सुर्खेत बाढीको ४ वर्ष : टालेका पालमुनि फाटेको जिन्दगी

 असार २४, २०७५ आइतबार १०:५०:३२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – जंगलको बीचमा सानो बस्ती । च्यातिएका पाल टालेर र खरको छानाले बनाइएका ससाना घरहरु ।

आकाशबाट परेको पानी पाल र खरको छानाले छेक्दैन । लक्ष्मी रजाली हरेक दिनछानाबाट च्यातिएका पालका टुक्रा निकाल्नुहुन्छ । उहाँका श्रीमान ललितबहादुर छिमेकीको सहयोगमा पाल मिलाउनुहुन्छ । 

उनीहरुले भोट दिएर जिताएका नेताहरुले धेरै नीति कार्यक्रम र योजना बनाए पनि ती योजना पालमुनि पुगेका छैनन् । त्यसैले बाढी पीडितको जंगल बास कहिलेसम्म हुने भन्ने टुङ्गो छैन् । ‘भोट माग्न आउँदा हामीलाई माथि पुर्याउनु, हामी तपाईंहरुको व्यवस्थापन गछौँ भने’, ‘तर अहिलेसम्म कोही व्यवस्थापन गर्न आएका छैनन् ।’

झण्डै चार वर्षदेखि बराहताल गाउँपालिकाको गिरीघाटमा पालको झुपडीमा बस्दै आएका उनीहरुले अझै जाने ठाउँ पाएका छैनन् ।

‘बाढी पहिरोले जाय जेथा सबै बगाएपछि कहाँ बस्ने ? यहाँ बस्न कसलाई मन छ र?’ लक्ष्मीका श्रीमान ललितबहादुर भन्नुहुन्छ, ‘हाम्रा समस्या कति छन् कति ! कतिलाई भनि सकियो, कहीँ कतैबाट केही हुँदैन । पानी परेर बिहान कोठा भत्कियो । अहिले भत्किएको घर फेरि बनाउँदैछौँ ।’

२०७१ साल साउन २८ र २९ गते आएको बाढीले सुर्खेतका ९ सय ७० घरपरिवार विस्थापित भए । बाढीमा परि २४ जनाको ज्यान गयो । ९१ जना बेपत्ता भए । बेपत्ता भएकालाई पनि सरकारले मृत घोषणा गरेको छ ।

बाढीले घर, खेत र बारी बगाएपछि पाल मुनि बसेर गुजारा गर्नुपर्ने बाध्यता आइलाग्यो । रोजगारी केही छैन । साँझ खायो भने बिहान के खाने र बिहान खायो भने साँझ के खाने भन्ने समस्याले सताउँछ । सरकारले चार वर्ष अघि दिएका पाल च्यातिएर धेरैपल्ट टाल्दै छाप्रा बनाउँदा उनीहरुका आँखा आँसुले भिज्छन् ।

बाढीले उनीहरु जस्ता धेरै परिवार पालमुनी जीवन बिताउन बाध्य भएका छन् । ‘बाढीले भएको सबै बगाएर लगेपछि पाल मुनिको बास भयो । त्यसपछि छोरा बुहारी भारत गए । हामी बुढाबुढी मात्रै यहाँ बसेका छौँ । हामीले गिट्टी कुटेर गुजारा चलाइरहेका छौँ’ अर्की पीडित लालसरी सुनारले भन्नुभयो, ‘हामी कहिलेसम्म पालमा बसिरहनुपर्ने हो ?’

उनीहरुले भोट दिएर जिताएका नेताहरुले धेरै नीति कार्यक्रम र योजना बनाए पनि ती योजना पालमुनि पुगेका छैनन् । त्यसैले बाढी पीडितको जंगल बास कहिलेसम्म हुने भन्ने टुङ्गो छैन् । ‘भोट माग्न आउँदा हामीलाई माथि पुर्याउनु, हामी तपाईंहरुको व्यवस्थापन गछौँ भने’ उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म कोही व्यवस्थापन गर्न आएका छैनन् ।’

बाढीबाट विस्थापित भएर वीरेन्द्रनगरस्थित महिला विकास प्रशिक्षण केन्द्रको परिसरमा बसेकाहरुको पीडा पनि उस्तै छ । च्यातिएको त्रिपाल मुनी चारवटा हिउँदको चिसो र चारैवटा वर्षाको झरीले वाढी पीडितको अनुहारको आशालाई निराशामा बदलेको छ ।

‘सबै कमाई जति बाढीले बगाएर लग्यो । अहिले घरमा दुई दिनकी सुत्केरी बुहारी छ । छोरा कमाउन भारत गएको छ । कमाएर पठाएको छैन’ अर्की पीडित लक्षिमा दमाइले सुत्केरी बुहरीलाई देखाउँदै भन्नुभयो, ‘सुत्केरी बुहारी, नाती नातिना सबै एकै ठाउँमा बस्छौँ । एउटै पालमुनि बस्नुपर्छ । पानी चुुहिन्छ, गर्मी हुन्छ, रातभरी निन्द्रा लाग्दैन ।’

छोराहरुले अहिलेसम्म कमाएको र पुख्र्यौली सबै सम्पत्ति बाढीले बगाएपछि यसरी बस्नुपरेको उहाँले बताउनुभयो । अहिले बस्तीमा खानेपानीको समस्या छ । 

छोराछोरी पढ्न छोडे, छोरीको सानैमा विवाह भयो

त्यसबेला बाढीले उनीहरुको घरजग्गा मात्र बगाएन, सपना पनि सँगै बगाएर लग्यो । छोराछोरीलाई पढाउने, ठूलो बनाउने र सुखसँग दिन कटाउने सपना पूरा हुन नसक्दा उनीहरु चिन्तित छन् ।

गिरिघाट शिविरमा बस्दै आएकी चन्द्रा नेपालीले आर्थिक अभावका कारण छोराछोरीलाई पढाउन सक्नुभएन । उहाँका छोराले ८ कक्षामा पढ्दैै गर्दा पढाई छोडे । अनि छोरीले सात कक्षा पास भएपछि १५ वर्षकै कलिलो उमेरमा विवाह गरिन् ।

‘भएको घरजग्गा सबै बाढीले लगेपछि केही सम्पत्ति रहेन । घरबासकै ठेगान नभएपछि यस्तो ठाउँमा आएर बस्यौँ’ उहाँले भन्नुभयो, ‘छोराछोरालाई पढाउन पनि सकेनौँ । सरकारले जग्गा किन्ने भनेर ५० हजार दिएको थियो । त्यसबेला बिरामी परेकोले उपचारमै पैसा सकियो । ५० हजारले जग्गा किन्ने अवस्था पनि थिएन । अहिले ज्यामी काम गरेर घरखर्च चलाइरहेका छौँ । पालबाट पानी चुहिएर रातभरी निद्रा लाग्दैन ।’

महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी लक्ष्मी योगीका छोराले पनि कक्षा ८ पढ्दै गर्दा पढाइ छोडे । ‘तीन भाइसहित सबै सम्पति बाढीले बगाएर लग्यो । त्यसपछि खान बस्न समस्या भयो । कान्छो छोरो पढाई बीचमै छोडेर काममा लाग्यो’ लक्ष्मीले भन्नुभयो, ‘चुनावका बेला नेताहरुले हामीलाई भोट दिनुहोस्, हामी तपाईहरुको व्यवस्था गछौँ भने, तर  जति जोगी आए पनि कानै चिरिएका जस्तै भयो । कसैले केही गरेका छैनन् । अझै पनि कही गर्छन् कि भन्ने आशाचाहिँ बाँकी नै छ ।

जग्गा किन्न दिएको ५० हजार पनि सकियो

बाढीले विस्थापित बनाएपछि लगत्तै सरकारले घर मात्र क्षति भएकालाई घर बनाउन ७५ हजार र आंशिक क्षति भएकालाई जग्गा किन्न ५० हजार तथा घर बनाउन ७५ हजार दिने भनेको थियो । पछि थोरै पैसाले घरजग्गा नहुने भएकाले पछि पूर्ण क्षति भएकालाई जग्गा किन्न ५० हजार र घर बनाउन ३ लाख दिने भन्यो । घर मात्र भत्किएका पीडितलाई घर बनाउन ३ लाख दिने भनेको थियो । ३ किस्तासम्म दिने भनिए पनि अहिलेसम्म पहिलो र केहीले मात्र दोस्रो किस्ता मात्र पाएका छन् । पहिलो किस्ताबापत पाएको पैसा ५० हजारले जग्गा किन्न नसकेको बाढी पीडितले बताए ।

सरकारले अहिलेसम्म सुर्खेतका बाढीपीडितका लागि ५ करोड ६१ लाख ७५ हजार रकम वितरण गरिसकेको छ । ७ सय १५ घर जग्गा पूर्ण क्षति भएकामध्ये ४९ जना सम्पर्कमा आएका छैनन् । अहिलेसम्म घर मात्र भत्किएका २ सय ५५ ले पहिलो किस्ताबापत ५० हजार लिइसकेका छन्  ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका इञ्जिनियर झंकबहादुर थापाका अनुसार घरजग्गापूर्ण क्षति भएका ७ सय ११ ले जग्गा किन्नका लागि पहिला किस्ता ५० हजार लिइसकेका छन् । सरकारले लालपूर्जा भएको जग्गा किनेपछि घर बनाउन पैसा दिने भनेको छ । तर ५० हजारले लालपूर्जा भएको जग्गा आउँदैन । ‘सरकारले बरु आफैँ जग्गा किनेर दिएको भए हुन्थ्यो’ गिरीघाटमा बसेका ललित रजालीले भन्नुभयो ‘हामीसँग अरु कमाई केही छैन । हातमुख जोर्न नै समस्या छ ।’

पहिलो किस्ता पाएका मध्ये अहिलेसम्म १४ परिवारले मात्र जग्गा किन्न लिएको ५० हजारले लालपूर्जासहितको जग्गा किनेका छन् । लालपूर्जासहित घर बनाउन दोस्रो किस्ता बापतको ५० हजार पाउने ८ परिवार मात्र छन् भने ६ परिवारले घर बनाउन २५ हजार मात्र पाएका छन् । यस आर्थिक वर्षमा भने मन्त्रालयले बाढीपीडितका लागि बजेट नपठाएको इञ्जिनियर थापाले बताउनुभयो ।

गिट्टी कुट्न पनि पाएनन् बाढी पीडितले 

गिरीघाटमा छाप्रा हालेर बसेका प्रायः सबै परिवारले गिट्टी कुटेर घर खर्च जुटाएका थिए । तर अहिले स्थानीय प्रशासनले खोलामा ढुङ्गा बालुवा निकाल्न नदिएपछि ढुङ्गा बालुवा बोक्ने गाडी बन्द भएका छन् । योसँगै उनीहरुले कुटेका गिट्टी पनि बिक्री नभएको एक महिना पुगिसक्यो ।

चासे दमाइले गिट्टी कुट्न बन्द भएपछि खानाकै समस्या भएको बताउनुभयो । ‘जंगलमा अरु के काम पाइन्छ र गिट्टी कुटेर केही खर्च जुटाउँथ्यौं । त्यही पनि बन्द भयो । छोराबुुहारी भारत गएका छन् । कमाउन गएका छोराबुहारीले पैसा पठाएका छैनन् । यहाँ बुढाबुढी छौँ’ उहाँले दुखेसो पोख्नुभयो ।

राति निदाउन सकिँदैन

पालले बनाइएका घरहरुमा ढोका समेत छैन । भएका ढोका लाज छोप्न मात्र काम लाग्छन् । महिला र बालालिकालाई राति सितिमिति निद्रा लाग्दैन । एक त पानी पर्दा पानी चुहिएर र हावाहुरी आउँदा रातमा सुत्न सकिँदैन । घरमा श्रीमान नहुँदा बस्न समेत पनि डर हुन्छ ।

‘जंगलमै बस्ती छ । यहीँका एकदुुई परिवारले सानो नास्ता पसल गरेका छन् । नचिनेका मान्छेहरु आउँछन् । जाँडरक्सी खाएर झैझगडा गर्छन्’ पूर्ण विकले भन्नुभयो, ‘मेरो घरमा श्रीमान पनि हुनुहुन्न । ढोका पनि छैन । दुई सानासाना छोराछोरीलाई काखमा च्यापेर सुत्छु । निद्रा लाग्दैन ।’ त्यहाँ प्रहरी बिट नहुँदा बाढी पीडित असुरक्षित छन् ।

‘केही घटना भयो भने फोन गरेपछि मात्र प्रहरी आउँछन्’ विकले भन्नुभयो ‘चौबीसै घण्टा गाडी हिँड्ने बाटो छेउमा छाप्रा छन् । डर चौबिसै घण्टा छ ।’

पढ्ने बालबालिकालाई पनि उस्तै समस्या छ । ‘राति ११/१२ बजेसम्म होहल्लाले सुत्न सकिँदैन कसरी पढ्नु’ कक्षा १० मा पढ्ने मानकुमारी नेपालीले भन्नुभयो ‘बुबा कमाउन भारत जानुहुन्छ । बुबा नहुँदा रातिमा डर पनि लाग्छ । कसैले केही गरिदिने हो कि भन्ने ।’

कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितको समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक रहनेगरी ११ सदस्यीय समिति गठन गर्ने भनिएको छ । तर यसले कहिलेदेखि काम थाल्छ र विस्थापितको समस्या कसरी समाधान हुन्छ भन्ने टुंगो लागिसकेको छैन ।

अन्तिम अपडेट: फागुन २९, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया