मोस्ट वान्टेड ‘बादशाह’लाई प्रहरीले गर्‍यो सार्वजनिक

 असार २२, २०७६ आइतबार १३:५५:४७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सुची (मोस्ट वाण्टेड) मा रहेका मायादेवी गाउँपालिकाको पिपराका बादशाह भनेर चिनिने नसिम अहमद मुसलमान (जाबेद बादशाह) लाई पत्रकार सम्मेलन मार्फत आइतबार तौलिहवामा सार्वजनिक गरिएको छ ।

कपिलवस्तु प्रहरीको समन्वयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको एक टोलीले काठमाण्डौबाट पक्राउ गरेको बादशाहलाई शनिबार राति नै कपिलवस्तु ल्याइएको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताउनु भयो । 

पक्राउ परेका बादशाहमाथि २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका– ३ का धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ फागुन ६ गते मोतिपुर १ का भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या गरेको, २०६४ चैत ९ गते हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको, २०६५ भदौ २० गते कपिलवस्तु नगरपालिका १० का पारसनाथ कोहारको श्रीमती अकला कोहारको हत्या गरेको, २०६५ कार्तिक ९ गते तत्कालीन पिपरा गाविस सचिव राम मिलनप्रसाद गुप्ताको गोली हानी हत्या गरेको, २०६७ वैशाख १३ गते पकडी ६ का राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको मुद्धा दर्तामा रहेको छ । 

यसैगरी पछिल्लो पटक २०७४ साल वैशाख १३ गते मायादेवी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष फतेह मोहम्मदको छोरा ४ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको र २०६४ वैशाख १७ गते कपिलवस्तु नगरपालिका–१ का सन्दीप कुमार गुप्ताको जीप रोकेर हतियार देखाई २ लाख रुपैयाँ लुटेको मुद्दाहरु रहेका छन् ।

पक्राउ गरिएका मोस्ट वाण्टेड वादशाहलाई प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । पछिल्लो समय प्रहरीले विभिन्न हत्या अपराधमा संलग्न रहेका फरार अपराधीहरुलार्ई धमाधम पक्राउ गरेको प्रहरी उपरिक्षक दीपशमशेर जबराले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य रहेका बादशाहलाई नेकपाकै दबाबमा स्थानीय प्रशासनले अहिलेसम्म संरक्षण गर्दै आएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया