ग्ल्यामरको नाममा हुने छाडापन त्यागौँ : भुवन चन्द

 साउन ९, २०७६ बिहिबार २०:४९:५० | मनोज दाहाल
unn.prixa.net

१० वर्षको उमेरदेखि सुरु भएकाे भुवन चन्दकाे अभिनय यात्रा उमेरले सात दशक पार गरिसक्दा पनि उत्तिकै सक्रिय छ । भुवन चन्दलाई नेपाली चलचित्रकी नेपालकी पहिलो नायिकाका रुपमा पनि चिनिन्छ ।

उनले अन्धवेग नामक नाटकमा बालकलाकारका रुपमा उनकाे अभिनय यात्रा सुरु भएकाे थियाे । अन्धवेगको सफलतापछि उनले अर्को नाटक जाली रुमालमा आफ्नो अभिनयको कौशल प्रस्तुत गरिन् ।अर्काे नाटक के सक्कली के नक्कलीमा उनलाई दर्शकहरुले निकै रुचाएका थिए ।यी बाहेक मुकुन्द इन्दिरा, मानसी लगायतका दर्जनौँ नाटकहरुमा उनले अभिनय गरेकी थिइन् ।

नाटकमा सफलता हात पार्दै गएपछि उनले चलचित्र क्षेत्रमा फड्को मारिन् । उनले अभिनय गरेको पहिलो चलचित्र आमा हो । आमा नेपालको पहिलो चलचित्र हो । पहिलो चलचित्र मै उनलाई दर्शकको राम्रो साथ मिल्यो । त्यस पछि उनले हिजो आज भोलि नामक चलचित्रमा अभिनय गरिन् ।

उनको अभिनयलाई दर्शकले रुचाएपछि उनलाई एक पछि अर्को चलचित्रको अफर आउन थाल्यो । त्यसपछि भुवनले दुई थोपा आँशु, कोसेली, प्रतिज्ञा लगायतका चलचित्रहरुमा पनि काम गरिन् ।

सुन्दर अभिनयका कारण उनले दर्शकको माया पाउँदै गइन् । प्रेम प्रतिज्ञा, जीवन, देउराली, नाम के हो, दुलही रानीलगायतका चलचित्रहरुमा समेत उनले नायिकाका रुपमा अभिनय गरिन् । उनी चलचित्रसँगै टेलिचलचित्रहरुमा समेत रुचाइएकी कलाकार हुन् । राजमार्ग, जीवनचक्र, दुधपोखरी, हिजो आजका कुरा लगायत उनले अभिनय गरेका टेलिचलचित्रहरु हुन् । उनै अभिनेत्री तथा निर्मात्री चन्दसँग हामीले गरेकाे कुराकानी :

हजुरलाई कस्तो छ, के मा व्यस्त हुनुहुन्छ ?

अहिले मलाई एकदम ठिक छ । साइनो चलचित्र निर्माणपछि त्यसैको प्रमोशनको लागि व्यस्त छु । कथा अनुसार यसमा एउटा क्यारेक्टर तामाङ जातको कलाकार चाहिएको थियो । धेरै वर्षको अन्तरालमा मैले शिखा मल्ल बहिनीलाई सम्झेको थिएँ, प्रस्ताव राखेँ, एकै बचनमा स्वीकार गरिदिनुभयो । काम पनि असाध्यै राम्रो भएको छ ।

 कुन कुन स्थानमा शुटिङ भएको छ ?

नमोबुद्ध, भकुण्डेबेसी र काठमाण्डौ‍ वरपरको एरियामा गरिएको छ ।
 
यो चलचित्रमा कस्ता खालका गीतहरु समावेश भएका छन् ?

खासगरी याे चलचित्रमा तीन खालका गीतहरु समावेश छन् । एउटा मेलामा गाइने गीत छ, । त्यो गीतको बारेमा बजारमा राम्रै प्रतिक्रिया आइराखेको छ । एउटा त्रिकोणात्मक प्रेम गीत छ । अर्को चलचित्र सुहाउँदो नै छ, सायद अब छिट्टै त्यो पनि बजारमा आउला ।
 
नयाँ कलाकारसँग कत्तिको अप्ठेरो भयो ?

म पुरानो कलाकार भएको नाताले होला सबैले मलाई आदर सम्मान गर्नुभयो, सके जति सहयोग गर्नुभयो । शुटिङ अवधिभर मलाई त्यस्तो महसुस भएन ।
 
‍शुटिङमा कस्तो अनुभव भयो ?

नायक नायिकाहरुले पनि असाध्यै सहयोग गर्नुभयो । सबै ठाउँमा जान नसके पनि कहीँ कहीँ गएँ‍, जहाँ जहाँ गएँ सबै ठाउँमा रमाइलो अनुभव भयो ।  मैले पनि हिरोको आमाको सानो रोलमा खेलेको छु ।

चलचित्र शुटिङ गर्न कति समय लाग्यो ?

लगभग ४२–४३ दिनको अन्तरालमा हामीले यो चलचित्रको सुटिङ सम्पन्न गरेका थियौं ।

हजुरकाे बाल्य अवस्था कस्तो थियो ?

म न चन्चले, न त सोझो नै थिएँ । तर युवा अवस्थामा अहिलेको जस्तो स्वतन्त्रता थिएन । हाम्रो बेला भनेको चौaन्दी चोलाकोे समय थियो । जति छोप्यो त्यति राम्रो भन्ने बेलामा हुर्केको हो । म युवा अवस्थामा पनि हाफ बाउला भएकाे ब्लाउज र खद्दरको धोती लगाउँथेँ ।

केटा केटी कत्तिको खुलेर कुरा गर्ने गर्थे ? कोही कसैले प्रस्ताव राखेको अवस्था थियो कि थिएन ?

अहिलेको जस्तो स्वतन्त्रता थिएन । कसैले मन पराए/पराएनन् मलाइ थाहा नै भएन । तर राष्ट्रिय नाचघरको कर्मचारी भएको नाताले र कलाकार औंँलामा गन्न सकिने भएकोले अति व्यस्त भइन्थ्यो, त्यसैले त्यतातिर ध्यान नै जाँदैनथ्यो ।
 
यो क्षेत्रमा लागेर प्राप्त गरेको खुशीका बारेमा भन्नु पर्दा के भन्नुहुन्छ ?

राजा महेन्द्र धेरै कला र संस्कृति प्रेमी । अहिले जस्तै जमलमा त्यति बेला पनि पानीले डुब्थ्यो । राजाको सवारीमा रातो कार्पेटसम्म राख्ने ठाउँ थिएन, तर राजा एक एक खुड्किलो चढेर कार्यक्रम हेर्न आउनुहुन्थ्यो ।

एक पटक राजाले भुवन बाहेक अरु कलाकार छैनन् र? अरुलाई किन अवसर नदिएको, सधैँ मुख्य भूमिकामा उही देखिन्छ? भन्नेसम्म कुरा आएपछि त्यहाँ क–कस्लाई प्रेसर पर्‍यो कि के भयो राजा आएको बेलामा २–४ चोटि त कार्यक्रममा सहभागी हुनै दिइएन मलाई ।

फेरि राजाले नै भुवन खोइ त? किन नखेलेको? उसलाई किन र कस्ले नखेलाएको? भनेर सोधेपछि मलाई फेरि नाटकमा खेल्न बोलाइएको थियो । त्यसलगत्तै भृकुटी नाटक प्रस्तुत गरिएको थियो भने त्यसको मुख्य कलाकारमा म नै थिएँ ।

राजा महाराजाले पनि नामै लिएर फलानो किन आएन उसलाई किन सहभागी नगराएको भन्ने खोजी गरेको अवस्था पनि थियो । नामै किटान गरेर आप्mनो बारेमा राजा महेन्द्रबाट खोजी भएको सुन्दा खुशी लाग्थ्यो ।
 
पहिलो पटक चलचित्र अभिनय गर्दा उमेर कति थियो? कसरी यो क्षेत्रमा प्रवेश गर्नु भएको थियो? कस्तो अनुभव गर्नुभयो ?

पहिलो पटक चलचित्रमा अभिनय गर्दा म १६–१७ वर्षको थिएँ । सायद आमा थियो त्यो चलचित्र ।

‘सेतो दरबारमा भारतबाट चलचित्र निर्देशक हिरा सिंंह आउनु भएको छ । नेपाली चलचित्र निर्माण गर्नको लागि त्यसैले कलाकार छनौटका  लागि तिमीलाई पनि बोलाइएको छ त्यहाँ जानुपर्‍यो’ भनेर प्रस्ताव आयो । हुन्छ भनेर बोलाएको ठाउँमा गइयो ।

केही कुराहरु बोल्न लगाइयो । हामी कला क्षेत्रमा लागेकाहरुलाई त्यस्ता डायलगहरू बोल्ने अभ्यास भइरहेकोले मलाई खासै अप्ठेरो भएन । झण्डै एक महिना पछि ‘ल चलचित्रमा खेल्न तिम्रोे नाम छनौट भयो’ भनेर खबर आयो ।

देवानन्द, हेमा मालिनी, बैजन्ती मालाको पालाको बेलामा आफूले चलचित्रमा अभिनय गर्न पाउनु एउटा छुट्टै खुशीको अवसर थियो,महत्वपूर्ण पनि थियो ।

मेरो बुवा रेडियो नेपालमा काम गर्ने र म बुवाको पछि पछि रेडियो नेपाल जाने भएकाले पन्नाकाजी, नातिकाजीजस्ता कलाकारले मलाई छोरी भनेर बोलाउँथे । त्यो चलचित्र शुटिङका बेलामा त्यहाँ त शिव शंकर दाइ पनि देखिनु भयो । गीतको शुटिङ हुँदै थियो, त्यसैको लागि उहाँ त्यहाँ आउनु भएको रहेछ । उहाँ पनि मेरो बुवाको साथी हुनुहुन्थ्यो । उहाँसँग पहिलो पटक चलचित्र अभिनय गर्ने मौका पाएँ । मैले गरेकाे अभिनय एकै पटकमा ओके भएको थियो ।

म‍ नाटक देखाउन‍ चीन भ्रमणमा गएकोले जय नेपालमा पहिलो पटक राजाले उद्घाटन गरेको यो चलचित्र आफैँले हेर्ने अवसर पाइन । त्यो समय यति व्यस्त भइन्थ्यो । नाचघरमा हुने कार्यक्रममा पनि आफैँ, राजाहरूको सवारी भएको ठाउँमा सांस्कृतिक कार्यक्रम देखाउनु परेमा पनि आफैँ, चौधै अन्चलमा हुने सांस्कृतिक कार्यक्रममा जानु पनि परे पनि आफैँ । त्यति व्यस्त भएर काम गर्दा पनि चलचित्र हिट हुँदा, आफूले गरेको कामको नतिजा राम्रो आउँदा ज्यादै खुशी लाग्याे ।
 
चलचित्रको बजार व्यवस्थापन फेरिएको छ कि कस्तो छ ? केही फरक छ अहिले?

त्यो बेला त आफ्नो रोलमा अभिनय गर्‍यो हिँड्यो, कुनै मतलब हुँदैनथ्यो । तर अहिले निर्माताका हैसियतले यस क्षेत्रमा प्रवेश गरेको छु हेरौँ कस्तो हुन्छ  । पहिलो कुरा त चलचित्र उद्योगको बारेमा धेरै कुरा सिक्ने अवसर पाएँ । म आफूले ऐतिहासिक,  सामाजिक र व्यावसायिक तीनै खाले चलचित्रहरुमा अभिनय गरेको नाताले मैले सबै खालको स्वाद पस्केको छु । एउटै धारको चलचित्र निर्माण भइरहेको बेला मैलै छुट्टै खालको बनाउने कोशिश गरेको छु । मलाई लाग्छ यो चलचित्र हेरेर दर्शकहरुले अवश्य मनोरन्जन प्राप्त गर्न सक्नुहुनेछ ।
 
सन्तान कति भए ? कहाँ छन् ? कला क्षेत्रमा आउने सम्भावना छ कि छैन?

मेरा तीन छोरीहरु छन् । उनीहरू यो क्षेत्रमा लागेनन् । पढाइ तिरै लागे । मैले पनि कर गरिन । अहिले तीनै जना अमेरिकामा छन् ।

मैले कर किन गरिन भने पढाइ सबभन्दा ठूलो कुरा हो, पहिला पढ त्यसपछि के गर्न  ठिक हुन्छ त्यही गर भनेँ । कमाइ र सामाजिक दृष्टिकोणले यो क्षेत्रमा आउन गाह्राे थियो । त्यही भएर नै होला उनीहरूले मेरो बाटो पछ्याएनन्, बाउकै बाटो पछ्याए ।
 
चलचित्र क्षेत्रमा लागेको कारणले घर परिवारमा कहिल्यै अप्ठेरो महसुस भयो कि भएन ?

हुनत कलाकारलाई अहिले पनि राम्रो दृष्टिकोणले हेरिँदैन र पहिले पनि हेरिएन । कोही पनि यो क्षेत्रमा लाग्न नचाहने भएकाले हाम्रो पालामा झन गाह्राे थियो । चाहनेले पनि अवसर पाउँदैनथे । अहिले त यस्तो छ, झन् त्यति बेला यो क्षेत्रमा लाग्नेलाई त कस्तो थियो होला तपाइँ नै अनुमान लगाउनुहोस् ।

त्यसमाथि पनि कलाकार थोरै, क्षेत्र ठूलो । देश विदेश जताततै एउटै कलाकारले भ्याउनु पर्ने । तपाइँ नै भन्नुहोस् न, अहिले जस्तो प्रशस्त कलाकार भइदिएको भए बाउको साथीसँग मैले चलचित्रमा अभिनय गर्नु पर्थ्याे त ? मलाई घर तर्फबाट केही पनि भएन । माइतीबाट भएन कारण मेरो बुवा भैरव बहादुर थापा पनि कलाकार नै हुनुहुन्थ्यो । तर मावली र अन्य नातागोताबाट विभिन्न खालको टिकाटिप्पणी भएको मैले पाउँथे ।
 
यो क्षेत्रमा आउन चाहने नयाँ पुस्ताका भाइबहिनीहरुलाई के भन्न चाहनुहुन्छ ?

यो क्षेत्रमा आउन चाहने नयाँ पुस्ताका भाइ–बहिनीहरुलाई के भन्न चाहन्छु भने, पहिलो कुरा कुन क्षेत्रमा लाग्न चाहेको हो त्यसबारे भित्रैदेखि इच्चा हुनु पर्‍यो, दृढता हुनु पर्‍यो, त्यसका लागि के गर्नुपर्छ र कहाँ जानुपर्छ बुझ्नुपर्‍यो अनिमात्र त्यस तर्फ लाग्नु राम्राे हाे भन्न चाहन्छु । कोरा इच्छा र हल्का पाराले अभिनय गर्न सकिँदैन । किनभने अहिले यी सबै कुराको सुविधा छ । सिक्ने माध्यमहरु पनि प्रशस्त छन् । पहिले पहिले हाम्रो पालामा यी कुनै सुविधाहरु थिएनन् । उसले जे जान्यो त्यही र जति जानेको थियो त्यत्ति सिकाउँथ्यो र त्यही अनुसार गर्नुपथ्र्यो ।
 
अहिलेको समयमा सबैभन्दा रमाइलो पक्ष के लाग्छ? कलाकार भएर काम गर्दा र निर्माता हुँदा के फरक पाउनु भयो ?

सबैले हँसाउने चिज नै राम्रो मान्छन् । तर म भने कथा राम्रो हुनुपर्छ भन्छु । त्यसले समाजमा पर्ने सकारात्मक र नकारात्मक पक्षका बारेमा  पनि बुझ्न्पर्छ भन्ने लाग्छ । अभिनय गर्नु र बनाउनुमा धेरै अन्तर हुने रहेछ भन्ने लागेको छ । चलचित्र उद्योग के रहेछ भन्ने बुझ्दैछु । एउटा चलचित्र बनाएर मात्रै यो क्षेत्रलाई बुझ्न नसकिने रहेछ । चन्द्र विनायक भन्ने प्रोडक्सन हाउस खेलेको छु । यसले बनाउने, काटछाँट गर्ने सबैथोक गर्छ ।
 
किशोर पुस्तालाई के भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिले पढ्नुहोस्, अध्ययन गरेर मात्र यो क्षेत्रमा लाग्नुहोस्, आहा भन्ने काम गर्नुहोस् । छि:छि: र दुरदुर हुने काम नगर्नुहोस् । ग्ल्यामरको नाममा छाडापनलाई सकेसम्म त्याग्नुहोस् । समाजले जे जति पचाउनसक्छ, त्योभन्दा बढी कुनै काम नगर्नुहोस् । अथवा परिवारका सबै सदस्य बसेर हेर्न मिल्ने र सकिने खालको काम गर्नुहोस् भन्न चाहन्छु ।

अन्तिम अपडेट: असोज २२, २०७६

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया