साउदीले खोसेको कल्पनाको खुशी

 असार २६, २०७६ बिहिबार १७:५६:३३ | सन्जिता देवकोटा

काठमाण्डौ – विदेशबाट फर्किने जहाजले परदेशीका परिवारमा खुशी मात्र बोकेर ल्याउँदैन । कुनै कुनै जहाजमा कहिलेकाहीँ हाँसो र आँसु सँगसँगै फर्कन्छ ।

कमाएर फर्किनेहरु खुशी बोकेर हाँस्दै जहाजबाट ओर्लन्छन् । खुशी खोज्न परदेश पुगेका कति चाहिँ परिवारलाई आँसुमा डुबाउँदै बाकसभित्र फर्कन्छन् ।गएको असार ६ गते साउदीबाट काठमाण्डौ आएको जहाजमा बाकसमा फर्किंदै थिए पाँचथरकी कल्पना शिवाका श्रीमान मानबहादुर पनि ।

बाकसमा फर्किएका श्रीमान लिन इलामबाट माइक्रोबस चढेर अघिल्लो दिन नै काठमाण्डौ आइपुग्नुभएको थियो कल्पना । ६ गते बिहान वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा बाकस घरसम्म पुर्‍याउने गाडीको बन्दोबस्त मिलाउँदै हुनुहुन्थ्यो । 

मृत्युको खबर त श्रीमान्ले संसार छाडेको तीन दिनपछि आयो । तर लास आउन चाहिँ पाँच महिना लाग्यो ।

यो पाँच महिनामा न दिनमा भोक, न रातमा निद्राले कल्पनालाई छटपटी बनायो । ‘आत्महत्या गर्नुपर्ने त्यस्तो परिस्थिती नै थिएन,’ के कारणले श्रीमानले आत्महत्या गरे भन्ने प्रश्न दिमागमा घुमिरहन्छ ।

***
पातलो ज्यान । सेतोमा रातो बुट्टा भएको कुर्ता अनि रातै सुरुवाल । खुट्टामा आकाशे रंगको चप्पल, अनि आकाशे रंगकै स्वेटर । घाँटीमा पोतेको झुप्पो । गलेको अनुहार । 

वैदेशिक राजगार बोर्डको सचिवालयमा भेटिंदा कल्पना उदास देखिनुहुन्थ्यो । श्रीमानको शव बुझ्न एक दिनअघि नै काठमाण्डौ आइपुगेकी कल्पनालाई पाँच महिना अघिदेखि आफ्नो जीवनमा आइपुगेका हरेक घटना एक नमिठो सपना झैं लागिरहेको छ ।

तर कामना त यस्तो कहालीलाग्दो सपना कहिल्यै देख्न र कल्पना गर्न नपरोस् भन्ने हुन्छ । भोग्न त परको कुरा ।  तर भनिन्छ नि हुने कुरा रोकेर सकिन्न । कमाउँछु भन्दै परदेश उडेका श्रीमानले पुगेको तीन महिना पनि नबित्दै ज्यान फालिदिए । 

घर बनाउने रहरको कहर

२०७५ मंसिरमा साउदी उडेका मानबहादुरले फागुनमै आत्महत्या गरे । परदेशमा कामको दुःख भएर हो या घरको चिन्ताले कल्पना जान्नुहुन्न । छोडेर गएका श्रीमानसँग गुनासो छ । भन्नुहुन्छ – ‘सम्पत्ति कमाउन नसके पनि सम्पत्ति त हामी छँदै थियौं ।’

दुई छोरी र एक छोरा छन् । तीनै जना स्कुल पढ्छन् । विदेश जानुभन्दा पहिले कल्पना र मानबहादुर मिलेर खेतीपाती र मेलापात गर्थे । घरव्यवहार चलेकै थियो ।

हातखुट्टा चल्दासम्म त जसरी पनि चल्छ । तर आज चलेर हुँदैन, भोलिका लागि सोच्नु पर्छ । यही कुराको चिन्ता लिइरहन्थे कल्पनाका श्रीमान् मानबहादुर । 

आफ्नो नामको घरजग्गा थिएन । पाँचथरबाट तराइ बसाईं सरेका एक साहुको जग्गामा उनीहरुले आफ्नो घर बसाएका थिए । ‘वर्षको ३० हजार रुपैयाँ तिर्नु पर्छ घरजग्गाको, तर उब्जनी चाहिँ दिन पर्दैन,’ कल्पना भन्नुहुन्छ, ‘आफ्नो घरजग्गा किन्नुपर्छ भन्दै उहाँ विदेश जानुभएको थियो ।’

परिवारकै खुशीको लागि मानबहादुर विदेश उडेका । तर ज्यानै फाल्नुपर्ने गरी के कुराले दुःखी बनायो ? कल्पनाको मनमा यो प्रश्नले सताइरहन्छ । 

फोन गर्दा मानबहादुरले कल्पनालाई भन्थे – कामको त दुःखै छ, तातो घाममा काम गर्नुपर्छ । 

पाँचथर आसपास छाडेर कतै नगएकी कल्पनालाई साउदीको तातो घामको अन्दाज थिएन । लाग्थ्यो, काम ठिकै होला । फोनमा कल्पनालाई नै सम्झाउँथे मानबहादुरले । ‘छोराछोरीको राम्रो ख्याल गर्नु,’ प्रत्येक पटकको फोनमा मानबहादुरले यसै भन्थे । 

तीन छोराछोरीमा पनि कान्छीलाई धेरै माया गर्थे । भन्थे, ‘त्यसलाई चाहिँ नपिट्नु हैं, के के माग्छे दिनु, उसलाई हात लगाइस् भने राम्रो हुँदैन ।’

एक दिन मानबहादुरले फोनमा अनौठो कुरा गरे । ‘म अब फर्किएर आउँदिन्, जे जसरी हुन्छ घर चलाउनु,’ कल्पना श्रीमानले फोनमा भनेको कुरा सम्झँदै भन्नुहुन्छ, ‘मैले किन यस्तो कुरा गरेको तपाईँले, मलाई के पार्न खोज्नुभयो भनेर सोधेको, उल्टो चिन्ता नलिनु भनेर फोन राख्नुभयो, त्यसैदिन राती ज्यान फाल्नुभएछ ।’

आफ्नाको असहयोग

परिवारको मियो ढल्दाको पीडामा आफन्त र छिमेकीले मल्हम लगाएनन् । उल्टै कल्पनालाई अनेक आरोप लगाए । कतिले भने – ‘यसैले तनाव दिएर ज्यान फाल्यो।’ कल्पनाले आफन्तसँगको नाता त खुलाउन चाहनुभएन ।

दुःखमा आड भरोसा दिनुपर्नेले नै भने ‘बुढो विदेश गएपछि यही बिग्रेर हो ।’ के भएर त्यस्तो भयो समयले बताउला । तर कल्पनालाई भने श्रीमानको लास छिटो झिकाउनु थियो । तर कसरी आउँछ विदेशबाट लास भन्ने चाहिँ थाहा थिएन । 

‘मेरो बुढाले गाउँमा छँदा सबैलाई सहयोग गरेको थियो, उ परदेशमा त्यसरी बित्यो तर कसैले पनि मलाई सहयोग गरेनन्,’ कल्पना भन्नुहुन्छ, ‘आफूलाई पर्दा त कोही काम नलाग्ने रहेछन् ।’

पाँच महिना लाग्यो मानबहादुरको लास आउन । आफ्नो मान्छे अर्काको देशमा बितेको छ भन्ने खबर सुनेपछि लास नआउँदासम्म दिनरात कसरी कट्ला ? त्यो भोग्नेलाई थाहा हुन्छ । जसले मृत्युको खबर सुनेको महिनौंसम्म लास कुरेको हुन्छ ।

‘कस्तो ठाउँमा सुकिरहेको होला जस्तो लाग्थ्यो, मर्न पनि कस्तो ठाउँमा पठाएछु जस्तो लाग्ने,’ कल्पना पछुतो मान्दै भन्नुहुन्छ, ‘मर्ने बेलामा पानी पनि खुवाउन पाइनँ ।’

श्रीमानको लास घरमा लगेर छोराछोरीको बुवाको मुख हेर्ने धोको पूरा गरिदिन छ कल्पनालाई । ‘बुवालाई उतै नजलाउनु है आमा, यही ल्याउनु भनेकी छ जेठी छोरीले, कान्छीको त झन बुवाको अनुहार हेर्ने आश बाँकी नै छ,’ छोरीहरुको इच्छा सुनाउँदै कल्पना भन्नुहुन्छ, ‘छाला मात्रै भए पनि हेर तिमीहरुको बुवा भनेर देखाइदिन मन छ ।’

श्रीमानको सदगद गरेपछि कल्पनाको हातका चुरा मात्रै फुट्दैन, गलाको पोते मात्रै चुँडिदैन, जीवनमा भरोसाको त्यान्दो पनि छिन्नभिन्न हुन्छ । 

‘अहिलेसम्म त कताकता बुढो आइहाल्नुहुन्छ कि जस्तो लाग्थ्यो, अब लासै आएपछि मेरो सबै कुरा सकिन्छ, के नै हुन्छ र’ हातमा लगाएको रातो बाला एकोहोरो तान्दै कल्पना टोलाउनुभयो । 

आफ्नो जिन्दगी कसरी चल्छ, थाहा छैन कल्पनालाई । छोराछोरीको भविष्य के हुन्छ, अड्कल पनि काट्न सक्नुहुन्न । श्रीमान विदेश जाँदा लागेको ऋण सावाँ मात्रै एक लाख ३० हजार रुपैयाँ छ । त्यसको ब्याजको हिसाब किताब त गरेकै छैन ।

२७ वर्ष मात्रै लाग्नुभयो कल्पना । जागिर खाउँ भने लेखपढ छैन । खेतिपाती मात्रै गरौं भन्दा पनि  आफ्नो छैन । अहिले जीविका चलाइरहेको साहुको खेतबारीको उब्जनीले पनि वर्षभरी धान्दैन ।

श्रीमानलाई विदेश नपठाएको भए दुःख भए पनि साथमा खुशी हुन्थ्यो । तर विदेशले दुःख त दियो नै । सँगै दुःखमा लुकेको सानो खुशी पनि खोसेर लग्यो । सुखको बाटो खोज्दा भरोसा नै गुमाएपछि कल्पनाको परिवारलाई अहिले पीडाको पहाडले छोपेको छ ।

अन्तिम अपडेट: साउन १, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया