लगातारको वर्षाले चैनपुरका केही घर पहिरोको उच्च जोखिममा

 असार २९, २०७६ आइतबार १५:५८:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - लगातारको वर्षाका कारण संखुवासभाको चैनपुर नगरपालिका-४ मा रहेकाे पोखरीबजार नजिकैका ४ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाले स्थानीय लिलाबहादुर कार्की, बर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेका हुन् । उनीहरुकाे घरमुनिबाट पहिरो झर्न थालेपछि घर नै तान्ने हाे कि भन्ने डर फैलिएकाे छ।

पहिरोले तान्न लागेको ४ घरमध्ये स्थानीय पदमबहादुरको घर मात्र पक्की छ भने अरु ढुङ्गा माटो र फुसको छानो भएका घर छन् । घरमुनिबाट पहिरो खस्न थालेपछि रातभर निन्द्रा नै लाग्न छोडेको पदमबहादुरले बताउनुभयो । ‘राति निदाएको बेला कतिबेला घरसहित हामीलाई बगाउने हो भनेर निन्द्रा नै लाग्न छोडेको छ । रातभर जाग्राम बसिरहेको छु । दिन दिनै तलबाट पहिरो झरिरहेको छ । सरकारले रोकथाम गरिदिए हुन्थ्याे’, उहाँले भन्नुभयो ।

पहिरोले घर तान्न थालेपछि नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखाले वितरण गरेको त्रिपालले पहिरो गएको ठाँउमा माथिबाट छोपिएको स्थानीय पदमबहादुरले बताउनुभयो । उहाँले त्रिपालले छोपेर मात्र घरहरु जोगाउन नसकिने हुँदा पहिरोको जोखिममा रहेका उक्त घरहरुलाई संरक्षणको लागि तलबाट जालीसहितको गारो लगाउनु पर्ने र आफूहरुलाई वैकल्पिक ब्यबस्थापनका लागि सहयोग गर्नु पर्ने माग गर्नुभयो ।

घर नजिकैबाट खनिएको मोटर बाटो, कमजोर भू–बनावट र बर्खाको समयमा केहीदिन अघिदेखि परेको अविरल वर्षाका कारण ती घरहरु पहिरोको उच्च जोखिममा परेको स्थानीय मोहनकुमार राईले बताउनुभयो । उहाँले पहिरोको रोकथाम र संरक्षणको लागि सम्बन्धित निकायले बेलैमा ध्यान पुर्‍याउनु पर्ने समेत बताउनुभयो ।

ती ४ घर नै पहिरोले बगाउने खतरा भएकाले स्थानीय सरकारले सक्दो सहयोग गर्नु पर्ने र तत्काललाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने चैनपुरका कुमारबाबु अधिकारीले बताउनुभयो । उहाँले दीर्घकालीन सोचका साथ विकासका संरचनाहरुमा ध्यान नपुर्‍याउँदा जोखिम निम्तिने खतरा बढ्ने भएकाले विकास निर्माण र संरचना तयार गर्दा ध्यानु दिनुपर्नेमा जोड दिनुभयो । 
 

    
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया