मार्क्सवाद पढाउने कांग्रेस नेता !

 असार २३, २०७५ शनिबार १७:२५:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – प्रदेश ५ मा शुक्रबार र शनिबार कार्ल मार्क्सको दुई सय वर्षको वार्षिकोत्सवको अवसरमा अगुवा नेता कार्यकर्ताको भेला भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सहभागी भएको त्यो आयोजनामा नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई पनि आमन्त्रण गरिएको थियो । गिरिलाई आमन्त्रण गरिएको भन्दै नेकपाका केही नेता कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।

तर शुक्रबार साँझ नेता गिरिले मार्क्सवादलाई सजिलै गरी बुझ्ने शैलीमा एक घण्टाको प्रस्तुती दिएपछि कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरु उत्साहित भएर फर्केका छन् । कार्यक्रममा सहभागी जिल्ला स्तरीय नेताहरुले कम्युनिष्ट पार्टीका नेताभन्दा कांग्रेस नेता गिरिले माक्र्सवादका बारेमा धेरै बुझेको पाएको टिप्पणी गरे । 

प्रशिक्षणका क्रममा नेता गिरिले पटक–पटक वामपन्थी कार्यकर्ताको ताली पाउनुभएको थियो । ‘मार्क्सवाद आजसम्म अकाट्य छ’, प्रशिक्षणका क्रममा नेता गिरिले भन्नुभयो, ‘यसको व्याख्या फरक–फरक हुन सक्छ, विचार बुझ्न यो पार्टी र त्यो पार्टी भन्नु हुँदैन्, कम्युनिष्ट र काङ्ग्रेसबीच सार्थक संवाद हुन सकेमा त्यसले विश्वलाई तरङ्गित बनाउन सक्छ ।’

नेता गिरिले कम्युनिष्ट नेता कार्यकर्ता सहभागी फोरममा आफू सहभागी हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा समारोह समितिका प्रदेश संयोजक ठाकुर गैरेले कार्यक्रममा प्रदीप गिरिलाई आमन्त्रण गरिँदा केही नेता कार्यकर्ताले असन्तुष्टि जनाएको भए पनि प्रस्तुतीबाट सबैजना प्रसन्न भएको बताउनुभयो । 

ज्ञान र विचार जोसँग पनि सिक्नुपर्छ भन्ने मान्यता सफल भएको उहाँको भनाई छ । प्रदेश नम्बर ५ ले  आयोजना गरेको त्यो गोष्ठीमा प्रदेश नम्बर ५ का १२ जिल्लाबाट नेकपा, राष्ट्रिय जनमोर्चाका गरी एकहजार दुई सयभन्दा बढी अगुवा नेता कार्यकर्ता सहभागी थिए  ।

प्रशिक्षणको पहिलो दिन नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह र नेपाली कांग्रेसका नेता प्रदीप गिरिले प्रशिक्षण दिनुभएकोमा दोश्रो दिन शनिबार नेकपाका नेता घनश्याम भुषाल, राम कार्की, डा. विजय पौडेल र गणेश शाहले प्रशिक्षण दिनुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया