मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको आमरण अनशन तोडियो

 असार २४, २०७५ आइतबार १८:३२:१३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – आफ्ना शैक्षिक माग राखेर आमरण अनशन बसेका मध्यपश्चिम विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले अनशन तोडेका छन् ।

आइतबार विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीहरुबीच मागहरु सम्बोधन गर्ने सहमति भएपछि अनशन तोडिएको हो । सहमतिसँगै विद्यार्थीहरुले गरेका सम्पूर्ण आन्दोलन फिर्ता लिएका छन् । इञ्जिनियरिङ संकायका रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन बिसी ६ दिनदेखि आमरण अनशनमा बसेका थिए । देउती अस्पतालमा विश्वविद्यालयका डिन गोविन्द लामिछाने, क्याम्पस प्रमुख सोनालाल यादवसहित विद्यार्थीहरुले जुस खुुवाएर विद्यार्थीको आमरण अनसन तोडाएका हुन् ।  

विश्वविद्यालय पदाधिकारी र विद्यार्थीबीच १७ बुँदे सहमति र निर्णय भएका छन् । इञ्जिनियरिङ हाइड्रोपावर पाठ्यक्रम तयार गरी चौथो सेमेस्टरको परीक्षा अघि पाठ्यक्रम उपलब्ध गराउने, इञ्जिनियरिङ संकायको तीन महिना भित्र प्राक्टिकल ल्याबको व्यवस्थापन गर्ने, पुस्ताकालयका आवश्यक पुस्तकहरु उपलब्ध गराउने, विषयगत शिक्षकहरुको व्यवस्थापन गर्ने र इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको पठनपाठनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि छुट्टै भवन भाडामा लिएर पठनपाठनलाई प्रभावकारी गराउने निर्णयलगायत १७ बुँदे सहमति विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीबीच भएको छ ।

इञ्जिनियरिङ संकायका कार्यक्रमहरुलाई मुसुम प्रणालीमा सञ्चालन गर्नका लागि सञ्चालन गर्न डिन गोविन्दप्रसाद लामिछानेको  संयोजक्तवमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ । विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, आर्थिक, प्रशासनिक, पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि आत्मनिर्भर भए बिकेन्द्रीकरणतर्फ लैैजाने निर्णय गरिएको छ । सहमति र निर्णयहरु तोकिएको समय भित्र कार्यान्वयन नभए विश्वविद्यालयले जिम्मेवारी लिनुपर्ने विद्यार्थीहरुले बताएका छन् । 

विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायत ७ बुँदे मागहरु राखेर ६ दिनदेखि आमरण अनशन बसेका थिए । विद्यार्थीहरुले राखेको इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने मागमा भने असहमति भएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया