अनुमतिबिनै क्यानडा भ्रमणमा हिँडेका उपकुलपतिलाई विमानस्थलबाट फर्काइएको हो : गृहमन्त्री थापा

 असार २४, २०७५ आइतबार १७:३:१५ | उज्यालो सहकर्मी

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकूलपति प्रध्यापक डाक्टर कुलप्रसाद कोइराला अनुमतिबिना नै क्यानडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको स्पष्ट पार्नु भएको छ ।

गृहमन्त्री थापाले अनुमतिबिना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानडा भ्रमण जान नदिइएको स्पष्टिकरण दिनु भएको हो ।

आइतबार राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डले उपकुलपति कोइरालालाई क्यानडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको थियो । त्यसपछि गृहमन्त्री थापाले त्यस सम्बन्धमा संसदलाई जानकारी गराउँदै विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको संसदलाई जानकारी गराउनु भएको हो ।

शनिबार दिउँसो क्यानडामा आयोजना हुन लागेको १७ औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन क्यानडा जान लाग्नु भएका उपकूलपति कोइरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो ।

गृहमन्त्री थापाले बाढी, पहिरो र डुबान पीडितलाई राहत र सेवा उपलब्ध गराउन सरकार सक्रियताका साथ लागि रहेको पनि बताउनुभयो । उहाँले बाढी, पहिरो र डुबान पीडितलाई राहत र उद्दार गर्न सरकार गम्भीर र सचेत रहेको पनि स्पष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले विपदका परेका नागरिकलाई राहत उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दैै त्यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो । विपद् व्यवस्थापनका समस्या नहोस भनेर सरकारले करिब ५४ अर्ब बजेटको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया