खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

 जेठ ६, २०७५ आइतबार १४:१३:१० | श्याम श्रेष्ठ

एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एकतापछि बनेको एकीकृत पार्टी नेपालको इतिहासमा मात्रै नभइ एसियामै ब्यालेटबाट सत्तामा पुग्ने ठूलो कम्युनिष्ट पार्टी बन्न पुगेको छ । विश्वकै इतिहासमा हेर्ने हो भने चौथो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

कम्युनिष्टहरु जहिल्यै टुक्रिन मात्र जानेका छन्, उनीहरु विश्वबाटै सकिँदैछन्, लोप हुँदैछन् भन्ने जुन प्रकारको एउटा टिप्पणी आउने गर्थ्याे त्यसलाई अहिलेको एकताले गतिलो झापड हानेको छ ।

तर यो एकतालाई बलियो र मजबुद बनाउने सवालमा भने धेरै काम गर्न बाँकी छ । यो एकता वैचारिक र सैद्धान्तिक रुपमा गहिरो छलफल गरेर भएको एकता होइन । यो त दुबै पार्टीबीच सत्ता साझेदारीमा कुरा मिलेपछि एकता सम्भव भएको हो । तर फेरि सत्ता बाँडफाँडमा कुरा बिग्रिए एकता टुटफुटमा जान्छ कि भन्ने आशंकाहरु जीवितै छन् ।

वैचारिक र सैद्धान्तिक विषयमा गहन रुपमा विचार विमर्श भएर एकता भएको भए हुन्थ्यो भन्ने हो । अहिलेको एकतालाई हेर्ने हो भने हतारो र हचुवाकै भरमा एकता गरेको देखिन्छ । टाउको र शरीर सहितको एकता हुनु पर्थयो । तर अहिले त खाली टाउको मात्रै जोडिएको छ । ४४१ जनाको टाउको जोड्दैमा एकताले चीरस्थायी पाउँदैन । सिंगो शरीर जोडिनु पर्नेमा टाउको मात्रै बाँधिएको छ । यसले एकतामा चुनौती त देखाएको छ । तर एकताको सुरुवाती चरणको रुपमा भने यो एकता घोषणालाई लिन सकिन्छ ।

चुनौती

एकतापछिको कम्युनिष्ट पार्टीका अगाडि अब थुप्रै चुनौतीहरु छन् । एमालेले बुझेको क्रान्ति भिन्दै छ, माओवादीले बुझेको क्रान्ति भिन्दै छ । मार्क्सवाद, लेनिनवादकै कुरामा पनि एमालेको भिन्नै खालको बुझाइ छ । माओवादीको भिन्दै छ । 

माओवादीको सशस्त्र संघर्षको पृष्ठभूमी छ, एमालेको संसदीय संघर्षको पृष्ठभूमी छ । एउटाले सशस्त्र संघर्षलाई गौरवमय भन्ला, अर्कोले संसदीय संघर्षलाई गौरवमय भन्ला । यो इगोको झगडामा बदलिन सक्छ । एउटाले अर्कोलाई नेग्लेट गर्न खोज्यो भने समस्या आउँछ । दुवैले दुवैको संघर्ष र योगदानलाई रिकोग्नाईज गर्ने र बीचको एउटा मध्यमार्ग निकाल्न सकियो भने यो चुनौती पार गर्न सकिन्छ । तर एउटाले अर्कोको अस्तित्व र पहिचान नामेट गर्ने खेलमा लाग्यो भनेदेखि यो एकताको आयु लामो हुनेवाला छैन । एकता स्थायी हुन सक्दैन । 

यस्तै, अब जिल्ला, प्रदेश तथा गाउँकमिटी, भ्रातृ संगठनहरुको व्यवस्थापन ठूलो चुनौती छ । कस्को कति जना संगठनमा राख्ने भन्नेमै विवाद रुमलिन सक्छ । अवसरवादी कार्यकर्ताहरुको भिड दुवै पार्टीमा छ । उनीहरुको समायोजन दुवैलाई सकसको विषय बन्न सक्छ । 

फेरि फुट्छ कि ?

भर्खरै एकता हुन पाएको छैन फेरि फुट्छ कि भनेर बहस गर्नु अहिले नै उपयुक्त नहोला । तथापी अब फेरि यो पार्टी फुट्दैन भन्ने कुनै आधार छैन । नफुट्ने आधार भनेर दुनियाँमा कहिँ पनि हुन्न । जन्म पछि मृत्यु हुन्छ कि हुन्न भन्नु जस्तै हो यो । सगरमाथाको जति उचाइ छ त्यहाँ उत्तिकै गहिरो खाडल पनि छ । त्यसैले यो फुट्छ फुट्दैन भन्दा पनि चीरस्थायी कसरी गराउन सकिन्छ भन्ने सवाल मुख्य हो । 

यदि भिन्न मतलाई पेलेर जान लागियो, एउटाले अर्कोलाई होच्याउन खोजियो भने फेरि पनि त्यो स्थिति आइपुग्न सक्छ । तर अहिलेको एकता भनेको दुवैको आवश्यकता मिलेर बनेको एकता हो, राजनीतिक कारणले सायदै टुटफुट हुन्छ । 

कसरी मिले ?

माआवोदीको संविधानसभा, गणतन्त्र र समावेसिताको एजेण्डा एमालेले आफ्नो बनाइसकेको अवस्था छ । यस्तै एमालेको बहुदलीय जनवाद, संसदीय संघर्ष र बहुदलीय प्रतिष्पर्धाको एजेण्डा माओवादीले आफ्नो बनाइसकेको छ । त्यसैले दुवैले दुवैको एजेण्डालाई आत्मसात गरेको देखिन्छ । 

एकतापछि अब एमाले बिग्रियो है वा अब माओवादी बिग्रियो है भन्ने गरेको सुनेको छु । तर म के भन्छु भने उनीहरु बिग्रनुसम्म बिग्रेर चै अहिलेको यो अवस्थासम्म आइपुगेका हुन् । उनीहरु यतिसम्म बिग्रिए कि त्यो बाहेक बिग्रिने ठाउँ नै थिएन । अब बरु सप्रन्छन् कि भन्ने हो ।

एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

खैरो र कैलो मिल्तीका नजिक हुन्छन् । त्यसैले पनि अहिले दुवै खैरे र कैलेको एकता भएको हो । 

माओवादी सिंहदरवार बदल्न भन्दै त्याहाँ छिरेको थियो । तर सिंहदरबार धेरै बदलिएको छैन माओवादी बदलियो । त्यसअघि एमाले गएको थियो, उ आफै बदलिएर बस्यो ।

आफू बदलिएका सिंहदरबार नबदलिएका । व्यवस्था परिवर्तन गरेका तर आफूलाई परिवर्तन गर्न नसकेका नेताहरुको पार्टीको एकता हो यो ।  

यो दुवै पार्टीका दुवै नेताको केमेस्ट्रि मिलेर एकता सम्भव भएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहिल्यै पनि शासित भएर बस्ने व्यक्ति होइनन् । ओली पनि त्यस्तै प्रवृत्तिका व्यक्ति हुन् । त्यही भएर अहिलेका लागि दुवै अध्यक्ष बन्दै स्थायी सरकार सञ्चालनका लागि उनीहरु एक भएका हुन् । यो नेपालका लागि एउटा आवश्यकता पनि थियो । चुनामा सधैं कम्युनिष्ट पार्टीहरुलाई बढी मत आउँथ्यो । तर एक्लाएक्लै चुनावमा उत्रँदा कहिल्यै पनि बहुमत ल्याउन सकेनन् । फाइदा कांग्रेसले लिन्थ्यो । यो कुरालाई बुझेर अहिले दुवैले एकता गरेका छन् । 

अहिलेको अवस्थामा संसदमा एकीकृतपछि बनेको कम्युनिष्ट पार्टीको स्पष्ट बहुमत पुगेको छ । स्थानीय तहमा पनि त्यस्तै एकल सरकार सञ्चालन छ । ७ वटा प्रदेशमध्ये ६ प्रदेशमा एकल बहुमतको सरकार भएको छ । नागरिकले दिएको जनमतको अर्थ पनि दुवै पार्टी एक हुन् भन्ने नै थियो । त्यसैले पनि अहिलेको यो एकता दुवै पार्टीको आवश्यकताले गर्दा हुन पुगेको हो ।   

अब ट्रेण्ड बन्छ 

एकता हुनु राम्रो कुरो हो । हाम्रो जस्तो सानो देशमा धेरै पार्टीको आवश्यकता नै छैन । त्यसमाथि कम्युनिष्ट कम्युनिष्ट भन्ने, विचार एउटै देखाउने तर सानो सानो झुण्डमा बस्नु भन्दा मिलेर ठूलो बनेर बस्नु उचित हो नि ।

यो एकताले एक खालको ट्रेण्ड सृजना गर्छ । कस्तो भन्नुहुन्छ भन्दा, बाख्रा बाख्रासँग, भेडा भेडासँग भन्ने खालको ट्रेण्ड आउँछ ।

अब कम्युनिष्टमा पनि अतिक्रान्तिकारीहरु विप्लबसँग मिल्न जान्छन् । सुधारवादी क्रान्तिकारीहरु अहिलेको एकतामा आउँछन् । र नेपाल मजदुर किसान पार्टी चाहिँ कहिल्यै कतैतिर नजाने दुवैलाई नराम्रो मात्रै भनेर बसिरहने प्रवृत्ति छ । त्यो एक ठाउँमा रहन्छ । अबको केही वर्षपछि नेपालमा ३ वटा मात्रै कम्युनिष्ट पार्टी रहने दिसामा अहिलेको एकताले बाटो तय गरिदिएको छ ।

प्रजातान्त्रिक धारको कांग्रेसलाई अहिलेको एकताले ठूलो दबाव सृजना गरेको छ । सम्भवतः कांग्रेसको इतिहासमै अहिलेसम्मको दबाव परेको थिएन त्यस्तो दबाव छ । सदनमा प्रमुख प्रतिपक्षी त कांग्रेस हो । तर उ हेल्पलेसको अवस्थामा छ ।

अब कांग्रेसले पनि प्रजातान्त्रिक धारलाई समेट्दै गोलबन्द गर्न सक्नुपर्छ होइन भने उसको अस्तित्व धरापमा पर्ने अवस्था छ । शेरबहादुर देउवाकै नेतृत्व रहिरह्यो भने झनै कांग्रेस क्षयीकरण भएर सकिनेवाला छ । यो उसकै पार्टीभित्रका नेताहरुले पनि भन्दै आएको कुरो हो । त्यसैले अब उसले पनि एकताका लागि प्रजातान्त्रिक धारसँग हात अघि बढाउनु जरुरी छ ।

अब गर्नुपर्ने काम 

एकता भएको पार्टीकै बहुमतको सरकार छ । अब नागरिकको चाहना, विकास र समृद्धिका सपना पुरा गर्नेतर्फ समय खेर नफाली पाइला चाल्नु जरुरी छ । काम नगर्ने खाली गफ मात्रै ज्यादा गर्ने काम भयो भने नागरिकले फेरि पनि यसको विकल्प खोज्नेवाला छन् ।

चुनावका बेला जुन संकल्प गरेर घोषणापत्र जारी गरिएको थियो । त्यसलाई पूरा गराउँदै नेपाललाई आत्मनिर्भर बनाउने कामहरु हुन सक्यो भने कांग्रेस लगायतका अन्य पार्टीहरुको अवस्था नागरिकको नजरमा झनै कमजोर हुँदै जानेवाला छ । यदि योबेला पनि काम हुन सकेन, खाली झुटको खेती बाँड्ने काम भयो भने पाँच वर्षपछि फेरि उनीहरुको हालत खराब हुनेवाला छ ।

नेपालीको चाहना धेरै छैन 

राजनीतिक परिवर्तन आएको भनेर भाषण त गरिएको छ तर यो परिवर्तन गाउँगाउँसम्म पुग्न सकेको छैन । गरीबका झुपडी र गरिखाने वर्गसम्म पुगेको छैन । खाली हुनेखानेहरुकोमा, शहर बजार वरिपरि मात्रै घुमेको छ ।

नेपालीले सुशासनयुक्त नेपाल देख्न सकेका छैनन् । खुलेआम भ्रष्टाचार, सस्थागत सिण्डिकेट जहाँतहीँ छ । यसको अन्त्य खोजेका छन् ।

नेपाल कहिले पनि सिस्टममा चलेन, जहिल्यै हचुवाको भरमा चल्यो । पावर छ, पैसा छ भने ऐन कानून सबै मिचेर जे पनि हुने । छैन भने सबै प्रकृया पुर्याए पनि केही नहुने अवस्था जुन थियो त्यस्तो अवस्था परिवर्तन गर्नु जरुरी छ । अहिले पनि परिवर्तन भइसकेको अवस्था छैन ।

हाम्रो परराष्ट्र नीति, सुरक्षा मामिला र विकासका कुरा कहिल्यै निर्धारित भएनन् । ९÷९ महिनामा फेरिने सरकारैपिच्छे यस्ता नीतिहरु आफू अनुकुल चलाइए । अब एउटा स्थायी परराष्ट्र नीतिको आवश्यकता छ । सुरक्षा मामिलामा पनि एक मत हुनु जरुरी छ । विकास र समृद्धिको अभियानलाई जतिसक्दो चाँडो थालनी गर्नुपर्ने छ ।

हाम्रो परराष्ट्र नीति बलियो नहुँदा विदेशीले हेप्न छाडेका छैनन् । कुनै देशको प्रधानमन्त्री आउँछ उसले उतैबाट कुन प्रान्तलाई के दिने भनेर घोषणा गर्छ । यो भनेको हामीलाई हेपेको हो । त्यसैले बलियो परराष्ट्र नीतिको आवश्यकता छ ।

अब टाउकैदेखि क्लिन र सुशानयुक्त, पारदर्शी र स्वच्छ नेपाल बनाउने काममा यो पार्टीले महत्वपूर्ण भूमिका खुल्नुपर्ने छ । देशमा कृषि क्रान्ति, औद्योगिक क्रान्ति तथा रोजगारीको व्यवस्था गर्नु जरुरी छ । अब गफ हाँक्ने होइन कि काम गरेर देखाउनुपर्ने चुनौती खडा भएको छ ।

अन्तिम अपडेट: मंसिर २१, २०७५

श्याम श्रेष्ठ

श्याम श्रेष्ठ राजनीतिक विश्लेषक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया