जन्मदिनमा ‘सुनको पिंजडा’

 असार २२, २०७६ आइतबार ९:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – जन्मदिन मनाउँदा घरमा आफन्त बोलाउने र भोज खाने चलन पनि छ । तर धादिङकी सृजना अर्याल अधिकारीले भने आफ्नो जन्मदिनमा कविता संग्रहको जन्म दिनुभएको छ । 

म नेपाल आमा खुसी देख्न पाऊँ
सबै देसबासी सुखी देख्न पाऊँ 
ल साथीहरु हो ! कुनै मार्ग खोज
कहाँ के गरुँ ? त्यो मलाइ नसोध ।

जिल्लामा रहेका अगुवा साहित्यकार तथा काठमाण्डौलाई कार्यथलो बनाएका साहित्यकारहरुको जमघट पारेर आफ्नो जन्मदिनको अवसरमा  प्रगतिशील साहित्यकार तथा कवयित्री अर्यालको ‘सुनको पिंजडा’ नामक पुस्तक बिमोचन गरिएको छ । 

बोक्दै पीडा छटपट गरी बाँच्नुपर्दैछ मैले 
पुछ्दै आँखा मनमन रुँदै हाँस्नुपर्दैछ मैले
के बिर्सूँ खै सबतिर उहि सम्झना सल्बलायो 
मात्रै तिम्रो हर तरहको याद बल्झेर आयो 

मानवता र मानवतावाद, जन्मभूमी र देशको महिमा गान, राष्ट्रवाद, समाजका विभेदहरुको चिरफार, प्रगतिशील सन्देश, महिलामाथि हुने विभेद र समानताका लागि आवाजहरु कवितामा समेटिएका छन् ।

ल्यायौँ जंगलबाट अजाज यसरी पासो लगाईकन
राख्यौ भित्र अमूल्य स्वर्ण पिंजडा साँचो लगाईकन
ख्वायौ अन्न र भोजनादि कति हुन् नाना र चाचा कति 
सारा कर्म गर्यौ म स्वर्णपिंजडा भित्रै रमाउँ भनी । 

प्राध्यापक राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको पुस्तक विमोचन समारोहमा ५४ कविता समेटिएको सुनको पिंजडा विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार नरनाथ लुईंटेल, प्राध्यापक डा. रामचन्द्र लम्साल, लिलानाथ पौडेल, रामहरि लम्साल, होम सुवेदी, कोषराज न्यौपाने लगायतले पछिल्लो पुस्तामा छन्द कवितामा बेजोड प्रस्तुति गर्न सक्ने क्षमता भएकी भन्दै कवयित्री अर्याललाई शुभकामना दिनुभएको थियो । 

चिसा रात गरीबका घर कठै छानो चुहेको पल
न्यायो छैन कतै र छैन डसना तातो लुगा कम्बल
कक्र्यो ज्यान असाध्य लाग्छ ठिहिरो झैँ दन्त कट्काउने 
काँप्छन् हात र ओठ थर्थर गरी जाडो नआए हुने ।

 
२०७२ को भूकम्पपछि देश प्रेम, साँस्कृतिक रुपान्तरण, दुःख, पीडा समेटिएका सबै कविताहरु ११ किसिमका छन्दमा लेखिएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया