बंगलादेशी टिमका लागि बाेझ बनेकै हुन् त कप्तान माेर्तजा ?

 असार २१, २०७६ शनिबार ९:४०:१ | एजेन्सी
unn.prixa.net

१८ वर्षसम्म क्रिकेट खेलिसकेका एक व्यक्तिले के गर्छन् ? तपाईसँग सहज उत्तर हुनसक्छ, कमेन्ट्री, प्रशिक्षक या क्रिकेटकै कुनै प्रशासनिक काममा सक्रिय । तर बंगलादेश क्रिकेट टिमका कप्तान मशरफे मोर्तजा माथि उल्लेख गरिएका कुनै भूमिकामा छैनन् ।

उनी अहिले पनि बंगलादेश क्रिकेट टिमको कप्तान हुन् । साथै सत्तारुढ दल अवामी लिगका सांसद पनि । सांसदको भूमिकामा रहेका उनी अहिले पनि क्रिकेटको मैदानमा बल र ब्याटका पछि दौडिरहेका छन् । जारी विश्वकपमा उनको न बल चल्यो न ब्याट नै । उनको प्रदर्शनबाट बंगाली समर्थकरु भने पक्कै निराश भएका छन् । सेमिफाइनल रेसबाट आउट हुँदै प्रतियोगिता टुंग्याएको बंगलादेशका कप्तान मोर्तजाले जम्मा ३४ रन बनाए भने १ विकेट लिएर विश्वकपबाट बिदा पनि भए ।

कप्तानको भूमिका

बंगलादेश क्रिकेटमा मोर्तजा एक सफल बलर पनि मानिन्थे । उनले आफ्नो १० ओभरको स्पेलमा कम्तिमा ४०–६० रन खर्चिएर २–३ विकेट लिने क्षमता राख्थे । तर आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करणमा कप्तानको रुपमा मैदान उत्रदा उनको प्रदर्शन यति खस्कियो की समर्थकहरु पनि पुरै निराश बने ।

कप्तानको रुपमा १०० विकेट पूरा गर्न अझै उनी २ विकेटले टाढा छन् । यो नाम अहिलेसम्म शन पोलक र बकार युनुसको नाममा मात्रै रहेको छ । बंगलादेशबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा मोर्तजा पर्छन् । उनले समग्रमा २६५ विकेट लिएका छन् । दोस्रो स्थानमा शकिब अल हसन छन् उनले २६० विकेट लिएका छन् ।

प्रदर्शनको अवस्था
मोर्तजाको पछिल्लो प्रदर्शन निकै खस्किएको छ । उनको बलिङ औसत ३२ थियो भने विश्वकपमा ५३ पुगेको छ । यो विश्वकपमा ८ खेलमा उनले जम्मा एक विकेट लिएर सबैलाई निराश बनाए । अधिकांश खेलमा उनले आफ्नो १० ओभरको स्पेल नै पूरा गर्न सकेनन् ।

उनले हरेक ओभरमा ६.५ देखि ७.५ को औसतमा रन खर्चिएका थिए भने कति बेला त ८ नै पुग्ने गरेको थियो । यसैले त बंगालीहरु भन्दै छन् मोर्तजा कसरी कप्तान बने जो आफैमा टिमका लागि बोझ छन् ।

राजनीतिको पिचमा

क्रिकेट खेल्दा खेल्दै राजनीतिमा लाग्दा पनि समर्थकहरुले मोर्तजाको आलोचना नगरेका होइनन् । राजनीतिमा लागेपछि उनको क्रिकेट करियर कमजोर बनेको उनका आलोचकहरुको दाबी पनि छ । जसलाई यो विश्वकपले पुष्टि पनि गरिदियो । त्यसैले उनीहरुको एक मात्र भनाइ थियो मोर्तजाको ठाउँमा अरु कुनै भरोसा गर्न योग्य खेलाडीलाई राखिएको भए टिमको प्रदर्शन अझै राम्रो हुने थियो कि ?

-बीबीसीबाट 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया