डाक्टर केसीको स्वास्थ्य अवस्था थप गम्भीर

 असार २४, २०७५ आइतबार १९:१७:२७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको अवस्था कमजोर हुँदै गएपछि संक्रमण रोगथामका लागि डाक्टर केसी अनसन बसेको ठाउँमा केही सम्बेदनशीलता अपनाउन सुरु गरिएको छ ।

डा. केसी अनसन बसेको स्थलमा भेटघाट पातलो गरिएको छ भने भेट्न जानैपर्ने मानिसहरु, स्वास्थ्यकर्मीहरु र पत्रकारहरुलाई अनिवार्य मास्क लगाएर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

डाक्टर केसीको लामो समय खाना नखाएर अनसन बसेका कारण दिन प्रतिदिन अवस्था कमजोर हुँदै गइरहेको चिकित्सकले बताएका छन् । केसीको उपचारमा खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका चिकित्सकहरुले संक्रमणबाट बचाउनुपर्ने अवस्था अब आएकाले संवेदनशील हुनुपर्ने बताएका हुन् ।

उपचारमा खटिएका डाक्टर सिदार्थ खत्रीले अनसन भएको कक्षमा भेट्नेहरु बाक्लिँदै गएकाले संक्रमणबाट बच्न माक्स लगाउने गरिएको बताउनुभयो । यसैगरी आइतबार डाक्टर केसीको स्वास्थ्यमा थप कमजोरी बढेको डाक्टरहरुले बताएका छन् । डाक्टर केसीको आँखा समेत गडेको देखिएको छ । उहाँलाई अहिले पनि अक्सिजन र सलाइन निरन्तर चढाइएको छ  ।

उहाँको श्वासप्रश्वासमा केही समस्या बढिरहेको, मटुको ढुकढुकी बढिरहेको, सेतो रक्तकोष बढ्दै गइरहेको चिकित्सकले बताएका छन् । यसैगरी प्रत्यक्ष भीड कम गर्नलाई डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे प्रतिवेदन ढोकामा टास्ने काम सुरु गरिएको छ ।

चिकित्सक चिन्तित : 

जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा अनसनमा रहेका बेला उचित स्थानमा उपचार गर्न भन्दै आन्दोलित चिकित्सकहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले उपचारमा अहोरात्र खटिएका छन् । 

डा. केसीको स्वास्थ्य अवस्था खराब भएपछि उहाँलाई चिकित्सहरुले अस्पताल आफैले पुर्याएको पनि ४ दिन बढी भइसकेको छ । उहाँलाई भिन्नै सघन कक्षमा उपचार गरिरहँदा सरकारले भने केसीका मागहरु पूरा गर्ने वा नगर्ने विषयले झनै चिन्ता बढाएको छ ।

डाक्टरहरुले प्रतिष्ठनमा केसी पुर्याएपछि ओपीडी सेवामा काम सुरु गरे पनि माग पूरा हुनुपर्ने भन्दै एक सातादेखि नै विरोध स्वरुप हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

यस्तै नागरिक समाजले पनि दबाब दिइरहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस पढाईको विषय पनि के होला भन्ने विषयमा चिन्ता बढेको छ ।  

 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया