शहीद गोविन्द गौतमको शालिक अनावरण

 असार २६, २०७६ बिहिबार १६:६:१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर शहीद भएका गोविन्द गौतमको शालिक अनावरण गरिएको छ ।

दुई वर्षअघि सीमा रक्षाका क्रममा शहीद हुनुभएका गौतमको सम्झनामा पुनर्वासमा निर्माण गरिएको शालिकको बिहीबार अनावरण गरिएको हो । शालिक अनावरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले गौतमले देशको सीमा रक्षाका क्रममा ज्यान गुमाएको उल्लेख गर्दै प्रदेश सरकारले शहीदको सधैँ सम्मान गर्ने बताउनुभयो ।

उहाँले गौतमको सम्झनामा अहिले पार्कको स्थापना मात्र गरे पनि आउँदाे आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । 

उहाँले गौतमको सम्मानका लागि पनि स्मृति पार्कलाई यस क्षेत्रकै पर्यटकीय क्षेत्रमा रुपमा विकास गरिने बताउनुभयो । गौतमको शालिक निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पूर्वाधार विकास योजनाबाट ८ लाख र पार्क निर्माणका लागि पुनर्वास नगरपालिकाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएकाे थियाे । स्मृति पार्क शहीद गौतमको आफ्नै ५ कठ्ठा जमिनमा निर्माण गरिएको छ ।

पुनर्वासकाे आनन्द बजारमा कल्भर्ट बनाउने क्रममा विवाद हुँदा २०७३ फाल्गुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर गाैतमकाे ज्यान गएको थियो । 
सीमा रक्षाका लागि शहीद भएका गौतमको सम्मानमा राज्यले स्मृति पार्क निर्माण गरेपछि शहीद परिवार खुशी भएकाे छ ।

आफ्नो छोराको शालिक हेर्ने चाहना पटूरा भएको शहीद गोविन्दका पिता खेमलाल गौतमले बताउनुभयो । सरकारले विवादित क्षेत्रमा सीमा  स्तम्भहरु बनाए छोराको आत्माले शान्ति पाउने उहाँको भनाइ छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षको अतिक्रमणका कारण बर्सेनि विवाद हुने गर्दछ । सीमा विवाद अन्त्य गर्न दुवै देशका संयुक्त सीमा सर्भे टोलीले नक्साङ्कनको काम गरे पनि हालसम्म सीमा स्तम्भ भने निर्माण हुन सकेका छैनन् । 

भारतले पुनर्वास, बेलौरीलगायतका सीमा क्षेत्रमा कुनै पनि पक्की संरचना निर्माण गर्न नदिएको स्थानीयको आरोप छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया