पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी गिरफ्तार, अरबाैँ हिनामिना गरेको आरोप

 साउन २, २०७६ बिहिबार १७:२३:३६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) का १२ सदस्यको टोलीले गिरफ्तार गरेको छ । 

पूर्व प्रधानमन्त्री अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) लाई आयातमा अनुबन्धन दिँदा अरबाैँ रुपैयाँ हिनामिना गरेको आरोपमा गिरफ्तार गरिएको हो । 

पाकिस्तानको समाचार संस्था डन न्यूज टिभीका अनुसार पूर्व प्रधानमन्त्री अब्बासीलाई पत्रकार सम्मेलन गर्न गैरहेको अवस्थामा गिरफ्तार गरिएको हो । 

अब्बासीसँगै पाकिस्तान मुस्लिम लिग (पीएमएम-नवाज) का नेता अहसान इकबाल पनि थिए । सुरुमा अब्बासीले गिरफ्तारीको विरोध गरे पनि अन्ततः उनले एनएबीसमक्ष आत्मसमर्पण गरेका थिए ।  

गिरफ्तारीमा परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री अब्बासीलाई शुक्रबार एकाउन्टिबिलिटी अदालतमा पेस गराइनेछ । एनएबीले एलएनजीको विषयमा उनलाई पत्राचार गरे पनि उनी हाजिर भएका थिएनन् । 

त्यस्तै पाकिस्तानी पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री नवाज शरीफ पनि भ्रष्टाचारको मुद्दामा जेलमा छन् । 

अब्बासी विपक्षी पार्टी पीएमएल–एन का दोस्रो ठूलो नेता हुन् । एनएबीका अधिकारीहरुले अब्बासीलाई लाहोरको टोल प्लाजानजिक रोकेको थियो । अब्बासी पीएमएल–एन का प्रमुख र नवाज शरीफका भाइ शहबाज शरीफलाई भेट्न जाने तयारीमा थिए । 

पीएमएल–एन का प्रवक्ता मरियम औरंगजेबले गिरफ्तारीको निन्दा गर्दै एनएबीले अब्बासीलाई बिना पक्राउ पुर्जी गिरफ्तार गरेको आरोप लगाएका छन् । 

अब्बासी सन् २०१८ मार्च महिनामा दुई दिनको औपचारिक भ्रमणमा नेपाल आएका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया