कम्पनीको लागि भनेर उहाँहरु जानुभएको थियो, त्यो कम्पनीले अकामाना (परिचयपत्र) नभएसम्म कसैलाई काममा राख्न मानेन । 'हेल्थ सर्टिफिकेट' र अकामाना तयार भएपछि १९ जनालाई नै काममा लगाइयो । तर डेलिभरीको होइन, किचेन हेल्परको काममा ।

एक महिना किचेनको काम गरेपछि डेलिभरीको काममा लगाउने भनेको थियो । ‘अर्को महिना’ भन्दा भन्दै वर्ष बित्न लाग्यो तर डेलिभरीको काममा लगाएन । ८ भण्टा भने पनि १० घण्टा भन्दा बढी काममा लगाउने गर्थ्याे कम्पनीले । 

किचेनभित्र एसीको चिसोमा उभिएर लामो समयसम्म काम गर्दा स्वास्थ्यमा समस्या देखिन थाल्यो ।

‘ढाड दुख्न लागिसकेको थियो, यति पीडा हुन्थ्यो कि रुन मन लाग्थ्यो’, उहाँले भन्नुभयो, ‘त्यसपछि त म सहनै नसक्ने भएँ, तर उपचार गराउनको लागि कम्पनीले लामो बिदा पनि दिंदैनथ्यो, एक दिनको मात्र बिदा पाइन्थ्यो ।’

लामो बिदा पाउन विभिन्न बहाना गरे पनि नभएपछि उहाँले श्रीमतीको अप्रेशन छ भनेर ढाँट्नुभयो ।

‘घरमा श्रीमतीको अप्रेशन गर्नुपर्ने भएकालेनेपाल जानुपर्ने भयो भनेपछि बल्ल कम्पनीले बिदा दियो’ ती कष्टपूर्ण दिन सम्झिदै उहाँले भन्नुभयो, ‘त्यसपछि मैले फर्केर फेरि कहिल्यै विदेश नआउने भनेर अर्कोपटक कान समातेँ ।’

खिमराजले त करार सम्झौता रद्द गरेर नेपाल फर्किनेसम्म सोच्नुभएको थियो । तर श्रीमतीको अप्रेशनको बहानाले काम भएपछि सम्झौता रद्द गर्नु परेन ।

‘१७ दिनको छुट्टीमा नेपाल आएँ, तर फर्केर नजाने गरी’, उहाँले भन्नुभयो, ‘सम्झौता रद्द गरेको भए दुई महिनाको तलब कम्पनीले रोकिदिन्थ्यो, त्यही भएर बहाना बनाएँ ।’
४० हजार तिरेर कुवेत जानुभएका खिमराज एक वर्ष बसेर पनि खाली हात फर्किनुभयो । तर त्यतिबेलासम्म पटक पटक गरी दुई लाख रुपैयाँ जति घर पठाइसक्नुभएको थियो ।
‘फर्केर आउँदा खाली हात आउनुपरे पनि महिनाको १८, २० हजार जति घर पठाइरहन्थेँ’ उहाँले भन्नुभयो ।

अहिले गाउँमै व्यवसाय 

पटक पटक गरी दुई देशमा तीन वर्ष बिताएपछि खिमराज आफ्नै बारीमा रमाउन थाल्नुभएको छ । उहाँलाई विदेशका कम्पनीमा काम गर्नभन्दा बारीको झार उखेल्नमै अचेल रमाइलो लाग्छ ।

१२ कठ्ठा जग्गामा केरा खेती गर्नुभएको छ, खिमराजले । केरा खेतीले उत्पादन दिन थालिसकेको छ । सँगसँगै कुखुरा पालन पनि गर्नुभएको छ । सबैभन्दा खुशीको कुरा त घर परिवारसँगै बस्न पाउनुभएको छ ।

‘सबैभन्दा ठूलो कुरा सन्तुष्टी रहेछ, घरपरिवारसँगै रहेर बारीमा काम गर्नुको मज्जा परदेशी भएर अर्काको नोकरी गर्नमा आउँदैन रहेछ’, लामो सास ताँदै खिमराजले भन्नुभयो ।

कृषि विकास बैंकबाट तीस लाख रुपैयाँ ऋण लिएर खिमराजले कुखुरापालन र केरा खेती थाल्नुभएको हो । काम भर्खरै थालेकोले अहिलेको कमाइले ब्याज तिर्न र घरखर्च चलाउन ठिक्क भएको र बिस्तारै उत्पादन बढेपछि सबै ऋण चुक्ता गरेर व्यवसाय विस्तार गर्ने उहाँले बताउनुभयो ।

अहिले खिमराजकी छोरी हुर्केर सात वर्षकी भइन् । सात महिनाको छोरा पनि छ । घरमा आमा, दिदी र श्रीमती छन् । दाइभाउजू अमेरिकामा बस्छन् । घरका सबै सदस्य काममा खटिन्छन् ।

‘कहिलेकाहीँ मात्रै ज्याला दिएर बाहिरबाट कामदार लगाउनुपर्छ’, खिमराजले भन्नुभयो, ‘व्यवसायलाई बढाउने सोच छ, व्यवसाय बढेसँगै कामदार थप्नुपर्ला ।’

खिमराज अहिले आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ । कहिलेकाहीँ वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई र गएर दुःख पाएकाहरुलाई सुझाव दिने र सहयोग गर्ने गर्नुहुन्छ । 

पिपुल फोरमले दिएको तालिम लिएपछि उहाँ यसमा पनि सक्रिय हुनुहुन्छ । अरुलाई वैदेशिक रोजगारीमा जान सल्लाह दिए पनि आफू भने अब कहिल्यै विदेश नजाने उहाँको सोच छ ।

भन्नुहुन्छ, ‘घर परिवारसँगै रहेर आफ्नै व्यवसाय गर्न जति रमाइलो विदेशमा नहुँदोरहेछ, अब त म बिर्सेर पनि विदेश जान्नँ ।’ 


 

अन्तिम अपडेट: असोज १०, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • Prince

    July 6, 2019, 6:18 a.m.

    ल बधाई छ दाजु। आखिर साेचेकाे कुरा पूरा गरेरै छाड्नु भयाे धेरै खुसि लागेकाे साथै अझ उत्तर उत्तर प्रगतिकाे कामना। तपाईकाे याे कार्यले हामिलाई नि उत्साहित बनाएकाे छ पक्कै पनि चाँडै फर्केर आफै देशमा गरेर देखाउने उत्साहा अझ बढेकाे छ। धेरै धेरै सम्झना दाजू Prince Kattel KUWAIT

  •  0 Reply

तपाईको प्रतिक्रिया