तेह्रथुमका १७ हजार घरमा प्रहरीको स्टिकर

 असार २५, २०७५ सोमबार १४:६:५३ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नागरिकको सूचना र सुरक्षाका लागि तेह्रथुमका १७ हजार भन्दाबढी घरधुरीमा सूचनामुलक स्टिकर टाँसेको छ ।

‘एक घर एक स्टिकर’ टाँस्ने अभियान अन्तर्गत प्रहरीले सोमबारसम्म १७ हजार ७ सय ५२ घरधुरीमा स्टिकर टाँसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । 

प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि प्रदेश नम्बर १, आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले जेठ १४ गतेदेखि घर–घरमा सूचना टाँस्ने अभियान थालेको थियो ।  त्यो अभियानका क्रममा प्रहरीले नागरिकका घर–घरमा पुगेर सूचनामुलक स्टिकर टाँसेका हुन् । प्रहरीले प्रदेश प्रहरी कार्यालय, विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर र टोल–फ्रि नम्बर उल्लेख भएको स्टिकर टाँसेको छ । 

तेह्रथुमका कुल २२ हजार ९४ घरधुरी रहेकामध्ये अहिलेसम्म म्याङलुङ्ग नगरपालिकाका ३ हजार ९ सय ४७ र लालीगुराँस नगरपालिकाका २ हजार ९ सय ३९ घरधुरीमा स्टिकर टाँसिएको प्रहरी प्रमुख भुजेलले बताउनुभयो । यस्तै छथर गाउँपालिकामा १ हजार ८ सय ७६, फेदाप गाउँपालिकामा ३ हजार ६ सय ८२, मेन्छ्यायेम गाउँपालिका १४ सय र आठराई गाउँपालिकाका ४ हजार १ सय ८ घरधुरीमा स्टिकर टाँसेर सकिएको छ । 

अब ४ हजार ३ सय ४२ घरधुरीमा स्टिकर टाँस्न बाँकी रहेको छ । स्टिकर टाँस्ने अभियान अन्तिम चरणमा पुगेको र अब बाँकी रहेका घरधुरीमा समेत यथाशीघ्र स्टिकर टाँसिने प्रहरी प्रमुख भुजेलले बताउनुभयो । शान्तिपूर्ण र अपराधबिहिन समाज निर्माणका लागि प्रहरीले सूचनामुलक स्टिकर टाँस्ने अभियान चलाएको हो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया