लमजुङमा कृषि तथा पशु हाटबजार सञ्चालन

 असार २३, २०७५ शनिबार १८:४३:७ | श्यामशितल परियार

लमजुङ – घरगाउँमै उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य नपाउँदा सुन्दरबजार–२, परेवाडाँडाकी किसान सुस्मिता खड्काको मन भतभती पोल्छ ।

श्रीमानसहित परिवारका अन्य सदस्यको साथमा परेवाडाँडामै बस्दै आउनुभएकी खड्काले डेढ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अहिले उहाँको बारीमा खुर्सानी, लौका, गोलभेँडा बेच्नका लागि ठीक्क भएका छन् ।

 

विगतमा आफूले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार नपाउँदा उहाँलाई ‘खिन्न’ महसुस हुन्थ्यो । उहाँ तरकारी बिक्रीका लागि परेवाडाँडादेखी नजिकैको खत्रीठाँटीसम्म आउनुहुन्थ्यो । बिडम्बना तरकारीले बजार पाउँथेन । उपयुक्त मूल्यको त के कुरा गर्नु, कृषि उत्पादन नै बिक्री हुँदैन थियो ।

अहिले नजिकैको खत्रीठाँटी बजारमा कृषि तथा पशु हाटबजार सञ्चालनमा आएपछि आफूजस्तै धेरै किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार र उचित मूल्य पाउनेमा सुस्मिता ढुक्क हुनुहुन्छ ।

‘गाउँघरमा तरकारी उत्पादन गरिन्छ । बजारमा ल्याउँदा उचित मूल्य पाइँदैन । कहिले त तरकारी बजारसम्म ल्याउन पनि सकिँदैन । त्यसैले दुःख गरी फलाएको तरकारी त्यसै खेर जान्थ्यो,’ उहाँले भन्नुभयो, ‘अब नजिकै खत्रीठाँटीमा कृषि तथा पशु हाटबजार सञ्चालन भएको छ । हामीजस्ता किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनले बजार र उचित मूल्यमा पाउनेमा आशावादी छौँ । उत्पादित उपज बिक्री गरी हामीले हाम्रो आम्दानी बढाउने सक्नेछौँ भन्नेमा पनि आशावादी छौँ ।’

प्रत्येक साताको शुक्रबार हाटबजार  

शुक्रबार जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले हाटबजारको उद्घाटन गर्नुभएको हो । हाटबजार सञ्चालनका लागि सुन्दरबजार नगरपालिकाले ७ स्टलसहितको एउटा ट्रष्ट पनि निर्माण गरिदिएको छ ।

 

ट्रष्ट निर्माण समितिका अध्यक्ष चित्रबहादुर केसीका अनुसार सुन्दरबजार नगरपालिकाको २ लाख ८० हजार, स्थानीयको जनश्रमदानबाट २८ हजार र थप २५ हजार गरी कुल ३ लाख ३३ हजार रुपैयाँमा हाटबजार सञ्चालनका लागि ट्रष्ट निर्माण गरिएको हो ।

सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीमा अबदेखी प्रत्येक साताको शुक्रबार कृषि तथा पशु हाटबजार सञ्चालन हुनेछ । किसानहरुले आफूले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादन हाटबजारसम्म ल्याएर बिक्री गर्न सक्नेछन् । आम्दानी बढाउने सक्नेछन् । 

स्थानीय उत्पादनको बजारीकरणका लागि हाटबजार

सुन्दरबजार नगरपालिकाभित्र कुनै पनि हाटबजार नभएका कारण स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनले बजार पाएन । ‘स्थानीय उत्पादनको बजारीकरण गर्ने हेतुले नै खत्रीठाँटीमा हाटबजार सञ्चालनमा ल्याईएको हो,’ हाटबजार व्यवस्थापन समितिका अध्यक्ष मानसिंह गुरुङले भन्नुभयो । हाटबजार सञ्चालनमा आउने भएसंगै स्थानीय व्यावसायिक किसानहरु हर्षित भएका छन् । 

‘कृषि तथा पशुजन्य उत्पादनले बजार नपाउँदा समस्या थियो । उत्पादित उपज कहाँ लगेर बेचौँ ? भन्ने चिन्ता थियो । अब नजिकै हाटबजार सञ्चालनमा आएको छ । आफ्नो कृषि तथा पशुजन्य उत्पादन बिक्रीका लागि अब भौतारिनु पर्दैन भन्ने हामीले विश्वास लिएका छौँ । किसानको हितलाई ध्यानमा राखी हाटबजार सञ्चालन गरिएको छ । यसमा हामी खुशी छौँ,’ व्यावसायिक रुपमा पराजुली बाख्रा फर्म सञ्चालन गर्दै आएका सुन्दरबजार नगरपालिका–६, का बाख्रापालक किसान कुलबहादुर पराजुलीले भन्नुभयो ।

हाटबजार सञ्चालनका लागि सुआहारा लमजुङले ५० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको छ । सुआहारा लमजुङका संयोजक श्रीकृष्ण पौडेलका अनुसार हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सुआहाराले टेबल तराजु ५ थान, क्रेट २० थान, त्रिपाल ५ थान र कुर्सी ७ थान उपलब्ध गराएको छ । 

सुन्दरबजारमा यसअघि पनि हाटबजार सञ्चालन गरिएको थियो । तर हाटबजारले निरन्तरता पाउन सकेन । बीचैमा हाटबजार बन्द भयो । खत्रीठाँटीमा सञ्चालित हाटबजारलाई भने निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।    
 

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया