सीसीटीभी क्यामेराकाे निगरानीमा रुद्राक्षका बाेट

 साउन ९, २०७६ बिहिबार १५:९:३० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - पूर्वी पहाडी जिल्ला संखुवासभामा पछिल्लो समय रुद्राक्ष बोटमै चोरी हुने क्रम बढेपछि सुरक्षाका लागि बगैँचामै सीसीटीभी क्यामेरा जडान गर्न थालिएको छ ।

एउटै रुखमा करौडाैँ रुपैयाँ बराबरको रुद्राक्षको दाना फल्ने भएकाले त्यसको सुरक्षा नहुँदा चोरी बढेको भन्दै त्यसको रोकथामका लागि बगानमा नै सीसीटीभी क्यामेरा जडान गरिएको हो ।

बगानमा सीसीटीभी क्यामेरा जडान गरिएपछि चोरी भए पनि त्यसको क्षतिपूर्ति भराउन सजिलो हुने भएकाले बगानमै सीसीटीभी क्यामेरा जडान गरिएको सिलिचोङ गाउँपालिका–५, याफुका कृषक डम्बर राईले बताउनुभयो ।

उहाँले आफ्नो रुद्राक्ष बगानमा भर्खरै ८० हजार रुपैयाँ खर्चेर ५ वटा क्यामेरा जडान गर्नुभएकाे हाे ।

बगानको चारैतिरकाे विभिन्न कोण प्रष्ट रुपमा देखिने गरी क्यामेरा जडान गरिएको छ । रुद्राक्षको बगानमा नै कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामरा जडान गर्नुपरेको कृषक राईले बताउनुभयो ।

‘तीन जनालाई महिनावारी तलब दिएर कुरुवा राख्दा पनि राति चोरी हुने क्रम बढेपछि यो वर्षदेखि कुरुवासँगै सीसीटीभी क्यामरा जडान गरिएको हो’, राईले भन्नुभयो ।

उहाँको बगानमा २६ वटा रुद्राक्षका बोटहरु रहेका छन् । अहिले पनि बगान सुरक्षाका लागि तीन जना कुरुवा र सीसीटीभी क्यामरा दुवै राखिएको छ । कृषक राईको बगानमा गुणस्तरीय रुद्राक्ष फल्ने भएकाले सुरक्षा चुनौती बढेको हो । राम्रो र मुखदार रुद्राक्ष राति नै चोरी हुने भएकाले सुरक्षाका लागि रकम खर्चिनु परेको राईको भनाइ छ ।

गएकाे वर्ष याफु गाउँमा नै एउटा रुद्राक्षकाे बोट चोरले राति ढालिदिएपछि किसानहरुलाई सुरक्षा चुनौती बढेको हो । वार्षिक झण्डै करोड रुपैयाँ बराबरको रुद्राक्ष फल्ने त्यस बोटमा नचिनेका मानिसहरुकाे समूहले क्षति पुर्‍याएपछि गाउँका अन्य कृषकहरु चिन्तित बनेका हुन् । चोरले सकेसम्म रुद्राक्ष टिपेर लैजाने र नसकेमा बोट नै ढालिदिने गरेको कृषकहरुको गुनासाे छ ।

याफूमा मात्रै होइन रुद्राक्षको सुरक्षा चुनौती जिल्लाभर नै बढेको छ । केही समय अघि मात्रै पाँचखपन नगरपालिकाको स्याबुनमा रुद्राक्षको जरामा नै विषादी हालेर बोट मार्ने प्रयास भएकाे थियाे । गुणस्तरीय रुद्राक्ष फल्ने यहाँका बगानहरुमा सुरक्षाका लागि प्रायः सबैले राम्रो पारिश्रमिक दिएर कुरुवा राख्ने गरेको पाइन्छ । निश्चित समयको लागि ठेक्का लिएका ठेकेदारहरुले पनि कुरुवा राख्ने गरेका छन् । 

जिल्लाको अन्य क्षेत्रहरुमा पनि रुद्राक्षको सुरक्षाको लागि सीसीटीभी क्यामेरा जडान गरिएको छ । खाँदबारी, चेवावेशी, स्याबुन र धुपुलगायतका स्थानहरुमा समेत सीसीटीभी क्यामेरा जडान गरिएको भेटिन्छ । गोप्य ठाउँमा क्यामेरा जडान गरिएपछि चोरी गर्ने र रुद्राक्षको बोटमा क्षति पुर्‍याउनेलाई कारबाही गर्न सहज हुने स्थानीय कृषकहरुकाे भनाइ छ ।

क्यामेरा राखेको हल्लाले नै चोरीको सम्भावना आधा कम भएकाे उनीहरुको भनाइ छ । सीसीटीभी क्यामेरा राखेपछि रुद्राक्ष कुरुवालाई रुद्राक्ष र क्यामेरा दुवैको हेरचाह गर्ने गरी काममा लगाउने गरेको कृषकहरु बताउँछन् ।

रुद्राक्ष विशेष गरी खाँदबारी, चेवावेशी, स्याबुन, याफु, माङतेवा र धुपुका साथै छिमेकी जिल्ला भोजपुरको दिङ्ला, नेपालेडाँडा र सामेबारे क्षेत्रमा उत्पादन हुने गर्दछ ।     

संखुवासभामा उत्पादन भएको रुद्राक्ष चीन र भारतमा निर्यात हुँदै आएको छ । रुद्राक्ष मुख्यगरी धार्मिक हिसाबले बिक्री वितरण हुने गर्दछ । मुखदार रुद्राक्ष भारत तर्फ र थोरै मुख भएको तर आकारमा ठूलो, चिल्लो र थेप्चो रुद्राक्ष विशेषः गरी चीन तर्फ निर्यात हुने गरेको रुद्राक्ष व्यवसायी संघका जिल्ला अध्यक्ष चक्र बिसुङ्खेले बताउनुभयो ।

उहाँका अनुसार, २७ मुखे रुद्राक्ष सबैभन्दा धेरै मूल्यमा बिक्री हुने गरेको छ । अन्य रुद्राक्ष प्रतिगोटा १० देखि ३०-४० लाख रुपैयाँसम्ममा बिक्रि हुँदै आएका छन् । त्यस्तै थोरै मुख भएको तर आकारमा ठूलो (२० एमएमभन्दा माथि) रुद्राक्ष प्रति केजी १० हजार देखि एक लाख रुपैयाँसम्ममा बिक्रि हुने गरेको संघका अध्यक्ष बिसुङ्खेको भनाइ छ । 

यहाँ असार र साउन लागेपछि रुद्राक्ष उत्पादन सुरु हुने गर्दछ भने भदौदेखि कार्तिक/मंसिरभित्र रुद्राक्ष टिपिसकिन्छ । यहाँ उत्पादित रुद्राक्षको मुख्य बजार खाँदबारी हो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया