भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी गराउन ढिलो भएकै हो : कृषि मन्त्री

 असार २७, २०७६ शुक्रबार १२:१५:४० | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले भारतबाट आउने तरकारी तथा फलफूल परीक्षण रोक्नेबारे भारतीय दूतावासबाट आएको पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला जानकारी गराएको बताउनु भएको छ ।

शुक्रबार कालिमाटीमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको निरीक्षणपछि कृषिमन्त्री खनालले पत्र आउँदा आफू विदेशमा रहेकोले ढिला मात्रै भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनु भएको हो ।

भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दुतावासले पत्राचार गरेर दबाब दिएकोबारे आफूलाई जानकारी नभएको र ‘गुमराहमा’ राखिएको गुनासो गर्नु भएको थियो ।

भारतीय दूतावासबाट पत्र आएकोबारे मन्त्री र सचिवले जानकारी नगराउँदा आफू लज्जित हुनुपरेको भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै गुनासो गरेको कुरा सत्य भएको मन्त्री खनालले स्पष्ट पार्नुभयो ।

‘भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको रहेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बोधार्थ गराइएको रहेछ’ कृषिमन्त्री खनालले भन्नुभयो, ‘पत्र आएको रहेछ ।

मैले कृषि मन्त्रालयमा पत्र भेटेपछि प्रधानमन्त्रीले खोई हेरौं भन्नुभयो । मैले नै लिएर पत्र देखाएपछि प्रधानमन्त्रीले पत्र आएको रहेछ, समयमा जानकारी गराइएन भन्नु भएको सत्य हो ।’ 

‘दूतावासले सिधै पत्र लेख्ने कि हाम्रा निकायसँग जवाफ माग्ने ?’ 

कृषिमन्त्री खनालले भारतबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षणबारे भारतीय दूतावासको पत्रबारे असन्तुष्टी जनाउनु भएको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पत्रचार गरे पनि सम्बन्धित निकायसँग जवाफ माग गर्नुको साटो बोधार्थ मात्रै दिएकोमा असन्तुष्टी जनाउनुभयो ।

‘यस्तो समस्या आयो भने दूतावासले सिधै पत्र लेख्ने हुन्छ ? कि अथवा हाम्रा निकाय छन’ कृषिमन्त्री खनालले भन्नुभयो, ‘पत्राचारको तरिका बुझ्नुपर्ने हुन्छ ।’ अहिले भारतबाट आउने खसी बोकाबारे भारतका सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताउनुभयो ।

कुनै समस्या आएको खण्डमा सम्बन्धित निकायसँग जवाफ माग गरेर समाधानका लागि प्रयास गर्न छाडेर दूतावासले पत्र लेखेर अनावश्यक दबाब सिर्जना गरेको मन्त्री खनालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २१, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया